जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना सुदूरपश्चिम

कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मीका कारण २० दिन बिदा दिएको दाबी भ्रामक


कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मीका कारण २० दिन बिदा दिएको दाबी भ्रामक

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मी बढेका कारण २० दिन बिदा दिने घोषणा गरेको भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचारहरू प्रकाशित भएका छन्। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त गर्मी बिदा अत्यधिक गर्मीका कारण अचानक दिइएको नभई सुदूरपश्चिम विश्वविद्यालयको पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसारकै नियमित ‘सेमेस्टर बिदा’ भएको पुष्टि गरेको छ।

के हो दाबी ?

एक लाख ३४ हजार फलोअर्स भएको ‘सनराइज टेलिभिजनफेसबुक पेजले सोमबार मध्यान्ह १२:३९ बजे एउटा समाचार पोस्ट गर्‍यो। उक्त पोस्टको शीर्षक छ— ‘अत्यधिक गर्मीका कारण कैलाली बहुमुखी क्याम्पसमा २० दिन बिदा घोषणा’

उक्त पोस्टको कमेन्ट खण्डमा सोही टेलिभिजनको पेजबाट रिप्लाइ गर्दै लेखिएको छ:

‘सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा सम्बन्धी सूचना जारी गर्दै विद्यार्थी तथा शिक्षकहरूलाई जानकारी गराएको छ। क्याम्पस प्रशासनले सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार २०८३ जेठ २६ गतेदेखि असार १५ गतेसम्म गर्मी बिदा रहने जनाएको हो। यस अवधिमा नियमित पठनपाठन बन्द रहनेछ…’

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

‘विश्वास खबर’ नामक अनलाइन पोर्टलले पनि सोमबार मध्यान्ह १२ः१८ मा ‘अत्यधिक गर्मीका कारण कैलाली बहुमुखी क्याम्पसमा २० दिन बिदा घोषणा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।

 

हेर्नुहोस्, समाचारको स्क्रिन सट :

उक्त समाचारको लिंकअर्काइभ लिंक

दाबीको प्रभाव 

हामीले तथ्य जाँच गर्दासम्म सनराइज टेलिभिजनको उक्त फेसबुक पोस्टमा ३०३ रियाक्सन, २० कमेन्ट र ४ पटक शेयर भइसकेको देखिन्छ। यो समाचार सामाजिक सञ्जालमा तिव्रताका साथ फैलिरहेको छ र विद्यार्थी तथा अभिभावक माझ भ्रम सिर्जना गरिरहेको छ।

के हो तथ्य ?

अत्यधिक गर्मीकै कारण क्याम्पसमा २० दिन बिदा घोषणा भएको दाबीसहित समाचार प्रकाशित भएपछि हामीले यसको तथ्य पहिल्याउन विभिन्न चरणबाट पुष्टि गर्‍यौँ:

१. क्याम्पसको आधिकारिक सूचना :
हामीले ‘कैलाली मल्टिपल क्याम्पस, धनगढी, कैलालीको आधिकारिक फेसबुक पेजमा जुन ५ (जेठ २२ गते) पोस्ट गरिएको ‘गर्मी बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना’ सम्बन्धी पत्र फेला पार्‍यौँ। जेठ २० गतेको मिति उल्लेख गरिएको उक्त पत्रमा भनिएको छ:

‘सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा आदरणीय प्राध्यापकहरूका लागि गर्मी बिदा सम्बन्धी सूचना प्रकाशित गरिएको छ।’

पत्रमा बिदाको अवधि २०८३ जेठ २६ गतेदेखि २०८३ असार १५ गतेसम्म हुने स्पष्ट लेखिएको छ। तर, उक्त आधिकारिक पत्रमा अत्यधिक गर्मी बढेका कारण बिदा दिइएको भन्ने कुरा कहीँ कतै उल्लेख छैन।

हेर्नुहोस्, क्याम्पसको पत्र :

२. क्याम्पस प्रमुखसँग कुराकानी : यस विषयलाई थप पुष्टि गर्न हामीले कैलाली बहुमुखी क्याम्पसका प्रमुख सह-प्राध्यापक डा. लोक बहादुर बिष्टसँग सम्पर्क गर्‍यौँ। नेपालफ्याक्टचेकसँग कुरा गर्दै क्याम्पस प्रमुख बिष्टले भन्नुभयो:

“यो अत्यधिक गर्मीका कारण दिइएको बिदा होइन। विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार नै जेठ २६ गतेदेखि बिदा दिइएको हो। क्यालेन्डरमा जेठ २६ देखि असार १५ गतेसम्म सेमेस्टर बिदा निर्धारण गरिएको छ। यो हाम्रो क्याम्पसमा मात्र होइन, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूमा लागू हुने नियमित बिदा हो।”

यसबाट के स्पष्ट हुन्छ भने, यो बिदा मौसम प्रतिकूलताका कारण अचानक दिइएको नभई विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसारकै नियमित बिदा हो, जसलाई गर्मी महिनामा पर्ने भएकोले ‘गर्मी बिदा’ वा ‘सेमेस्टर बिदा’ भनिएको हो।

तथ्य जाँच

दाबी : अत्यधिक गर्मीका कारण कैलाली बहुमुखी क्याम्पसमा २० दिन बिदा घोषणा।

दाबीकर्ता : सनराइज टेलिभिजन (फेसबुक पेज) र विश्वास खबर (अनलाइन पोर्टल)।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading) । कैलाली बहुमुखी क्याम्पसमा २० दिन पठनपाठन बन्द रहने कुरा सत्य भए पनि समाचारमा दाबी गरिए जस्तो यो अत्यधिक गर्मीका कारण अचानक दिइएको बिदा होइन। यो सुदूरपश्चिम विश्वविद्यालयको पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसारकै नियमित ‘सेमेस्टर बिदा’ हो। गर्मी महिनामा पर्ने नियमित बिदालाई ‘अत्यधिक गर्मीका कारण बिदा’ भनी सनसनीपूर्ण शीर्षक राखेर सञ्चार माध्यमले भ्रामक सूचना फैलाएको पुष्टि हुन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add