भ्रामक सूचना तथ्यजाँच वागमती

गृहमन्त्री सुधन गुरुङले पद छाड्न तयार रहेको भन्दै दिएको अभिव्यक्ति हालैको होइन, भिडियो भ्रामक


गृहमन्त्री सुधन गुरुङले पद छाड्न तयार रहेको भन्दै दिएको अभिव्यक्ति हालैको होइन, भिडियो भ्रामक

गृहमन्त्री सुधन गुरुङले आफ्नो पद र जिम्मेवारी कसैलाई लिन मन भए लिन चुनौती दिँदै सम्बोधन गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार उक्त भिडियो हालैको नभई गत वर्ष (भाद्र २३ र २४ गते)को आन्दोलनपछि बनेको नयाँ सरकारसहित शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा रेकर्ड गरिएको पुष्टि भएको छ।

के हो दाबी ?
२ लाख ४३ हजार फलोअर्स रहेको ‘जनता टाइम्स’ नामक फेसबुक पेजमा बुधबार दिउँसो एउटा भिडियो पोस्ट भयो । उक्त भिडियोमा गृहमन्त्री सुधन गुरुङले आफ्नो पद र जिम्मेवारी लिन अरूलाई आह्वान गरेको देखिन्छ।

भिडियोमा उनले भनेका छन्,

“बरु कसलाई मेरो पोजिसन लिन मन छ ? अहिलेको यो रेस्पन्सिबिलिटी कसलाई लिन मन छ ? प्लिज, तपाईँहरूलाई मन छ भने, मोर देन ह्याप्पी टु गिभ इट । एनीवन तपाईँहरूलाई कसैलाई मन छ भने, प्लिज मेरो पोजिसन पनि लिइदिनु होला हैन । म एउटा आम जनता बनेर बस्न चाहिरा थिए ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडियोमा १,४०० भन्दा बढी रियाक्सन, ६९४ कमेन्ट र ७१ पटक सेयर भइसकेको थियो भने भिडियो ७५ हजारभन्दा बढी पटक हेरिएको थियो।

हेर्नुहोस् स्क्रिन रेकर्ड :

उक्त भिडियोको अर्काइभ लिङ्क

(यद्यपि, यो तथ्य जाँच तयार पार्दासम्म भिडियो सो पेजबाट हटाइसकिएको छ।)

यस्तै, १ लाख ९८ हजार फलोअर्स रहेको ‘अनलाइन पत्रिका’ नामक फेसबुक पेजमा पनि बुधबार दिउँसो गृहमन्त्री सुधन गुरुङको सोही १५ मिनेटको भिडियो अपलोड गरिएको छ ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडियोमा ३०० भन्दा बढी रियाक्सन र ९८ कमेन्ट रहेको छ भने भिडियो २४ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस् स्क्रिन रेकर्ड :

भिडियो लिङ्क तथा अर्काइभ लिङ्क

के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा गृहमन्त्री सुधन गुरुङका हालैका अभिव्यक्ति तथा भिडियो सन्देशहरू हेर्‍यौ, तर भाइरल भिडियोसँग मिल्दो कुनै पनि हालैको अभिव्यक्ति फेला परेन ।

त्यसपछि हामीले उनको आधिकारिक सामाजिक सञ्जाल हेर्दा सन् २०२५ सेप्टेम्बर २० मा फेसबुकमा “राष्ट्रपति कार्यक्रमको अपडेट” शीर्षकमा उनले पोस्ट गरेको ९ मिनेट ४९ सेकेन्डको भिडियो फेला पार्‍यौँ ।

‘हामी नेपाल’का संयोजकसमेत रहेका गुरुङले जेन-जी आन्दोलनपछि शीतल निवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सहभागिताबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

उक्त भिडियो पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्

तसर्थ, उक्त भिडियो रेकर्ड हुँदा गुरुङ गृहमन्त्री वा कुनै पनि सरकारी पदमा थिएनन्। जेन-जी आन्दोलनपछिको परिस्थितिमा बनेको भिडियोलाई अहिलेको घटनाक्रमसँग जोडेर भ्रामक रूपमा भाइरल बनाइएको हो।

तथ्य जाँच
दाबी : गृहमन्त्री सुधन गुरुङले हालै आफ्नो पद र जिम्मेवारी छाड्न तयार रहेको भन्दै अभिव्यक्ति दिएको भाइरल भिडियो ।

दाबीकर्ता : जनता टाइम्स नामक फेसबुक पेज ।

तथ्य : भ्रामक (Misleading) । गृहमन्त्री सुधन गुरुङले हालैका दिनहरूमा यस्तो अभिव्यक्ति दिएका छैनन्। भाइरल भिडियो उनी मन्त्री हुनुभन्दा अघि (गत वर्षको असोज महिना)को हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add