तथ्यजाँच एआई जेनेरेटेड मिथ्या सूचना वागमती

रास्वपा महाधिवेशन स्थलमा तोशिमा कार्कीले नि:शुल्क कण्डम बाँडेको दाबी गलत, तस्बिर एआईबाट सम्पादित


रास्वपा महाधिवेशन स्थलमा तोशिमा कार्कीले नि:शुल्क कण्डम बाँडेको दाबी गलत, तस्बिर एआईबाट सम्पादित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल चितवनमा नि:शुल्क कण्डम वितरण गरिएको दाबीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा यो दाबी गलत रहेको र तस्बिर पनि एआईबाट सम्पादित भएको पुष्टि भएको छ ।

के हो दाबी ? 

४ लाख ७६ हजार फलोअर्स रहेको जनता टेलिभिजन नाम गरेको फेसबुक पेजबाट सन् २०२६ को जुन २१ को दिन बेलुका ७ बजेर ४५ मिनेट जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डाक्टर तोशिमा कार्कीको तस्बिरसहित एउटा पोस्ट सार्वजनिक भएको छ ।

जुन पोस्टमा सांसद कार्कीले रास्वपाको महाधिवेशन स्थल चितवनमा नि:शुल्क कण्डम वितरण गरेको दाबी गरिएको छ । तस्बिरमा सांसद कार्कीले कण्डम देखाइरहेको देखिन्छ ।

हेर्नुहोस्, जनता टेलिभिजन नामक पेजले गरेको पोस्टको स्क्रिन सट

जनता टेलिभिजनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यसको प्रभाव

जनता टेलिभिजन नामक फेसबुक पेजमा यो पोस्टलाई १ हजार १ सयभन्दा धेरै पटक रियाक्ट गरिएको छ भने १ सय ८६ पटक कमेन्ट गरिएको छ । १ सय २७ पटक सेयर गरिएको छ ।

अरू थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यही दाबीसहितको तस्बिर सामाजिक सञ्जालमार्फत साझा गरिरहेका छन् । जिम्मेवार सञ्चारमाध्यमको नाममा खोलिएका फेसबुक पेजबाट नै यस्तो पोस्ट सार्वजनिक भएपछि नेपाल फ्याक्टचेकले यसमाथि तथ्यजाँच गरेको हो । तथ्यजाँचका लागि हामीलाई अनुरोध पनि आएको छ  ।

के हो तथ्य ?

तथ्यजाँचको सुरुमै हामीले यो तस्बिर एआई निर्मित हो कि वास्तविक हो होइन जान्न चाह्यौँ । सुरुमा गुगल एआईमार्फत बनाइएको हो कि होइन भनेर SynthID जाँच गरेर वाटरमार्कको खोजी गर्‍यौँ । तर गुगलको SynthID जाँचबाट तस्बिर गुगल एआईबाट बनेको देखिएन । त्यसपछि हामीले ओपन एआई टुल्सको सहायताले वाटरमार्कको खोजी गर्‍यौँ । ओपन एआईले भने यो तस्बिर एआई निर्मित भएको पुष्टि गर्‍यो ।

एआई निर्मित हो भन्ने पुष्टि भएसँगै हामीले यो तस्बिरको मूल स्रोतको खोजी गर्‍यौँ । तस्बिरलाई गुगलमा एडभान्स सर्च गरेर हेर्दा खबरहबले केही तस्बिरसहितको समाचार प्रकाशित गरेको भेटियो ।

रास्वपा महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा ३-४ ठाउँमा हेल्पडेस्क स्थापना भएको दाबीसहित खबरहबले केही तस्बिर सहितको समाचार रास्वपाको महाधिवेशनको उद्घाटन सत्रकै दिन सन् २०२६ को  जुन २१ को दिन पोस्ट गरेको छ ।

हेर्नुहोस् खबरहब डटकमको स्कृनसट

खबरहबको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

त्यसपछि हामीले सांसद कार्कीको सचिवालयको नाममा खोलिएको आधिकारिक फेसबुक पेजमा गएर हेर्‍यौँ । नतिजामा सांसद कार्कीले रास्वपाको महाधिवेशन स्थल चितवनमा स्वास्थ्य हेल्पडेस्क सेवामा समर्पित भनेर  भनेर केही तस्बिरसहितको पोस्ट सार्वजनिक भएको भेटियो ।

हेर्नुहोस् सांसद कार्कीको स्कृनसट

सांसद कार्कीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

जिम्मेवार सञ्चारमाध्यमले तस्बिरको क्रेडिट नेपाल फोटो लाइब्रेरीलाई दिएका छन् । त्यस कारण हामीले नेपाल फोटो लाइब्रेरीको फेसबुक ‘फिड’ पनि गर्‍यौँ । नतिजामा तस्बिर तोडमोड गरिएकोले तत्काल हटाउन भन्दै चेतावनीसहितको सूचना नेपाल फोटो लाइब्रेरीले सार्वजनिक गरेको भेटियो ।

नेपाल फोटो लाइब्रेरीले लेखेको छ – ‘यी तस्बिरहरू नेपाल फोटो लाइब्रेरीको आधिकारिक तस्बिर हो। यसमा अनधिकृत रूपमा छेडखानी गरी, भ्रामक सन्देश प्रवाह हुने गरी तथा नेपाल फोटो लाइब्रेरीलाई समेत क्रेडिट दिई फेसबुकमा पोस्ट गरिएको पाइएकाले त्यस्ता सम्पूर्ण पोस्ट तत्काल हटाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।…’

हेर्नुहोस्, नेपाल फोटो लाइब्रेरीको पोस्टको स्क्रिन सट

नेपाल फोटो लाइब्रेरीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तथ्य जाँच

दाबी : रास्वपा महाधिवेशन स्थलमा तोशिमा कार्कीले नि:शुल्क कन्डम बाँडेको

दाबीकर्ता : जनता टेलिभिजनको फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : मिथ्या (False)/एआई सम्पादित (AI Generated)। नेपालफ्याक्टचेकले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानले रास्वपा महाधिवेशन स्थलमा सांसद तोशिमा कार्कीले नि:शुल्क कन्डम बाँडेको दाबी गलत पुष्टि भएको छ । महाधिवेशन स्थलमा सञ्चालन गरिएको हेल्प डेस्कमा सांसद कार्कीसहितको नेपाल फोटो लाइब्रेरीले कैद गरेको तस्बिरलाई एआईमार्फत तोडमोड गरेर गलत प्रचार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add