तथ्यजाँच भ्रामक सूचना मधेश

रास्वपा सांसद गणेश पौडेललाई कालो मसी : घटना सही तर भाइरल तस्बिर एआईबाट बनेको


रास्वपा सांसद गणेश पौडेललाई कालो मसी : घटना सही तर भाइरल तस्बिर एआईबाट बनेको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेललाई कालो मसी/कालोमोसो दलिएको भन्दै केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। तर नेपालफ्याक्टचेकको अनुसन्धानबाट रौतहटमा सांसद पौडेलमाथि कालो मसी प्रहार भएको घटना सत्य भए पनि सामाजिक सञ्जालमा भाइरल बनाइएका तस्बिरहरू भने एआईबाट बनाइएको पुष्टि भएको छ।

के हो दाबी ?

२१ लाख फलोअर्स रहेको ‘Dainik’ नामक फेसबुक पेजबाट २०२६ जुलाई २५ (दिउँसो ४:११ बजे) मा एउटा तस्बिर सेयर गर्दै रास्वपा सांसद गणेश पौडेललाई रौतहटमा कालो मसी लगाइएको दाबी गरिएको छ।

हेर्नुहोस् Dainik ले गरेको पोस्टको स्क्रिनसट

दैनिकको ओरिजिनल लिंक यहाँ छ

४२ हजार फलोअर्स रहेको ‘Santosh Rai’ नामक फेसबुक पेजबाट २०२६ जुलाई २४ (बेलुकी ९:४५ बजे) मा उस्तै तस्बिर पोस्ट गर्दै रास्वपा सांसद गणेश न्यौपाने (पौडेल) लाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयले कालोमोसो दलेको दाबी गरिएको छ।

हेर्नुहोस् Santosh Rai (फेसबुक पेज) को स्क्रिनसट

सन्तोष राईको ओरिजिनल लिंक यहाँ छ  ।

दाबीको प्रभाव

  • Dainik फेसबुक पेज: यो सामग्रीमा ३ हजारभन्दा बढी रियाक्सन, ४ सय ३४ कमेन्ट र ८० भन्दा बढी सेयर भइसकेका छन्।

  • Santosh Rai फेसबुक पेज: यो पोस्टमा २ हजार ३ सयभन्दा बढी रियाक्सन, ४ सय ९० कमेन्ट र १९९ सेयर भइसकेका छन्।

  • सामाजिक सञ्जालका अन्य थुप्रै प्रयोगकर्ताहरूले पनि यी तस्बिरहरू व्यापक रूपमा सेयर गरिरहेका छन्। पाठकहरूबाट प्राप्त अनुरोधका आधारमा हामीले यसको तथ्यजाँच गरेका हौँ।

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले सर्वप्रथम रास्वपा सांसदमाथि दुर्व्यवहार वा कालो मसी दलिएको घटनाबारे आधिकारिक खोजी गर्‍यौँ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले २०८३ श्रावण ९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि २०८३ श्रावण ७ गते कालो मसी प्रहार र दुर्व्यवहार भएको घटनाको भर्त्सना गरिएको भेटियो। यसले सांसद पौडेलमाथि मसी प्रहार भएको घटना सत्य रहेको पुष्टि गर्छ। (हेर्नुहोस् मुख्य सचेतक बुर्लाकोटीको विज्ञप्ति )

मुख्य सचेतक बुर्लाकोटीको फेसबुक पोस्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

हामीले सांसद गणेश पौडेलको आधिकारिक फेसबुक प्रोफाइलमा रहेका वास्तविक तस्बिर र भाइरल तस्बिरको तुलनात्मक अध्ययन गर्‍यौँ। भाइरल तस्बिरमा देखिएका व्यक्तिको शारीरिक बनावट र अनुहारको संरचना सांसद पौडेलको वास्तविक रूपसँग मेल खाँदैन।

हेर्नुहोस् तस्बिरको भिन्नता

त्यसपछि हामीले भाइरल तस्बिर एआई जेनेरेटेड हो कि होइन प्राविधिक जाँच गरी हेर्‍यौँ। ओपन एआई टुल्समार्फत् जाँच गरेर हेर्दा भाइरल भइरहेका दुई वटै तस्बिर एआई जेनेरेटेड भएको पुष्टि भयो ।

तथ्यजाँच

दाबी : रास्वपा सांसद गणेश पौडेललाई कालो मोसो दलेको भन्दै भाइरल तस्बिर

दाबीकर्ता : Dainik, Santosh Rai (फेसबुक पेज) लगायत अरु सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : भ्रामक(Misleading)। रौतहट ४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार भएको घटना सत्य भए पनि सामाजिक सञ्जालमा भाइरल बनाइएका तस्बिरहरू भने वास्तविक होइनन्। घटनालाई जोडेर एआई प्रविधिबाट बनाइएका नक्कली तस्बिरहरू फैलाइएकाले उक्त पोस्टहरू भ्रामक ठहर्छन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add