- टेकमान शाक्य
- जेष्ठ २०, २०८३

दैनिक जागरण’ को नाममा नेपालले भूमि नमिचेको दाबीसहित भाइरल भएको तस्बिर मिथ्या
भारतीय पत्रिका ‘दैनिक जागरण’ को दाबी गरिएको ‘नेपाल ने कभी भी इंडिया का जमीम नहीं हडपा है’ (नेपालले कहिल्यै पनि भारतको जमिन मिचेको छैन) शीर्षक राखिएको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा उक्त दाबी मिथ्या र सो तस्बिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरी बनाइएको पुष्टि भएको छ।
के हो दावी ?
विनोद न्योपाने नाम गरेका एक्स (ट्विटर) प्रयोगकर्ताले सन् २०२६ को जुन १ मा “भारतीय पाे लजाएछन कि के हो?” क्याप्सन राख्दै भारतीय पत्रिका ‘दैनिक जागरण’को एउटा तस्बिर सेयर गरेका छन्। उक्त पोस्टमार्फत भारतीय सञ्चारमाध्यमले ‘नेपालले भारतको भूमि मिचेको छैन’ भन्दै मुख्य समाचार छापेको दाबी गरिएको छ।
हेर्नुहोस् बिनोद न्योपानेको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ
फेसबुक प्रयोगकर्ता बिश्वर सिंह मेवाहाङले पनि यस्तै दाबीसहितको पोस्ट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् स्क्रिनसट

पोस्टको ओरिजिनल लिंक यहाँ छ ।
यसको प्रभाव
एक्समा गरिएको पोस्टलाई १२ हजारभन्दा धेरै पटक हेरिएको छ । बिश्वर सिंह मेवाहाङको पोस्टमा २६२ पटक रियाक्सन भएको छ भने ६४ पटक कमेन्ट र ३१ पटक सेयर भएको छ । अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि यही पोस्ट सेयर गरिरहेका छन्।
हामीलाई हाम्रो सामाजिक सञ्जालमार्फत् यसको तथ्य जाँच गर्न अनुरोध पनि आएको छ।
के हो तथ्य ?
यसबारे तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले भाइरल तस्बिरको सूक्ष्म अध्ययन गर्यौँ। उक्त भाइरल तस्बिरमा पत्रिकाको ‘वर्ष ५५’ र ‘अंक १०३’ उल्लेख गरिएको देखिन्छ। दैनिक जागरण पत्रिकाको इतिहास खोजी गर्दा यो पत्रिका सन् १९४२ मा स्थापना भएको भेटिन्छ। यो हिसाबले सन् २०१६ (तस्बिरमा उल्लेखित मिति) सम्ममा पत्रिका प्रकाशनको ७४ वर्ष पूरा भई ‘वर्ष ७४’ चलिरहेको हुनुपर्ने हुन्थ्यो। तर भाइरल तस्बिरमा ‘वर्ष ५५’ मात्र उल्लेख हुनुले यो पहिलो दृष्टिमै नक्कली भएको संकेत गर्छ।

ओरिजिनल लिंक यहाँ छ ।
यसैगरी, तस्बिरमा ‘यथा प्रदेश संस्करण’ लेखिएको छ। जबकी भारतमा यो नामको कुनै प्रदेश छैन र दैनिक जागरणले यो नाममा कुनै संस्करण प्रकाशित पनि गर्दैन।
हामीले समाचारको शीर्षकलाई ध्यान दिएर हेर्दा थप त्रुटिहरू फेला पार्यौँ। शीर्षकमा ‘जमीन’ हुनुपर्नेमा ‘जमीम’ शब्द लेखिएको छ भने शीर्षकको अन्त्यमा पूर्णविराम (।) राखिएको छ। पत्रकारिताको स्थापित मूल्य र शैली अनुसार समाचारको शीर्षकको पछाडि पूर्णविराम राख्ने प्रचलन हुँदैन। तस्बिरमा देखाइएको नेपालको नक्सा पनि स्वाभाविक देखिँदैन।

प्राविधिक परीक्षण
यो तस्बिर एआई जेनेरेटेड (कृत्रिम रूपमा सिर्जित) हो कि होइन भनेर पुष्टि गर्न हामीले डिजिटल फरेन्सिक्स टुलहरूको सहयोग लियौँ:
१. गुगल एआई SynthID परीक्षण: जेमिनाईको ‘सिन्थआईडी’ मार्फत वाटरमार्क जाँच गर्दा यसमा गुगलको एआई टुल प्रयोग नभएको तर अन्य एआई टुलको प्रयोग भएको हुनसक्ने प्राविधिक संकेत प्राप्त भयो।
२. OpenAI टुल र एआई डिटेक्टर परीक्षण: त्यसपछि हामीले यस तस्बिरलाई ओपनएआई (OpenAI) र अन्य एआई इमेज डिटेक्टर टुलमार्फत परीक्षण गर्यौँ। उक्त परीक्षणको नतिजाले यो तस्बिर एआई प्रविधि (AI-generated) बाट निर्मित डिजिटल सामग्री भएको पुष्टि गर्यो।

प्राविधिक परीक्षण, उपलब्ध खुल्ला स्रोतका अभिलेख र तथ्यहरूको विश्लेषणबाट भाइरल तस्बिर वास्तविक नभई एआईमार्फत भ्रम फैलाउने उद्देश्यले बनाइएको पुष्टि हुन्छ।
तथ्यजाँच
दावी : भारतीय पत्रिका ‘दैनिक जागरण’ ले ‘नेपाल ने कभी भी इंडिया का जमीन नहीं हडपा है।’ शीर्षकमा समाचार प्रकाशित गरेको।
दावीकर्ता : विनोद न्योपाने (एक्स प्रयोगकर्ता), बिश्वर सिंह मेवाहाङ (फेसबुक प्रयोगकर्ता) लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।
तथ्यजाँच : मिथ्या (False)। पत्रिकाको आन्तरिक विवरणात्मक त्रुटि, ऐतिहासिक अभिलेख र विभिन्न डिजिटल प्राविधिक परीक्षण (AI Detection) बाट उक्त तस्बिर वास्तविक नभई एआई प्रविधिको दुरुपयोग गरी निर्माण गरिएको पुष्टि हुन्छ।