- क्लाइमेट डेस्क
- जेष्ठ २०, २०८३

एक्सप्लेनर : जलवायु परिवर्तन र बढ्दो तापक्रम : के हो ‘हिट एक्सन डे’ ? के छ यसको महत्व ?
जलवायु परिवर्तनको तीव्र असरसँगै पछिल्ला वर्षहरूमा विश्वभरि नै ‘तापलहर’ (हिट वेभ) एउटा ठूलो र घातक प्राकृतिक चुनौतीका रूपमा देखा परिरहेको छ। विश्वभर तापक्रम लगातार बढिरहँदा नेपाल पनि त्यसबाट अछुतो छैन। यसै चुनौतीलाई सम्बोधन गर्न र मानिसको ज्यान जोगाउन हरेक वर्ष जुन २ मा विश्वभर ‘हिट एक्सन डे’ (Heat Action Day) मनाइन्छ।
यस एक्सप्लेनरमार्फत हामी ‘हिट एक्सन’, ‘हिट एक्सन डे’ को महत्व, आवश्यकता र अत्यधिक गर्मीबाट बच्ने उपायबारे चर्चा गर्दैछौं।
के हो ‘हिट एक्सन’ र ‘हिट एक्सन डे’ ?
हिट एक्सन (Heat Action) : अत्यधिक गर्मी र तातो हावा (लू) को प्रकोप कम गर्न तथा सुरक्षित रहनका लागि चालिने तत्कालीन र दीर्घकालीन कदमहरूलाई ‘हिट एक्सन’ भनिन्छ।
हिट एक्सन डे (Heat Action Day): अत्यधिक गर्मी तथा तापलहरबाट हुने स्वास्थ्य, सामाजिक र आर्थिक असरबारे चेतना जगाउने विश्वव्यापी दिवस हो। यसले सरकार, स्वास्थ्य संस्था, समुदाय र नागरिकलाई गर्मीजन्य जोखिम कम गर्न आवश्यक पूर्वतयारी र तत्काल कदम चाल्न प्रेरित गर्छ।
सुरुवात र यस वर्षको नारा : ‘हिट एक्सन डे’ को सुरुवात सन् २०२२ मा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीज महासंघ (आइएफआरसी) ले गरेको हो। यस वर्ष (सन् २०२६) को नारा ‘इन्डोर हिट’ (Indoor Heat) अर्थात् ‘घरभित्रको गर्मी र यसको व्यवस्थापन’ रहेको छ।
नेपालको वर्तमान अवस्था र विज्ञको चेतावनी
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार बढ्दो तापक्रमले मानव स्वास्थ्य, कृषि, शिक्षा तथा दैनिक जनजीवनमा गम्भीर असर पारिरहेको छ।
विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमातर्फ उन्मुख भइरहेका बेला समुद्री सतहको तापक्रममा आएको परिवर्तन र विकसित हुँदै गएको ‘एल निनो’को प्रभावका कारण नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ।
डा. उप्रेती भन्छन्, “विशेषगरी तराई क्षेत्रमा प्रि-मनसुनी गतिविधि कमजोर हुने सम्भावना रहेकाले वर्षा कम र गर्मी बढी हुन सक्छ। बढ्दो गर्मी केवल मौसमीय समस्या मात्र होइन, यो जनस्वास्थ्य, खाद्य सुरक्षा, श्रम उत्पादकत्व र समग्र जीवनशैलीसँग जोडिएको चुनौती हो। यसको जोखिम न्यूनीकरणका लागि सरकार, स्थानीय समुदाय, निजी क्षेत्र र नागरिकबीच सामूहिक सहकार्य अपरिहार्य छ।”
हालका वर्षहरूमा नेपालको तराई तथा मधेशका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम तीव्र रूपमा बढेको छ। गर्मीकै कारण विद्यालयहरू बन्द गर्नुपर्ने, कार्यालयको समय परिवर्तन गर्नुपर्ने र अस्पतालहरूमा बिरामीको चाप बढ्ने जस्ता गम्भीर अवस्थाहरू देखिन थालेका छन्।
तापलहर (हिट वेभ) भनेको के हो?
सामान्य अवस्थाभन्दा लगातार धेरै दिनसम्म अत्यधिक तापक्रम कायम रहनुलाई तापलहर (हिट वेभ) भनिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लगातार दुई दिन वा सोभन्दा बढी समय तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेमा त्यसलाई तातो हावाको लहर अर्थात् तराई-मधेशको रैथाने भाषामा ‘लू’ भनिन्छ।
अत्यधिक गर्मीका असरहरू:
- शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुनु।
- हीट क्र्याम्प, हीट एक्सहस्टन र हीट स्ट्रोक (लू लाग्नु) जस्ता घातक स्वास्थ्य समस्या देखिनु।
- मुटु तथा श्वासप्रश्वाससम्बन्धी पुराना बिरामीहरूलाई थप जोखिम हुनु।
- श्रम उत्पादकत्व र कृषि उत्पादनमा ह्रास आउनु।
जोखिममा को छन् ?
अत्यधिक गर्मीको मारमा सबैजना परे पनि विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी र बाहिरी क्षेत्रमा काम गर्ने मजदुरहरू बढी जोखिममा हुन्छन्।
गर्मीको जोखिम कम गर्न कस्ता कदम चाल्नुपर्छ ?
अत्यधिक गर्मीको सामना गर्न व्यक्तिगत र सरकारी दुवै तहबाट योजनाबद्ध कदम चाल्न जरुरी हुन्छ :
क) व्यक्तिगत तहमा चालिने कदमहरू (कसरी बच्ने?)
हाइड्रेटेड रहने : तिर्खा नलागे पनि लगातार पानी, कागती पानी, जीवनजल वा नरिवलको पानी पिउने।
सुरक्षित कपडा : हल्का, खुकुलो र सुती (Cotton) को कपडा लगाउने। बाहिर निस्कनै परे छाता वा टोपीको प्रयोग गर्ने।
घरभित्रै बस्ने : दिउँसोको कडा घाममा (विशेष गरी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) आवश्यक कामबाहेक बाहिर ननिस्कने।
लक्षणहरू चिन्नु : रिँगटा लाग्ने, अत्यधिक पसिना आउने, कमजोरी हुने वा वाकवाकी लाग्ने जस्ता ‘हिट स्ट्रोक’का प्रारम्भिक लक्षणहरू देखिएमा तुरुन्तै शीतल ठाउँमा जाने र स्वास्थ्यकर्मीको सल्लाह लिने।
ख) सरकारी तथा सामुदायिक तहमा चालिने कदमहरू
अर्ली वार्निङ सिस्टम : गर्मी बढ्नु अगावै नागरिकहरूलाई मोबाइल सन्देश, रेडियो वा सञ्चारमाध्यमबाट पूर्वसूचना तथा सतर्कता जारी गर्ने।
कुलिङ सेन्टरहरू : सडकमा हिँड्ने, यात्रा गर्ने र श्रम गर्नेहरूका लागि शीतल छहारी, शीतल पाटी र निःशुल्क पिउने पानीको व्यवस्था गर्ने।
सहरी हरियाली : सहरहरूमा कङ्क्रिटका कारण तापक्रम बढ्ने प्रभाव (Urban Heat Island Effect) कम गर्न बढीभन्दा बढी रुखहरू रोप्ने र पोखरीहरूको संरक्षण गर्ने।