- सुरज घिमिरे
- असार ५, २०८३

दिल्लीको तापक्रम ६४ डिग्री सेल्सियस पुगेको भन्दै नेपाली मिडियामा प्रसारित समाचार ‘भ्रामक’
केही नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतको नयाँ दिल्लीमा प्रचण्ड गर्मीका कारण वायुमण्डलीय तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको भन्दै समाचारहरू भाइरल भएका छन्।
तर, नेपालफ्याक्टचेकको तथ्य जाँचले आधिकारिक मौसम विभागको तथ्याङ्क र वैज्ञानिक मापन विधिलाई गलत रूपमा बुझेर यस्तो भ्रामक दाबी फैलाइएको पुष्टि गरेको छ।
के हो दाबी ?
७ लाख १७ हजार फलोअर्स भएको केन्द्रबिन्दु नामक अनलाइन मिडियाको फेसबुक पेज (Kendrabindu – केन्द्रबिन्दु) मा सोमबार (१५ जुन २०२६) एउटा भिडियो समाचार अपलोड भयो। ११ सेकेन्डको उक्त भिडियो क्लिपमा भनिएको छ:
‘भारतको दिल्लीमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित, तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको जिकिर । अत्यधिक गर्मीले स्वास्थ्य, निद्रा र आम्दानीमा असर पारेको उल्लेख, सबैभन्दा धेरै गरिब श्रमिकहरू मारमा ।’
दाबीको प्रभाव
हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडियो पोस्टमा १२ हजार ९ सयभन्दा बढी रियाक्सन, २३७ कमेन्ट र २१९ पटक सेयर भइसकेको छ भने भिडियो ६ लाख ९७ हजारभन्दा बढी पटक हेरिएको छ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त समाचारको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
यो दाबीको वास्तविकता जाँच्न हामीले भारतीय मौसम विज्ञान विभाग (आइएमडी) को आधिकारिक वेबसाइट, दैनिक मौसम बुलेटिन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूको प्राविधिक विश्लेषण गर्यौँ।
१. आधिकारिक वायुमण्डलीय तापक्रमको अवस्था
भारतीय मौसम विज्ञान विभाग (IMD) को आधिकारिक रेकर्ड अनुसार सन् २०२६ को यस सिजनमा भारतको कुनै पनि स्थानको वायुमण्डलीय तापक्रम ६४ डिग्री सेल्सियस पुगेको छैन। पछिल्ला दिनहरूमा दिल्ली लगायतका क्षेत्रको अधिकतम हावाको तापक्रम ४५ डिग्रीदेखि ४८.२ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
रोयटर्स, हिन्दुस्तान टाइम्स र इन्डिया टुडेका अनुसार यस वर्ष आधिकारिक रूपमा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम ४८.२ डिग्री सेल्सियस मात्र हो, जुन उत्तर प्रदेशको बांदा र राजस्थानको श्री गंगानगरमा मापन गरिएको थियो।
हेर्नुहोस्, स्क्रिन सट :

हिन्दुस्तान टाइम्स, रोयटर्स र इन्डिया टुडेमा प्रकाशित समाचार
२. ‘६४ डिग्री’ भ्रमको जरो (बीबीसी र ग्रीनपिसको रिपोर्ट)
हामीले थप खोजी गर्दा बीबीसीले हालै प्रकाशित गरेको “Delhi temperature showed 43.5 C. Why did it feel hotter?” शीर्षकको एउटा रिपोर्ट फेला पार्यौँ। उक्त रिपोर्ट अनुसार, जुन दिन दिल्लीको आधिकारिक अधिकतम तापक्रम ४३.५ डिग्री सेल्सियस थियो, त्यस दिन वातावरणवादी संस्था ‘ग्रीनपिस इन्डिया’ ले थर्मल क्यामेरा प्रयोग गरेर सहरका विभिन्न भौतिक वस्तुहरूको परीक्षण गरेको थियो।
थर्मल क्यामेराले खुला घाममा रहेका कालोपत्रे सडक, धातुका संरचना र कङ्क्रिटका भवनहरूको ‘सतहको तापक्रम’ (Surface Temperature) ६० देखि ६४ डिग्री सेल्सियससम्म पुगेको देखाएको थियो। बीबीसीको उक्त रिपोर्टले दिल्लीको हावा वा वायुमण्डलीय तापक्रम ६४ डिग्री पुगेको दाबी कतै पनि गरेको छैन। नेपाली मिडियाले ‘सतहको तापक्रम’ लाई ‘वायुमण्डलीय तापक्रम’ का रूपमा बुझेर भ्रम फैलाएको देखिन्छ।
विज्ञको धारणा
मौसम विज्ञानमा तापक्रम मापनका फरक विधिका बारेमा हामीले जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका मौसमविद् अशोक बख्रेलसँग कुराकानी गर्यौँ। उहाँको भनाइ जस्ताको तस्तै छ:
“थर्मल क्यामेराले हावाको तापक्रम नभई वस्तु वा सतहको तापक्रम (Surface Temperature) मापन गर्छ। हामीले आधिकारिक वायुमण्डलीय तापक्रम मापन गर्दा जमिनबाट करिब १.५ मिटर उचाइमा छायाँमा राखिएको ‘स्टिभेन्सन स्क्रिन’ भित्रका उपकरण प्रयोग गर्छौँ।
थर्मल क्यामेराले सडक, भवन वा छाना जस्ता वस्तु सूर्यको किरणले कति तातिएका छन् भन्ने मात्र देखाउँछ। उदाहरणका लागि, जेठ-असारको दिउँसो घाममा रहेको गाडीको बोनस वा टिनको छाना छुँदा हात नै पोल्ने गरी तातो (६०-७० डिग्री सम्म) हुन सक्छ, तर त्यसको अर्थ वरपरको वातावरण वा हावाको तापक्रम पनि त्यति नै छ भन्ने हुँदैन। त्यसैले थर्मल क्यामेराले देखाएको सतहको ६४ डिग्री सेल्सियस तापक्रमलाई वायुमण्डलीय तापक्रमका रूपमा बुझ्न र प्रचार गर्न मिल्दैन।”
तथ्य जाँच
दाबी : भारतको दिल्लीमा प्रचण्ड गर्मीका कारण वायुमण्डलीय तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको भन्दै प्रसारित समाचार।
दाबीकर्ता : केन्द्रबिन्दु डटकम ।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। नयाँ दिल्लीको आधिकारिक वायुमण्डलीय (हावाको) तापक्रम ४३.५ डिग्री सेल्सियस आसपास रहँदा, एक वातावरणवादी संस्थाले थर्मल क्यामेरा मार्फत मापन गरेको सडक तथा कङ्क्रिटको ‘सतहको तापक्रम’ (६४ डिग्री सेल्सियस) लाई वायुमण्डलीय तापक्रम भन्दै भ्रमपूर्ण रूपमा समाचार फैलाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ