एआई जेनेरेटेड जलवायु र वातावरण तथ्यजाँच

प्युठानमा बाढीले दाजुभाइ बगाउँदै गरेको भनी भाइरल फोटो ‘एआई निर्मित’


प्युठानमा बाढीले दाजुभाइ बगाउँदै गरेको भनी भाइरल फोटो ‘एआई निर्मित’

प्युठानमा एकै घरका दुई दाजुभाइलाई खोलाको भेलले बगाएको दुःखद घटनाको सन्दर्भ जोडेर सामाजिक सञ्जालमा एउटा हृदयविदारक तस्बिर भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचले उक्त दुःखद घटना सत्य भए पनि दाजुभाइलाई बाढीले बगाउँदै गरेको भनी फैलाइएको फोटो वास्तविक नभई एआई प्रविधि प्रयोग गरेर बनाइएको पुष्टि गरेको छ।

के हो दाबी ?

फेसबुकमा २३ लाखभन्दा बढी फलोअर्स भएका भोजराज थापा नामक प्रयोगकर्ताले नामक प्रयोगकर्ताले मंगलबार एउटा फोटोसहित फेसबुक पोस्ट गरे। उक्त पोस्टमा प्युठानमा दुई बालकलाई खोलाको तीव्र भेलले बगाउँदै गरेको अस्वाभाविक दृश्य देखिन्छ।

दाबीको प्रभाव

हामीले तथ्य जाँच गर्दासम्म उक्त भाइरल पोस्टमा १८ हजार दुई सयभन्दा बढी रियाक्सन, १ हजार ५ सय कमेन्ट आइसकेका छन् भने १ सय ८९ पटक सेयर भइसकेको छ।

हेर्नुहोस् स्क्रिनसट :

लिङ्क/अर्काइभ लिङ्क

के हो तथ्य ?

हामीले सुरुमा प्युठानमा भएको उक्त घटनाको आधिकारिकताबारे खोजी गर्‍यौँ। यस क्रममा मूलधारका सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरू फेला परे :

१. सञ्चारमाध्यममा प्रकाशित समाचार : अनलाइनखबरमा प्रकाशित समाचार अनुसार काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ (मिलन खत्री र बिमल खत्री) दुवै मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ। अन्नपूर्ण पोस्ट लगायतका राष्ट्रिय सञ्चारमाध्यमले पनि उक्त दुःखद घटनाको पुष्टि गरेका छन्। यसबाट प्युठानमा दुई बालकलाई भेलले बगाएको घटना शतप्रतिशत सत्य भएको प्रमाणित हुन्छ।

अनलाइनखबरमा प्रकाशित समाचार : प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालक बाढीले बगायो’ , ‘प्युठानमा आकस्मिक बाढीले बगाएका दाजुभाइ मृत भेटिए’

हेर्नुहोस्, अनलाइनखबरमा प्रकाशित समाचारको  स्क्रिन सट :

अन्नपूर्ण पोस्ट लगायतका राष्ट्रिय सञ्चारमाध्यमले पनि उक्त घटनाको पुष्टि गरेका छन् ।

२. फोटोको प्राविधिक वास्तविकता : घटना सत्य साबित भएपछि हामीले भाइरल फोटोको प्राविधिक जाँच गर्‍यौं। स्थानीय अनलाइन ‘प्यूठान समाचार डटकम’ मा प्रकाशित समाचारमा ज्यान गुमाएका दुई बालकको वास्तविक तस्बिर राखिएको छ, जुन सामाजिक सञ्जालमा भाइरल फोटोसँग कतै मेल खाँदैन। वास्तविक घटनाको समयमा कसैले पनि बालकहरू बग्दै गरेको तस्बिर खिचेको प्रमाण फेला परेन

भोजराज थापाले अपलोड गरेको फोटो कृत्रिम र अस्वाभाविक देखिएपछि हामीले त्यसलाई एआई फोटो पहिचान गर्ने टुल ‘ओपनएआई भेरिफाइ’ (OpenAI Verify) मा राखेर जाँच गर्‍यौँ ।

ओपनएआई भेरिफाइ’ ले C2PA मेटाडाटा (Metadata) र सिन्थआईडी (SynthID) वाटरमार्कको आधारमा तस्बिर एआई प्रणालीबाट बनेको हो वा होइन भन्ने कुराको प्राविधिक विश्लेषण गर्छ ।

उक्त टुलको विश्लेषणले थापाद्वारा पोस्ट गरिएको फोटो शतप्रतिशत एआई निर्मित (AI Generated) भएको नतिजा देखायो ।

हेर्नुहोस्, एआई जाँचको स्क्रिनसट :

फोटोमा पानीको बहाव, बालकहरूको शारीरिक बनोट र प्रकाशको सन्तुलनमा एआई मोडेलका स्पष्ट संकेतहरू (शारीरिक असङ्गतिहरू) देखिएका छन्।

तथ्य जाँच
दाबी : प्युठानमा दाजुभाइलाई बाढीले बगाउँदै गरेको भाइरल फोटो ।

दाबीकर्ता : भोजराज थापा नामक फेसबुक प्रयोगकर्ता ।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading) / एआई निर्मित (AI Generated)। प्युठानमा विद्यालयबाट फर्कने क्रममा दुई दाजुभाइलाई भेलले बगाएको र उनीहरूको मृत्यु भएको दुःखद घटना सत्य हो। तर, उक्त घटनाको भन्दै सामाजिक सञ्जालमा फैलाइएको बालकहरू बग्दै गरेको तस्बिर भने वास्तविक होइन, डिजिटल रूपमा एआई प्रयोग गरेर बनाइएको फोटो भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add