एआई जेनेरेटेड तथ्यजाँच मिथ्या सूचना

रास्वपाले पार्टी कार्यक्रममा सरकारी लोगो प्रयोग गरेको होइन, भाइरल फोटो एआई जेनेरेटेड


रास्वपाले पार्टी कार्यक्रममा सरकारी लोगो प्रयोग गरेको होइन, भाइरल फोटो एआई जेनेरेटेड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जिल्ला अधिवेशनका क्रममा निशान छाप अङ्कित नेपाल सरकारको आधिकारिक लोगो प्रयोग गरेको दाबीसहितको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  तर, नेपालफ्याक्टचेकको प्राविधिक परीक्षण र स्थलगत अनुसन्धानले उक्त तस्बिर एआईबाट बनाइएको र दाबी पूरै मिथ्या भएको पुष्टि गरेको छ।

के हो दावी ? 

जनआस्था साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सन् २०२६ को जुन ८ (सोमबार) का दिन एउटा तस्बिर आफ्नो फेसबुक पेजमा सेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्न गरेका छन्। उनले लेखेका छन्:

“पार्टीको भेला र प्रमाणपत्रमा नेपाल सरकारको आधिकारिक लोगो यसअघि कहिल्यै, कहीं, कतै प्रयोग भएको देखिएको थिएन। किन होला यसरी नयाँ प्रयोग गर्नु परेको ?”

उनले सेयर गरेको तस्बिरको पृष्ठभूमिमा टाँगिएको ब्यानर र अगाडि उभिएका एक व्यक्तिले समातेको प्रमाणपत्र (सर्टिफिकेट) मा नेपाल सरकारको आधिकारिक लोगो (निशान छाप) स्पष्ट देखिन्छ।

हेर्नुहोस् किशोर श्रेष्ठको फेसबुक स्टाटस

किशोर श्रेष्ठको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

पत्रकार विराट अनुपमले पनि यही तस्बिर सेयर गरेका छन्। उनले क्याप्सनमा “सरकारी पार्टी”  लेखेका छन् ।

हेर्नुहोस् विराट अनुपमको स्टाटसको स्कृनसट

विराट अनुपमको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि यही फोटो राखेर छानबिनको माग गरेका छन्।

हिक्मत कार्कीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसको प्रभाव

पत्रकार किशोर श्रेष्ठले सेयर गरेको पोस्टमा यो तथ्यजाँच गर्ने समयसम्ममा २ सयभन्दा बढी रियाक्सन, ७ सयभन्दा बढी कमेन्ट र २१ पटकभन्दा बढी सेयर भएको छ। त्यसैगरी पत्रकार विराट अनुपमको पोस्टमा ४ सय ५० भन्दा धेरै पटक रियाक्ट भएको छ भने १ सय ५६ वटा कमेन्ट र १४ पटक सेयर गरिएको छ ।

पत्रकारहरुले नै यसरी तस्बिर सेयर गरेपछि अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले यही तस्बिर र दावीलाई विश्वास गरेर सेयर गरिरहेका छन्। हामीलाई यसको तथ्य जाँच गर्न अनुरोध पनि आएको छ।

के हो तथ्य ?

तस्बिरमा निशान छाप अंकित सरकारको आधिकारिक लोगो अंकित प्रमाणपत्र, बाँके जिल्ला र सचिव सुभम कुमार गुप्ता लेखेको देखिन्छ। पछाडिको ब्यानरमा पनि सरकारको आधिकारिक लोगो देखिन्छ। तर केही अक्षरहरु अस्पष्ट देखिन्छ। तस्बिरको दायाँ छेउको मुनि जेमिनाईको स्टार लोगो पनि देखिन्छ।

त्यसपछि हामीले यो तस्बिर  गुगल एआईमार्फत निर्माण गरिएको हो कि होईन भनेर SynthID जाँच गर्‍यौँ। गुगल एआईबाट बनेको वा सम्पादन भएको फोटोमा साधारण आँखाले नदेख्ने वाटरमार्क हुन्छन् जसलाई SynthID बाट जाँच गर्न सकिन्छ।

नतिजामा यो तस्विर गुगल एआईबाट बनाइएको पुष्टि भयो।

त्यसपछि हामीले सचिव दावी गरिएका शुभम कुमार गुप्ताको फेसबुक फिड भिजिट गरेर हेर्‍यौँ । नतिजामा सुभम कुमार गुप्ता सचिवमा निर्वाचित भएको पुष्टि भयो । सचिव गुप्तालाई ट्याग गरेर सुशील वर्माले लाइभ गरेको भिडिओ भेटियो । तर भाइरल तस्बिरमा दावी गरिएजस्तो पछाडिको ब्यानरमा निशान छाप अंकित सरकारी छापको प्रयोग गरिएको भेटिएन ।

हेर्नुहोस् सचिव गुप्तालाई ट्याग गरेर गरिएको लाइभ भिडिओको स्कृनसट

लाइभ भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

सुशील वर्माले नै सचिव गुप्तालाई बधाई दिएको अर्को पोस्ट पनि भेटियो । जहाँ सचिव गुप्ताको ‘हुलिया’  अर्कै देखिन्छ ।  उनले कोट लगाएको देखिँदैन भने लगाइएको सर्टसहित अरु कपडा पनि मिल्दैन।

ओरिजिनल लिंक यहाँ छ  ।

त्यसपछि हामीले उनै नवनिर्वाचित सचिव गुप्तालाई फोनमार्फत सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले आफूहरुलाई प्रमाणपत्र पनि वितरण नगरिएको र दावी पूरै मिथ्या भएको बताए ।

उनले तस्विरमा देखिएको व्यक्ति नवनिर्वाचित अध्यक्ष विवेककुमार श्रेष्ठ भएको बताए। उनले हामीलाई जिल्ला अधिवेशनका केही तस्बिरहरु उपलब्ध गराए, जहाँ नवनिर्वाचित अध्यक्ष र सचिवसहितका व्यक्तिलाई देख्न सकिन्छ ।

अध्यक्ष विवेक कुमार श्रेष्ठको वास्तविक फेसबुक प्रोफाइल पिक्चर र भाइरल तस्बिरको अनुहार तुलना गर्दा, अध्यक्ष श्रेष्ठको पुरानो फोटोलाई एआई टुलमा ‘फेस-स्वाप’ (Face-swap) गरी यो नक्कली सामग्री तयार पारिएको स्पष्ट पुष्टि हुन्छ।

तथ्यजाँच

दावी : रास्वपाले पार्टीको कार्यक्रममा निशान छाप अंकित सरकारी लोगो प्रयोग गरेको ।

दावीकर्ता : पत्रकारहरु किशोर श्रेष्ठ र विराट अनुपम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित सामाजिक संजाल प्रयोगकर्ता

तथ्य/निश्कर्ष : मिथ्या (False)/एआई जेनेरेटेड :  नेपाल फ्याक्टचेकले विभिन्न प्राविधिक परीक्षण र स्रोतसम्म पहुँच पुर्‍याएर अनुसन्धान गर्दा रास्वपाले पार्टीको कार्यक्रममा निशान छाप अंकित सरकारी लोगो प्रयोग गरेको दावी झूटो र तस्बिर एआई जेनेरेटेड भएको पुष्टि हुन्छ । वास्तविक कार्यक्रमका उपलब्ध फोटो तथा भिडियोहरूमा यस्तो लोगो प्रयोग भएको देखिँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add