तथ्यजाँच भ्रामक सूचना वागमती

के महावीर पुनले हर्क साम्पाङलाई ‘महाको फटाहा’ भनेका हुन् ?


के महावीर पुनले हर्क साम्पाङलाई ‘महाको फटाहा’ भनेका हुन् ?

सामाजिक सञ्जालमा प्रतिनिधि सभा सदस्य महावीर पुनले हर्क साम्पाङलाई “महाको फटाहा हो” भनी गाली गरेको दावीसहितको भिडिओ क्लिप र स्ट्याटसहरू भाइरल भइरहेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा अर्कै प्रसङ्गमा बोलेको कुरालाई तोडमोड गरिएको र पुनले हर्क साम्पाङलाई त्यस्तो कतै पनि नभनेको पुष्टि भएको छ।

के हो दावी ?

१ लाख ३४ हजार फलोअर्स रहेको ‘जनता मिडिया’ नामक फेसबुक पेजबाट सन् २०२६ को मे २३ को दिन बिहान ७:३४ बजे महाबीर पुनको ४ मिनेट २८ सेकेन्डको एउटा भिडिओ सार्वजनिक भयो। उक्त भिडिओमा पुनले हर्क साम्पाङलाई “महाको फटाहा रैछ” भन्दै अभिव्यक्ति दिएको दाबी गरिएको छ।

यही दाबीसहितको १५ मिनेट ३१ सेकेन्डको भिडिओ सोही मिडियाको युट्युब च्यानलमा र छोटो क्लिप टिकटकमा समेत पोस्ट गरिएको छ। टिकटकमा chan8628 नामक ह्यान्डलबाट हर्क साम्पाङको भिडिओसहित यो सामग्री सेयर गरिएको छ।

हेर्नुहोस् जनता मिडियाको स्क्रिन रेकर्ड

जनता मिडियाको फेसबुकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

जनता मिडियाले युट्युबमा पनि यही दाबीसहितको १५ मिनेट ३१ सेकेन्डको भिडिओ सार्वजनिक गरेको छ । युट्युब पनि यही शीर्षक राखिएको छ ।

जनता मि‍डियाको युटुब लिंक यहाँ छ । यहि भिडिओ टिकटकमा पनि राखिएको छ । टिकटक लिंक यहाँ छ

भिडिओ टिकटकमा पनि भाइरल बनिरहेको छ । chan8628 टिकटक ह्यान्डलबाट हर्क साम्पाङसहितको भिडिओ सार्वजनिक गरिएको छ ।

टिकटक भिडिओको लिंक यहाँ छ  । अर्काइभ लिंक यहाँ छ ।

दाबीको प्रभाव

यो तथ्य जाँच तयार पार्दासम्म ‘जनता मिडिया’ले फेसबुकमा पोस्ट गरेको भिडिओमा २१ हजारभन्दा बढी रियाक्सन र ५ सय ९४ वटा कमेन्ट आइसकेका छन् भने भिडिओ ६ लाख २४ हजारभन्दा बढी पटक हेरिएको र ३ सय १३ पटक सेयर भएको छ। यस्तै, युट्युबमा १० हजारभन्दा बढी भ्यूज छ भने chan8628 टिकटक भिडिओमा ३ हजार ५ सयभन्दा बढी रियाक्सन र १ सय ८४ भन्दा बढी कमेन्ट रहेका छन्।

के हो तथ्य ?

यो दाबीको सत्यता जाँच्न हामीले डिजिटल सामग्रीको विश्लेषण र खुला स्रोतको खोजी (Open Source Search) विधि अपनायौँ:

१. मूल भिडिओको विश्लेषण: हामीले ‘जनता मिडिया’को फेसबुक र युट्युब च्यानलमा उपलब्ध दुवै भिडिओहरू पूर्ण रूपमा हेर्‍यौँ। उक्त भिडिओहरूमा महाबीर पुनले कतै पनि हर्क साम्पाङको नाम लिएका छैनन्।

२. वास्तविक सन्दर्भ (Context): भिडिओको अन्तिम खण्ड (३ मिनेट ४५ सेकेन्डपछि) नियाल्दा पुनले “महाको फटाहा रैछ” भन्ने शब्द अर्कै प्रसङ्गमा प्रयोग गरेको स्पष्ट हुन्छ। केही समयअघि बजारमा काफल बेच्न बसेकी एक महिलालाई नगर प्रहरीले हटाएको विषयमा एक पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले सो टिप्पणी गरेका थिए।

भिडिओमा पत्रकारको प्रश्न छ: “माननीय ज्यू, तपाईंले चाहिँ किताब बेच्न पाउने, अनि गरिब मान्छेले काफल पनि बेच्न नपाउने भन्ने छ नि?”

जवाफमा पुनले भनेका छन्: “त्यो भन्ने मान्छे महाको फटाहा हो, त्यो महाको फटाहा किन हो भने उल्ले चाहिँ मैले किताब बेचेर १२-१३ करोड रुपैयाँ चाहिँ चोखो कमाएर वीरगन्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर….”

हेर्नुहोस् जनता मिडियाकै भिडिओमा ३ मिनेट ४५ सेकेन्डपछिको स्क्रिन रेकर्ड

३. सम्बन्धित व्यक्तिको स्पष्टीकरण: तथ्य जाँचकै क्रममा हामीले महाबीर पुनको आधिकारिक फेसबुक फिड पनि जाँच गर्‍यौँ। उनले सन् २०२६ मे २५ को दिन बेलुका ६:३६ बजे फेसबुकमा एउटा स्टेटस लेख्दै आफूले भन्दै नभनेको कुरालाई सामाजिक सञ्जालमा गलत रूपमा फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

तसर्थ, काफल र किताब बेच्ने प्रसङ्गमा कसैले गरेको आलोचनाको जवाफ दिने क्रममा बोलिएको वाक्यलाई भ्रम फैलाउने उद्देश्यले हर्क साम्पाङसँग जोडेर भाइरल बनाइएको पुष्टि हुन्छ।

हेर्नुहोस् महावीर पुनको फेसबुक स्टाटसको स्कृनसट

महावीर पुनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तथ्यजाँच

दावी : महावीर पुनले हर्क साम्पाङलाई “महाको फटाहा हो” भनेर बोलेको भिडिओ।

दावीकर्ता : ‘जनता मिडिया’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।

तथ्यजाँच : भ्रामक (Misleading)। महावीर पुनले काफल र किताब बेच्ने प्रसङ्गमा टिप्पणी गर्ने व्यक्तिलाई लक्षित गरी सो शब्द बोलेका हुन्। उनले हर्क साम्पाङका विरुद्धमा कतै पनि यस्तो अभिव्यक्ति दिएका छैनन्। मूल भाषणको एउटा अंशलाई सन्दर्भबाहिर (Out of Context) काँटछाँट गरी भ्रम फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add