तथ्यजाँच भ्रामक सूचना वागमती

टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई तोकिएको कैदबारे मूलधारका सञ्चारमाध्यमको दाबी भ्रामक


टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई तोकिएको कैदबारे मूलधारका सञ्चारमाध्यमको दाबी भ्रामक

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय निर्धारण भएको भन्दै मूलधारका सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन्। तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा यो दाबी भ्रामक रहेको पुष्टि भएको छ। काठमाडौँ जिल्ला अदालतको फैसला अनुसार रायमाझीलाई एकीकृत रूपमा ४ वर्ष र खाणलाई २ वर्ष मात्र कैद सजाय तोकिएको हो। 

के हो दावी ? 

इकान्तिपुर डटकममा २०८३ साल असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय तोकिएको समाचार प्रकाशित भयो

हेर्नुहोस् इकान्तिपुरको स्क्रिनसट

कान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

सोही दाबी रेडियो कान्तिपुरको आधिकारिक फेसबुक पेज र थाहाखबर डटकममा पनि प्राथमिकताका साथ प्रकाशन गरियो। थाहाखबरको समाचारमा रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै कूल ११ वर्ष कैद तोकिएको उल्लेख छ

हेर्नुहोस् रेडियो कान्तिपुरको स्क्रिनसट

रेडियो कान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

हेर्नुहोस् थाहाखबरको स्क्रिनसट

थाहाखबरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दावीको प्रभाव

इकान्तिपुर, रेडियो कान्तिपुर र थाहाखबर जस्ता मूलधारका स्थापित सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार भएकाले यसलाई सामाजिक सञ्जालमा सर्वसाधारण प्रयोगकर्ताहरूले सत्य ठानी व्यापक रूपमा रियाक्ट, कमेन्ट र सेयर गरिरहेका छन्, जसका कारण भ्रम तीव्र रूपमा फैलिरहेको छ

के हो तथ्य ?

यस दाबीको सत्यता परीक्षणका लागि हामीले काठमाडौँ जिल्ला अदालतले भुटानी शरणार्थी प्रकरणमा गरेको सजाय निर्धारणको आधिकारिक फैसला र कानुनी व्यवस्थाको अध्ययन गर्‍यौँ। अदालतको आधिकारिक विवरण अनुसार दुवै नेतालाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय किटान गरिए पनि ‘एकीकृत सजाय’ को सिद्धान्त अनुसार कैद भुक्तान गर्नुपर्ने देखिन्छ। 

अदालतद्वारा किटान गरिएको सजायको विस्तृत विवरण:

  • टोपबहादुर रायमाझी: ठगीतर्फ २ वर्ष, संगठित अपराधतर्फ ३ वर्ष, राज्यविरुद्धको कसुर (दफा ५१ को ४) बमोजिम १ वर्ष ६ महिना र (दफा ५१ को ७) बमोजिम थप ६ महिना कैद

  • बालकृष्ण खाण: ठगीतर्फ १ वर्ष, संगठित अपराधतर्फ १ वर्ष ६ महिना, राज्यविरुद्धको कसुर (दफा ५१ को ४) बमोजिम ६ महिना र (दफा ५१ को ७) बमोजिम थप ३ महिना कैद

हेर्नुहोस् सजाय विवरण :

 

कानुनी रूपमा कार्यान्वयन हुने सजाय

सञ्चारमाध्यमहरूले सबै कसुरको कैद अवधिलाई गणितीय रूपमा जोडेर ११ वर्ष र ५ वर्ष ३ महिना पुर्‍याएका हुन्। तर, मुलुकी अपराध संहिता २०७४ को दफा ४३ अनुसार कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसुर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसुर गरेको मानिनेछ भने एकीकृत कसुर गर्ने कसुरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुर बापतको सजाय र त्यपछिको अधिकतम सजाय हुने अर्को कसुर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने व्यवस्था छ । 

तसर्थ, रायमाझीको हकमा एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना मात्र तोकिएको हो। खाणको हकमा एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको हो

तसर्थ, काठमाडौँ जिल्ला अदालतको सजाय निर्धारणको फैसलालाई गलत तरिकाले व्याख्या गरी कुल वर्ष जोडिएकाले सञ्चारमाध्यमका समाचार भ्रामक प्रमाणित हुन्छन्

मुलुकी अपराध संहिता २०७४ को पीडीएफ  लिंक यहाँ छ ।

तथ्यजाँच

दावी : टोपबहादुर रायमाझीलाई ११ वर्ष र बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय निर्धारण भएको

दावीकर्ता : इकान्तिपुर डटकम, रेडियो कान्तिपुर, थाहाखबर डटकम

तथ्य :  भ्रामक (Misleading)। अदालतले रायमाझीलाई एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार जरिवाना तथा खाणलाई एकीकृत रूपमा २ वर्ष कैद र २० हजार जरिवाना मात्र तोकेको हो। सबै कसुरको कैद अवधि जोडेर समाचार लेख्नु कानुनी व्यवस्था विपरीत छ


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add