एआई जेनेरेटेड जलवायु र वातावरण तथ्यजाँच मिथ्या सूचना लुम्बिनी

अर्घाखाँचीको सुपा देउराली मन्दिर डुबानमा परेको भन्दै भाइरल फोटो ‘एआई निर्मित’


अर्घाखाँचीको सुपा देउराली मन्दिर डुबानमा परेको भन्दै भाइरल फोटो ‘एआई निर्मित’

फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर डुबानमा परेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचबाट उक्त तस्बिर वास्तविक नभई एआई प्रविधि प्रयोग गरेर बनाइएको पुष्टि भएको छ।

के हो दाबी ?
फेसबुकमा ९ हजार ९ सयभन्दा बढी फलोअर्स भएका प्रयोगकर्ता ज्ञवाली माधव (माधव ज्ञवाली) ले ८ लाख ३८ हजारभन्दा बढी सदस्य रहेको ‘अनलाइन न्युज नेपाल’ नामक फेसबुक ग्रुपमा बुधबार (जुलाई ८) राती ९:५८ बजे एउटा फोटो सेयर गरे । जसमा अर्घाखाँची जिल्लास्थित प्रसिद्ध सुपा देउराली मन्दिर डुबानमा परेको देखिन्छ ।

उनले क्याप्सनमा लेखेका छन्:

“आज राती भारी मात्रामा वर्षाको कारण सुपा देउरालीमा यस्तो अवस्था भएको छ, यो रियल होला र ?”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा २ सय ८३ भन्दा बढी लाइक, ६ वटा कमेन्ट र १ पटक सेयर गरिएको थियो।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

सोही फोटोलाई अमित क्षेत्री नामक फेसबुक प्रयोगकर्ताले पनि बुधबार (जुलाई ८) बिहान ६:१६ बजे अपलोड गरेका थिए । “आज राती भारी मात्रामा वर्षाको कारण सुपा देउरालीमा यस्तो अवस्था भएको छ” भन्ने शीर्षकसहित अपलोड गरिएको उक्त फोटोमा हामीले तथ्य जाँच गर्दासम्म १० हजार ५ सयभन्दा बढी लाइक, सयौं कमेन्ट र ५८ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

साथै, विकास ताङ्नामी नामक अर्का फेसबुक प्रयोगकर्ताले पनि सोही फोटो फेसबुकमा अपलोड गरेका छन्।

उक्त फोटोको लिङ्कअर्काइभ लिङ्क

सामाजिक सञ्जालमा यो तस्बिरले छोटो समयमै ठूलो संख्यामा प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ। अमित क्षेत्रीको पोस्टमा मात्रै १० हजार ५ सयभन्दा बढी लाइक र सयौं कमेन्ट आइसकेका छन् भने विभिन्न ग्रुपहरूमा यसलाई वास्तविक घटना ठानेर सेयर र चिन्ता व्यक्त गर्ने क्रम जारी छ।

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा सुपा देउराली मन्दिर डुबानमा परेको सम्बन्धी समाचारहरू खोज्यौँ। तर, कुनै पनि स्थापित सञ्चारमाध्यम र आधिकारिक निकायले सुपा देउराली मन्दिर डुबानमा परेको उल्लेख गरेका छैनन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो केही दिनयता अर्घाखाँची लगायत देशका विभिन्न ठाउँमा वर्षा भने भएको छ। पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा ८६ दशमलव २ मिलिमिटरसम्म वर्षा भएको मौसम विभागको वेबसाइटमा उल्लेख छ। तर, यो वर्षाले मन्दिर क्षेत्रमा डुबान भएको कुनै आधिकारिक रेकर्ड छैन।

यस विषयमा थप स्पष्ट हुन हामीले अर्घाखाँचीका स्थानीय पत्रकार प्रेमनारायण आचार्यसँग सम्पर्क गर्‍यौँ। नेपालफ्याक्टचेकसँगको कुराकानीमा उनले अर्घाखाँचीका केही ठाउँमा वर्षा भए पनि सुपा देउराली मन्दिर डुबानमा परेको कुरा पूर्णतः सत्य नभएको र भाइरल फोटो ‘फेक’ (नक्कली) भएको जानकारी दिए।

भौगोलिक रूपमा महाभारत पर्वत शृङ्खला अन्तर्गत पहाडको खोँचमा रहेको सुपा देउराली मन्दिर समुद्री सतहदेखि करिब ४,५०० फिटको उचाइमा अवस्थित छ। यस्तो उचाइ र भिरालो भौगोलिक बनावट भएको ठाउँमा प्राकृतिक रूपमा यसरी पानी जमेर डुबान हुनु असम्भव जस्तै मानिन्छ। गुगल अर्थबाट मन्दिर आसपासको भौगोलिक अवस्थिति हेर्दा पनि यो क्षेत्र खोँच र भिरालो पहाडी इलाकामा रहेको प्रष्ट देखिन्छ।

हेर्नुहोस्, गुगल अर्थबाट लिइएको सुपा देउराली मन्दिर आसपासको दृश्य :

प्राविधिक विश्लेषण 

भाइरल फोटो अस्वाभाविक र कृत्रिम देखिएपछि हामीले त्यसको प्राविधिक जाँचका लागि एआई फोटो पहिचान गर्ने टुल ‘ओपनएआई भेरिफाइ’  को प्रयोग गर्‍यौँ।

यो टुलले फोटोमा रहेका C2PA मेटाडाटा र सिन्थआईडी जस्ता डिजिटल वाटरमार्क वा प्राविधिक सङ्केतहरूको विश्लेषण गर्दछ। उक्त टुलको प्राविधिक विश्लेषणले सामाजिक सञ्जालमा भाइरल बनेको सुपा देउराली मन्दिर डुबानको फोटो शतप्रतिशत एआई निर्मित भएको नतिजा देखाएको छ। तस्बिरमा पानीको बहाव, मन्दिरको संरचना र मानिसहरूको आकृतिमा एआईले सिर्जना गर्ने विशिष्ट प्राविधिक त्रुटिहरू स्पष्ट देखिन्छन्।

हेर्नुहोस्, स्क्रिनसट :

तथ्य जाँच/निष्कर्ष
दाबी : अर्घाखाँचीस्थित सुपा देउराली मन्दिर भारी वर्षाका कारण डुबानमा परेको।

दाबीकर्ता : माधव ज्ञवाली, अमित क्षेत्री र विकास ताङ्नामी लगायतका फेसबुक प्रयोगकर्ता।

तथ्य : मिथ्या (False)/एआई जेनेरेटेड ( AI Generated)। अर्घाखाँचीस्थित सुपा देउराली मन्दिर डुबानमा परेको भन्दै भाइरल भएको तस्वीर वास्तविक नभई एआई प्रविधि प्रयोग गरेर बनाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ। भौगोलिक बनावट र स्थानीय स्रोतका अनुसार पनि उक्त क्षेत्रमा डुबान भएको छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add