- टेकमान शाक्य
- असार २९, २०८३

गणेश नेपालीबारे न्युज एजेन्सीको तस्बिर एआई निर्मित
आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई राहदानी विभागको गेटदेखि अस्पतालसम्म नै हिँडाएर लगिएको भन्दै न्युज एजेन्सीको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन्। तर, नेपाल फ्याक्टचेकको तथ्यजाँचबाट उक्त समाचारमा प्रयोग गरिएको तस्बिर एआईमार्फत निर्माण गरिएको भ्रामक सामग्री भएको पुष्टि भएको छ।
के हो दावी ?
आर्थिक न्युज डटकमले २०८३ असार २७ गते (११ जुलाई २०२६) मा ‘हिँडाएर गरियो गणेशको उद्धार, बचाउन सकिएन ज्यान : गम्भीर जलनमा सही उद्धार किन महत्वपूर्ण ?’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा प्रयोग गरिएको तस्बिरमा गणेश नेपालीलाई राहदानी विभागको २ नम्बर गेटअगाडि नेपाल प्रहरीको भ्यान र जवानहरूको बीचमा देखाइएको छ।
तस्बिरमा उनले चप्पल, जिन्स पाइन्ट र सेतो हाफ बाउला भएको सर्ट लगाएका छन् र सादा पोसाकका दुई जना व्यक्तिले उनलाई दुवैतर्फबाट समातेर हिँडाइरहेका देखिन्छन्। समाचारमा गणेशलाई जलेको अवस्थामा प्रहरीले हिँडाएरै अस्पताल पुर्याएको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको दाबी गरिएको छ।
हेर्नुहोस् आर्थिक न्यूजको स्कृनसट

आर्थिक न्युजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यही समाचार र तस्बिर साँघु न्युजले पनि हुबहु शीर्षक र लिडलाइनसहित प्रकाशित गरेको छ।
हेर्नुहोस् साँघु न्युजको समाचारको स्कृनसट

साँघु न्युजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यी सञ्चारमाध्यममा प्रकाशित सामग्रीको मूल स्रोत खोज्दा यो समाचार र तस्बिर ‘नेपाल न्युज बैंक’ नामक एजेन्सीले आफ्ना सस्क्राइबर्स (शुल्क तिरेर सदस्य बनेका) ग्राहक सञ्चारमाध्यमहरूलाई वितरण गरेको भेटिएको छ। एजेन्सीले वितरण गरेको तस्बिरमा कतै पनि फोटो क्रेडिट वा एआई निर्मित (AI Generated) भनी खुलाइएको छैन।
हेर्नुहोस् नेपाल न्युज बैंकको स्क्रिनसट


दाबीको प्रभाव
न्युज एजेन्सीमार्फत वितरण भएकाले यो भ्रामक समाचार र तस्बिर एकैसाथ स्थापित अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित भई व्यापक रूपमा फैलिएको छ। आत्मदाह जस्तो संवेदनशील र गम्भीर घटनामा प्रहरी र उद्धारकर्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै यो सामग्रीले सामाजिक सञ्जाल र सञ्चारमाध्यमका पाठकहरूमा तीव्र आक्रोश र भ्रम सिर्जना गरेको देखिन्छ।
के हो तथ्य ?
यस विषयको प्राविधिक तथा स्थलगत यथार्थ बुझ्न हामीले विभिन्न चारवटा चरणमा प्रमाणहरूको विश्लेषण गर्यौँ:
१) कपडा र हुलियाको भिन्नता:
आत्मदाह गर्नुअघि गणेश नेपालीसँग महानगर प्रहरीको विवाद हुँदाको कान्तिपुर टेलिभिजनको भिडिओ फुटेज संकलन गरी अध्ययन गर्दा उनको हुलिया समाचारको तस्बिरसँग मिल्दैन। वास्तविक भिडिओमा उनले माथिल्लो भागमा सेतो सर्ट नभई कालो ज्याकेट जस्तो कपडा र चप्पलको साटो जुत्ता लगाएका देखिन्छन्।
हेर्नुहोस् कान्तिपुर टेलिभिजनको स्क्रिनसट

कान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२) घटनास्थल र ट्याक्सीमा उद्धार:
सेतोपाटी डटकममा प्रकाशित स्थलगत रिपोर्ट र उपलब्ध अन्य भिडिओहरूको विश्लेषण गर्दा, राहदानी विभागको गेटमा नगर प्रहरीले बाइक उठाउन खोजेपछि गणेशले आत्मदाहको प्रयास गरेका थिए। आत्मदाह लगतै उनलाई ट्याक्सीमा राखेर अस्पताल पुर्याइएको विवरण सेतोपाटीको समाचारमा उल्लेख छ।
हेर्नुहोस् सेतोपाटीको स्क्रिनसट

सेतोपाटीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
३) सडकमा हिँडाइएको वास्तविक सन्दर्भ:
मिडिया पत्र नामक फेसबुक पेजमा सार्वजनिक भएको २१ सेकेन्डको वास्तविक भिडिओ फुटेजमा गणेश नेपालीलाई एकजना प्रहरी र अर्का सादा पोसाकका व्यक्तिले राहदानी विभाग बाहिरको सडकमा समातेर केही मिटर हिँडाइरहेको देखिन्छ। उक्त वास्तविक दृश्यमा पनि उनले कालो कपडा र जुत्ता नै लगाएका छन्, जसले न्युज एजेन्सीको तस्बिर नक्कली भएको थप पुष्टि गर्छ।
हेर्नुहोस् मिडिया पत्रको स्कृनसट

मिडिया पत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
४) प्रहरीको आधिकारिक भनाइ:
यसबारे काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी दिलिप घिमिरेसँग बुझ्दा उनले भने, “आत्मदाह प्रयास गरेको स्थलबाट केही मिटर सुरक्षित स्थानसम्म हिँडाएको कुरा सत्य हो, तर अस्पतालसम्म नै हिँडाएर लगिएको दाबी पूर्णतः झुटो हो। उनलाई तत्कालै ट्याक्सीमा राखेर उपचारका लागि अस्पताल पुर्याइएको हो।”
५) एआई वाटरमार्क र डिजिटल फरेन्सिक्स जाँच:
सञ्चारमाध्यममा प्रयोग भएको तस्बिरको प्राविधिक परीक्षण गर्दा तस्बिरमा जेमिनाई (Gemini) को लोगो संकेत देखिन्छ। यसलाई गुगलको सिन्थआईडी (SynthID) प्रविधिमार्फत वाटरमार्क जाँच गर्दा उक्त तस्बिर शतप्रतिशत गुगलको एआई टुलमार्फत निर्मित वा सम्पादित (AI Generated/Modified) भएको पुष्टि भयो।
तथ्यजाँच
दावी : आत्मदाह प्रयासपछि गणेश नेपालीलाई राहदानी विभागको गेट अगाडीदेखि अस्पतालसम्म नै हिँडाएको दावीसहितको तस्बिर
दावीकर्ता : नेपाल न्युज बैङ्क नामक न्युज एजेन्सी, आर्थिक न्युज, साँघू न्युज लगायत सञ्चारमाध्यम
तथ्य : भ्रामक (Misleading) । नेपाल फ्याक्टचेकको अनुसन्धान र प्राविधिक विश्लेषणबाट गणेश नेपालीलाई अस्पतालसम्म हिँडाएर लागिएको भन्ने दाबी गलत प्रमाणित हुन्छ। पाल न्युज बैङ्क नामक न्युज एजेन्सीले एआईमार्फत बनाइएको काल्पनिक तस्बिरलाई वास्तविक जस्तो गरी मिडियाहरूमा वितरण गरेको र सोही आधारमा सञ्चारमाध्यमले भ्रम फैलाएको पुष्टि हुन्छ। वास्तविक घटनामा उनलाई घटनास्थलबाट केही मिटर मात्र सुरक्षाका लागि समातेर लगिएको र तत्कालै ट्याक्सीमार्फत अस्पताल पुर्याइएको थियो।