- टेकमान शाक्य
- असार ३०, २०८३

हर्क साम्पाङलाई ‘हत्यारा’ भन्दै प्रदर्शन गरिएको भनिएको भाइरल भिडियो एआई जेनेरेटेड
प्रधानमन्त्री बालेन शाहविरुद्ध भएको एउटा वास्तविक विरोध प्रदर्शनको भिडियोलाई आधुनिक प्रविधिको दुरुपयोग गरी प्रतिनिधि सभा सदस्य हर्क साम्पाङविरुद्ध लक्षित गरिएको पाइएको छ। सामाजिक सञ्जालमा ‘गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो’ भन्ने प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको दावीसहित भाइरल बनेको १२ सेकेन्डको फेसबुक रिल्स एआईबाट बनाइएको नेपालफ्याक्टचेकको तथ्य जाँचबाट पुष्टि भएको छ।
के हो दावी ?
फेसबुक प्रयोगकर्ता ‘Joon Rae’ ले सन् २०२६ को जुलाई १३ मा (दिउँसो ४:५६ बजे) १२ सेकेन्डको एउटा रिल्स पोस्ट गरेका छन्। उक्त रिल्समा एकजना युवतीले ‘गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो’ भनी लेखिएको प्लेकार्ड बोकेर उभिएको देखिन्छ भने उनको पछाडि अरू मानिसहरूको भिड देखिन्छ।
हेर्नुहोस् Joon Rae को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
यो तथ्य जाँच तयार पार्दासम्म उक्त रिल्स सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइसकेको छ। यसलाई ११ लाखभन्दा बढी पटक हेरिएको छ। भिडियोमा ३२ हजार लाइक, ५ हजार ४ सय कमेन्ट र १ हजार ४ सय सेयर भइसकेको छ।
कमेन्ट सेक्सनको विश्लेषण गर्दा, डिजिटल प्रविधिको यो हेरफेरलाई वास्तविक ठानेर अधिकांश प्रयोगकर्ताहरूले प्लेकार्ड बोक्ने युवतीमाथि आक्रोश पोख्दै गालीगलौज गरिरहेको देखिन्छ। नेपालफ्याक्टचेकलाई पनि यसको तथ्य जाँचका लागि अनुरोध प्राप्त भएको थियो।
के हो तथ्य ?
यस सामग्रीको तथ्य जाँच गर्ने क्रममा हामीले फेला पारेका तथ्य यस्ता छन्-
१) गुगलमा रिभर्स इमेज सर्च
हामीले भाइरल भिडियोबाट मुख्य फ्रेम (Keyframe) निकाली गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। खोजका क्रममा, जुलाई १० मा ‘रंगिन टिभी’ नामक फेसबुक पेजमा पोस्ट भएको ७ सेकेन्डको एउटा भिडिओ क्लिप फेला पर्यो। उक्त वास्तविक भिडिओमा ती युवतीले बोकेको प्लेकार्डमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लेखिएको स्पष्ट देखिन्छ।

रंगिन टिभीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२) सञ्चारमाध्यम र फोटो पत्रकारको प्रमाण
यस प्रदर्शनको थप स्वतन्त्र पुष्टिका लागि खोज्दा, न्यूज पोर्टल देशसञ्चार डटकममा असार २६ (२०८३ साल) मा प्रकाशित एउटा फोटोफिचर फेला पर्यो।
फोटो पत्रकार वर्षा शाहले खिचेको उक्त तस्बिरमा पनि प्लेकार्डमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ नै लेखिएको छ। उक्त समाचारका अनुसार यो विरोध प्रदर्शन ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ को नेवा ब्यूरोको आयोजनामा काठमाडौँमा भएको थियो।

देशसञ्चारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
३) सम्बन्धित दलको आधिकारिक प्रतिक्रिया
प्रदर्शनका आयोजक ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’ का नेता जागृत रायमाझीसँग हामीले प्रत्यक्ष सम्पर्क गर्यौँ। नेपालफ्याक्टचेकसँग कुरा गर्दै नेता रायमाझीले भाइरल रिल्समा गरिएको दाबी पूर्णतः भ्रामक र झुटो रहेको बताए।
उनले भने, “त्यो प्लेकार्डमा लेखिएको अक्षर मैले नै लेखेको हुँ। प्लेकार्डमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ भनी लेखिएको थियो, हर्क साम्पाङको नाम त्यहाँ कहीँ कतै थिएन।”
४) गुगल सिन्थआईडी (SynthID) प्राविधिक परीक्षण
अक्षर र दृश्यमा गरिएको हेरफेरलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न हामीले भिडियोलाई गुगलको SynthID टुल मार्फत प्राविधिक जाँच गर्यौँ। सिन्थआईडी (एआई जेनेरेटेड सामग्री पहिचान गर्ने डिजिटल वाटरमार्क प्रविधि) परीक्षण गर्दा उक्त भिडियोको दृश्य र अक्षरहरू गुगल एआईको प्रयोग गरी डिजिटल रूपमा सम्पादन (Manipulate) गरिएको प्राविधिक वाटरमार्क फेला पर्यो।
हेर्नुहोस् गुगलको सिन्थआईडिमार्फत गरिएको जाँचको नतिजा

तथ्यजाँच
दावी: ‘गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो’ लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन
दावीकर्ता : Joon Rae नाम गरेका फेसबुक प्रयोगकर्ता
तथ्यजाँच : भ्रामक (misleading) । प्लेकार्डमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लेखिएको ठाउँमा ‘गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो’ उल्लेख गरेर गुगल एआईमार्फत १२ सेकेन्डको रिल्स बनाएर भ्रम फैलाएको सम्बन्धित दल, मिडियाका तस्बिर र प्राविधिक परीक्षणबाट पुष्टि हुन्छ।