एक्सप्लेनर जलवायु र वातावरण

एक्सप्लेनर : मनसुनी वर्षा कम भए पनि बाढीको जोखिम यथावत्


एक्सप्लेनर : मनसुनी वर्षा कम भए पनि बाढीको जोखिम यथावत्

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन ऋतु (जुन १ देखि सेप्टेम्बर ३० सम्म)मा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी रहने प्रक्षेपण गरेसँगै धेरै नागरिकमा एउटा बुझाइ देखिएको छ – “यसपालि पानी कम पर्ने भएपछि त बाढी–पहिरोको डर हुँदैन, ढुक्क भए हुन्छ ।”

तर, यो बुझाइ भ्रमपूर्ण र मौसम विज्ञानका हिसाबले गलत तथा खतरनाक छ। समग्र मनसुनमा औसत पानी कम पर्नु र बाढीपहिरो जस्ता प्राकृतिक विपद् आउनु फरक कुरा हुन्।

नेपालमा मनसुनको हालको अवस्था
नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

नेपालमा जुन १३ तारिखमा भित्रनुपर्ने मनसुन प्रणाली यो वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो गरी भित्रिएको थियो। मनसुन प्रणाली जुन ३० अर्थात् असार १६ गतेदेखि देशभर फैलिएको थियो र मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भागहरूमा हल्का, मध्यमदेखि भारी मात्रामा वर्षा भइरहेको छ।

भ्रम र यथार्थको विश्लेषण

सर्वसाधारणको बुझाइ (भ्रम) : कम वर्षाको प्रक्षेपण भएकाले बाढी र पहिरोको जोखिम छैन, ढुक्क भए हुन्छ।
मौसम विज्ञानको तथ्य (यथार्थ) : गलत । नेपालमा वर्षभरि हुने कूल वर्षाको झण्डै ८० प्रतिशत पानी यही मनसुनका ४ महिनामा मात्र पर्छ। समग्रमा पानी कम परे पनि विपद् आउन सक्छ।

सर्वसाधारणको बुझाइ (भ्रम) : मनसुन कमजोर हुनु भनेको मौसम शान्त रहनु हो र खतरा हुँदैन ।
मौसम विज्ञानको तथ्य (यथार्थ) : गलत । ‘एल निनो’ का कारण लामो खडेरी पर्ने र त्यसको बीचमा अचानक तीव्र स्थानीय वर्षा भई आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउने खतरा झन् बढी हुन्छ।

‘औसतभन्दा कम वर्षा’को प्रक्षेपणभित्र लुकेको ठूलो विनाशको खतरा : ३ वैज्ञानिक कारण
१. छोटो समयमा हुने ठूलो वर्षा नै पर्याप्त
पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार समग्र ४ महिनामा हुने वर्षा कम हुने भनिए पनि छोटो समयमा हुने ठूलो वर्षाको सम्भावना कायम नै रहन्छ। उनी भन्छन्,

“उदाहरणको लागि काठमाडौँ उपत्यकामा मनसुन अवधिभर जम्मा ११०० मिमी वर्षा हुन्छ। यसपालि १०००–१०५० मिमी मात्रै हुन सक्छ। तर, ठूलो बाढीको लागि १ घण्टामा ३० मिमीको वर्षा नै पर्याप्त हुन्छ। त्यसैले बाढीको जोखिम यथावत् नै रहन्छ।”

२. एल निनोद्वारा सञ्चालित जलवायु विरोधाभास
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा यस वर्ष एक फरक र खतरनाक मौसमी ढाँचा देखिएको छ।

यस वर्षको सङ्कटको मुख्य कारण ‘एल निनो’ हो। यसले दक्षिण एसियाभरि जलाशयहरू भर्ने र कृषिलाई धान्ने समग्र मौसमी वर्षालाई त घटाउँछ, तर यसले वायुमण्डलमा अत्यधिक अस्थिर अवस्था पनि सिर्जना गर्छ।

यसको परिणामस्वरूप नियमित र अनुमान गर्न सकिने वर्षा हुनुको साटो लामो समयसम्म खडेरी पर्ने र त्यसको बीच–बीचमा अचानक कुनै निश्चित ठाउँमा अत्यन्तै भीषण र विनाशकारी वर्षा (क्लाउडबर्स्ट अर्थात् बादल फुट्ने) भई आकस्मिक बाढी (फ्ल्यास फ्लड) र पहिरो जाने क्रम बढेको छ। पाकिस्तान र भारतका विभिन्न हिमाली क्षेत्रमा हालै आएका विनाशकारी बाढी यसकै उदाहरण हुन्।

इसिमोडका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सास्वत सन्याल स्पष्ट पार्छन्,

“मौसमी वर्षा कम हुनु भनेको बाढीको जोखिम पनि कम हुनु हो भन्ने अहिलेको सबैभन्दा ठूलो भ्रम हो । मौसमी पूर्वानुमानले धेरै महिनाको औसत अवस्थालाई देखाउँछ, कुनै एउटा उपत्यकामा के हुन्छ भन्ने कुरा यसले बताउँदैन। एल निनोको प्रभावका कारण लामो समयसम्म रहने खडेरीका बीचमा पनि अचानक स्थानीय रूपमा भीषण आँधीबेहरी आउन सक्छ, जसले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्त्याउँछ।”

३. तापक्रम वृद्धिले निम्त्याएको ‘शृङ्खलाबद्ध विपद्’
यस वर्ष मनसुनमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । यो तापक्रम वृद्धिले सिन्धु, गङ्गा र ब्रह्मपुत्र नदी बेसिनहरूमा जोखिम झनै बढाएको छ ।

बढ्दो गर्मीका कारण हिमनदी र हिउँ द्रुत गतिमा पग्लिरहेका छन्, जसले गर्दा नदीहरूको जलस्तर पहिले नै बढेको छ। यसले पहाडी भिरालो जमिन र हिमतालहरूलाई अस्थिर बनाई ठूलो दुर्घटनाको जोखिम निम्त्याएको छ।

इसिमोडका रिमोट सेन्सिङ विशेषज्ञ शेर मोहम्मद भन्छन्, “अब विपद्हरू छुट्टाछुट्टै नभएर एकैसाथ शृङ्खलाबद्ध रूपमा आउन थालेका छन्।”

भारी वर्षा, हिउँ पग्लने प्रक्रिया, कमजोर भूबनोट र तीव्र गतिमा बढिरहेको नदीको बहाव एकापसमा मिल्दा “शृङ्खलाबद्ध विपद्हरू“ सिर्जना भइरहेका छन्। खडेरीका कारण फुटेको वा कमजोर भएको भिरालो जमिन, अचानक आउने क्षणिक भीषण वर्षाका कारण तुरुन्तै ठूलो पहिरोमा परिणत हुन सक्छ, जसले नदीहरू थुनेर तल्लो तटीय क्षेत्रका बस्तीहरूलाई सोत्तर पार्ने खतरा रहन्छ।

विज्ञको सुझाव : सरकारले एकसाथ तयारी गर्नुपर्छ
विज्ञहरू सरकारले खडेरी, गर्मीको तनाव, अचानक बाढी, पहिरो र हिमनदी–सम्बन्धित जोखिमहरूलाई छुट्टाछुट्टै परिदृश्यको रूपमा हेर्नुको सट्टा एकैसाथ (एकीकृत रूपमा) तयारी गर्नुपर्ने सुझाव दिन्छन् । उनीहरूका अनुसार विशेष गरी नदी किनारमा बसोबास गर्ने बस्तीहरू, भिरालो पहाडी क्षेत्रहरू (जहाँ कमजोर भू–विज्ञान, बढ्दो तापक्रम र विस्तारित पूर्वाधारले जोखिम बढाउन जारी राखेको छ) मा विशेष ध्यान दिन आवश्यक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add