- सुरज घिमिरे
- बैशाख २२, २०८३

हावाहुरीले मोटरसाइकल र मानिस तारमा अड्किएको भाइरल फोटो ‘एआई’बाट बनेको
कपिलवस्तुको चन्द्रौटामा तीव्र हावाहुरीका कारण मोटरसाइकल र मानिसहरू नै उडाएर बिजुलीको तारमा अड्किएको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले उक्त ठाउँ चन्द्रौटा नै भए तापनि फोटोमा देखाइएको दृश्य एआई (AI) को प्रयोग गरी कृत्रिम रूपमा बनाइएको पुष्टि गरेको छ।
के हो दाबी ?
मेनाज खान नामक फेसबुक प्रयोगकर्ताले सोमबार (मे ४, २०२६) दिउँसो फेसबुकमा एउटा पोस्ट राखे ।
उक्त पोस्टमा लेखिएको छ: “शिवराज नगरपालिका–५, चन्द्रौटा (कपिलवस्तु) मा आज आएको तीव्र हावाहुरीका कारण धेरै मोटरसाइकल र साइकल उडाएर बिजुलीका तारमा अड्किएका छन्।”
दाबीको प्रभाव
हामीले यो तथ्य जाँच तयार पार्दासम्म उक्त पोस्टमा १,३०० लाइक, १२३ कमेन्ट र १४१ पटक शेयर भइसकेको छ। यो फोटो अन्य ग्रुपहरूमा पनि फैलिरहेको देखिन्छ।
हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले यस दाबीको सत्यता जाँच्न निम्न प्रक्रिया अपनायौं:
भिजुअल विश्लेषण र रिभर्स इमेज सर्च
सुरुमा हामीले उक्त फोटोलाई रिभर्स इमेज सर्च गर्यौं। कुनै पनि मूलधारका सञ्चारमाध्यममा यति ठूलो घटनाबारे समाचार फेला परेन। फोटोमा मानिसहरू समेत तारमा अड्किएको देखिनु भौतिक रूपमा पनि अस्वाभाविक देखिन्छ।
भिडियोसँग तुलना
दाबीकर्ता मेनाज खानले नै सोही ठाउँको एक भिडियो पनि पोस्ट गरेका छन्। उक्त भिडियोको दृश्य र भाइरल फोटोको पृष्ठभूमि मिल्छ। तर, भिडियोमा केही मोटरसाइकल पल्टिएको देखिए पनि तारमा मानिस र मोटरसाइकल अड्किएको कतै देखिँदैन।
हेर्नुहोस्, भिडियोबाट लिइएको स्क्रिन सट :

उनले राखेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
एआई प्राविधिक जाँच
फोटो अस्वाभाविक देखिएपछि हामीले गुगलको SynthID प्रविधि मार्फत यसको जाँच गर्ने प्रयास गर्यौं।
SynthID प्रविधिले उक्त फोटोमा डिजिटल वाटर मार्क पहिचान गर्यो, जसले यो एआईद्वारा सिर्जित वा सम्पादित भएको पुष्टि गर्छ।
हेर्नुहोस्, जाँचको नतिजा :

त्यसैगरी हामीले अर्को टुल ‘हाइभ मोडेरेशन’ मा जाँच गर्दा उक्त फोटो ९९.६ प्रतिशत एआईद्वारा तयार पारिएको (AI Generated) नतिजा प्राप्त भयो। यसले फोटोको मुख्य दृश्य (तारमा अड्किएका मोटरसाइकल र मानिस) नक्कली भएको प्रमाणित गर्छ।
हेर्नुहोस्, स्क्रिनसट :

तथ्य जाँच
दावी : तीव्र हावाहुरीका कारण कपिलवस्तुको चन्द्रौटामा मोटरसाइकल र साइकल उडाएर बिजुलीका तारमा अड्किएको भन्दै भाइरल फोटो ।
दावीकर्ता : मेनाज खान नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : मिथ्या/कृत्रिम (AI Generated)। मोटरसाइकल, स्कुटर, साइकल र मानिसहरू बिजुलीको तारमा अड्किएको दृश्य एआईको प्रयोगले बनाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।