- टेकमान शाक्य
- जेष्ठ १७, २०८३

एआईबाट बनाइएको बौद्ध स्तुप भत्काइएको तस्बिर सामाजिक सञ्जालमा भ्रामक दाबीसहित भाइरल
सामाजिक सञ्जालमा हालै बौद्ध स्तुप जस्तो देखिने संरचनामा डोजर लगाएर भत्काइएको भन्दै एउटा तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँच र प्राविधिक विश्लेषणबाट उक्त तस्बिर वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत निर्माण गरिएको र सोसँगै गरिएको दाबी पूर्णतः गलत रहेको पुष्टि भएको छ।
के हो दावी ?
सामाजिक सञ्जाल फेसबुकमा ७ हजारभन्दा बढी फलोअर्स रहेका प्रयोगकर्ता ‘Kumar Thokar Tamang’ ले सन् २०२६ को मे २९ तारिख बेलुका ७ बजेर ५२ मिनेटमा बौद्ध स्तुपालाई डोजरले भत्काइरहेको देखिने एक तस्बिर सार्वजनिक गरेका छन्।

तस्बिरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यसको प्रभाव
यो तथ्यजाँच तयार पार्दासम्म उक्त फेसबुक पोस्टमा ३ हजारभन्दा बढी रियाक्सन आइसकेको छ भने ३ सय २१ भन्दा बढी कमेन्ट र २ सय १९ पटक सेयर भइसकेको देखिन्छ। यो पोस्ट सार्वजनिक भएसँगै अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि सोही तस्बिर सेयर गर्दै बौद्ध धर्मावलम्बीहरूको आस्थामाथि प्रहार भएको भन्दै आक्रोश र असन्तुष्टि व्यक्त गरिरहेका छन्।
के हो तथ्य ?
तथ्यजाँच प्रक्रिया अन्तर्गत हामीले सबैभन्दा पहिले उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमार्फत् यसको मूल स्रोत खोज्ने प्रयास गर्यौँ।
यद्यपि, सर्च इन्जिनहरूमा यसको कुनै पुराना वा वास्तविक स्रोत फेला परेन।
तस्बिरलाई सुक्ष्म रूपमा दृश्यात्मक विश्लेषण (Visual Analysis) गर्दा स्तुपाको तल्लो भाग र त्यसको वरपरका भौतिक संरचनाहरू निकै अस्वाभाविक, धमिलो र भ्रामक देखिन्छन्, जुन एआई जेनेरेटेड सामग्रीका सामान्य विशेषता हुन्।
थप प्राविधिक पुष्टिका लागि हामीले विभिन्न एआई डिटेक्सन औजारहरूको प्रयोग गर्यौँ:
१. गुगलको SynthID परीक्षण: एआई सामग्री पहिचान गर्ने गुगलको प्रविधि SynthID मार्फत जाँच गर्दा यसमा गुगल एआईको प्रत्यक्ष वाटरमार्क फेला परेन। तर, यसले तस्बिर अन्य एआई सफ्टवेयर वा टुलमार्फत सिर्जना गरिएको बलियो सम्भावना देखायो।
२. ओपनएआई (OpenAI) परीक्षण: तस्बिरलाई ओपनएआई डिटेक्टर टुलमा राखेर परीक्षण गर्दा यसले भने ओपन एआई टुलको प्रयोग भएको पुष्टि गर्यो ।

काठमाडौँको स्तुपमा डोजर चलाइएको वा भत्काइएको सम्बन्धमा कुनै समाचार प्रकाशित भएको छ कि भनी हामीले सञ्चारमाध्यमहरूमा खोज गर्यौँ। यस प्रकारको कुनै पनि समाचार फेला परेन। बरु, सरकारी निकायहरूले अतिक्रमित जग्गा खाली गराउने क्रममा गत वैशाख १८ गते (बुद्ध जयन्तीको दिन) काठमाडौँको बल्खुस्थित एउटा बौद्ध गुम्बाको अवैध संरचनामा डोजर लगाएको समाचार र वास्तविक तस्बिरहरू फेला परे। सोही घटनाको सन्दर्भलाई बंग्याएर बौद्ध स्तुपा भत्काइएको भन्दै एआई निर्मित नक्कली तस्बिर फैलाइएको देखिन्छ।
तथ्यजाँच
दावी: डोजर लगाएर बौद्ध स्तुप भत्काएको तस्बिर
दावीकर्ता : Kumar Thokar Tamang नामक फेसबुक प्रयोगकर्ता
तथ्यजाँच : मिथ्या (False), एआई निर्मित (AI Generated) । विभिन्न प्राविधिक डिटेक्सन टुलहरूको परीक्षण र स्थलगत समाचारहरूको विश्लेषणका आधारमा बौद्ध स्तुप भत्काइएको भनिएको तस्बिर पूर्ण रूपमा एआई जेनेरेटेड (कृत्रिम रूपमा निर्मित) हो।