तथ्यजाँच भ्रामक सूचना वागमती

अर्थमन्त्री वाग्लेको २ वर्ष पुरानो भिडिओलाई बालेन शाह लक्षित भन्दै भाइरल बनाइयो : तथ्य के हो?


अर्थमन्त्री वाग्लेको २ वर्ष पुरानो भिडिओलाई बालेन शाह लक्षित भन्दै भाइरल बनाइयो : तथ्य के हो?

सामाजिक सञ्जालमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘सडकका गजेडीहरू’ भन्ने अभिव्यक्ति दिँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गरेको दाबीसहित एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचबाट उक्त भिडिओ दुई वर्ष पुरानो (सन् २०२४ को) रहेको र वाग्लेले तत्कालीन रास्वपा महामन्त्री मुकुल ढकालले लगाएको आरोपको खण्डन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई तोडमोड गरी फैलाइएको पुष्टि हुन्छ।
के हो दाबी ?

फेसबुकका विभिन्न पेज तथा एकाउन्टहरूमा स्वर्णिम वाग्लेले बालेन्द्र शाहलाई लक्षित गर्दै ‘सडकका गजेडी’ भनेको दाबीसहित ११ सेकेन्डको भिडिओ क्लिप भाइरल बनाइएको छ।

‘जय माटो जय हर्कवाद‘ नामक फेसबुक एकाउन्टमा मङ्गलबार (जुलाई २१, २०२६) राति १०:४१ बजे भिडिओ पोस्ट गर्दै क्याप्सनमा लेखिएको छ– “अर्थमन्त्री वाग्लेको पारा तातेपछि सडकका गजेडी रे।”

उक्त पोस्टमा २ सय लाइक, ४७ सेयर र १२ हजारभन्दा बढी भ्युज भइसकेको छ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

मङ्गलबार राति ९:४३ बजे ‘निर्दोष नेपाल‘ नामक एकाउन्टबाट ‘सडकका गजेडी वाग्लेको भनाइ कोप्रति लक्षित : कतै पीएम ?’ शीर्षकमा अपलोड गरिएको भिडिओ ४ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

एचटीभी टेलिभिजन’ पेजमा अपलोड गरिएको भिडिओमा भनिएको छ, “भर्खरै मात्र स्वर्णिम वाग्लेले सडकका गजेडीहरूले भनेका होलान्… भन्दै यस्तो भनेका छन्।” उक्त भिडिओ २५ हजारभन्दा बढी पटक हेरिएको छ।

हामीले तथ्य जाँच गर्दा उक्त भिडिओमा १ हजारभन्दा बढी रियाक्सन, ५१ कमेन्ट, ४७ सेयर र २५ हजारभन्दा बढी भ्युज देखिन्छ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

‘रमेश लामा’ नामक फेसबुक पेजमा पनि मङ्गलबार साँझ ७:०९ बजे सोही भिडिओ क्लिप अपलोड गरिएको छ। ‘अर्थमन्त्री वाग्लेले गजेडी भनेर कसलाई भन्न खोजेको होला, केही थाहा पाउनुभयो ?’ शीर्षकको उक्त भिडिओमा ९ हजार ३ सयभन्दा बढी रियाक्सन, १ हजार ४ सय कमेन्ट, ९७८ सेयर र ७ लाख ९३ हजारभन्दा बढी भ्युज भइसकेको छ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क

यसबाहेक अन्य थुप्रै फेसबुक पेज तथा एकाउन्टहरूमा पनि सोही भिडिओ क्लिप भाइरल बनाइएको छ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले स्वर्णिम वाग्लेले हालैका दिनहरूमा दिएका सार्वजनिक अभिव्यक्ति तथा सञ्चारमाध्यमका भिडिओहरू अध्ययन गर्‍यौँ। तर उनले पछिल्लो समय बालेन्द्र शाह वा अन्य कसैलाई लक्षित गरी यस्तो शब्द प्रयोग गरेको फेला परेन।

त्यसपछि भाइरल भिडिओमा बोलिएका प्रमुख शब्दहरू (‘स्वर्णिम वाग्ले’, ‘सडकका गजेडी’, ‘आरोप’) प्रयोग गरी युट्युब तथा गुगलमा कि-वर्ड सर्च  गरियो।

खोज्ने क्रममा ‘राइट सञ्चार‘  नामक युट्युब च्यानलमा सन् २०२४ जुलाई १८ मा अपलोड गरिएको भिडिओ फेला पर्‍यो।

‘गजेडी भन्दै मुकुल ढकालमाथि खनिए स्वर्णिम वाग्ले, आरोप प्रमाणित गर्न खुला चुनौती’ शीर्षकमा अपलोड गरिएको उक्त भिडिओमा पत्रकारहरूसँग वाग्लेले बोलेको दृश्य र अहिले भाइरल भइरहेको क्लिप हुबहु मिल्छ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

उक्त युट्युब च्यानलमा अपलोड गरिएको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

सन्दर्भ के थियो?

सन् २०२४ जुलाईमा राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले पार्टी नेतृत्व र स्वर्णिम वाग्लेमाथि विभिन्न आरोप लगाएका थिए। सोही आरोपबारे पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा वाग्लेले ढकालका अभिव्यक्तिहरूलाई लक्षित गर्दै ‘सडकका कानेखुसी’ र ‘वाइयात कुरा’ भन्दै खण्डन गरेका थिए।

अर्थात्, दुई वर्ष पुरानो फरक प्रसङ्गको भिडिओ क्लिप काटेर हालको राजनीतिक घटनाक्रम वा बालेन्द्र शाहसँग जोडी भ्रामक दाबीसहित भाइरल बनाइएको हो।

तथ्य जाँच

दाबी : स्वर्णिम वाग्लेले बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै ‘सडकका गजेडी’ भनेको हालैको भिडिओ।

दाबीकर्ता : ‘जय माटो जय हर्कवाद’, ‘निर्दोष नेपाल’, ‘एचटीभी टेलिभिजन’, ‘रमेश लामा’ लगायतका फेसबुक पेज/अकाउन्टहरू।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडिओ हालैको नभई सन् २०२४ को (दुई वर्ष पुरानो) हो। वाग्लेले तत्कालीन रास्वपा महामन्त्री मुकुल ढकालले लगाएको आरोपको खण्डन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए। पुरानो भिडिओलाई सन्दर्भबाहिर लगेर भ्रामक दाबीका साथ फैलाइएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add