- टेकमान शाक्य
- असार १७, २०८३

टिकटकमा भेनेजुएलाको भन्दै भाइरल भूकम्पको भिडिओ नेपालको
सामाजिक सञ्जाल टिकटकमा भेनेजुएलाको ठूलो भूकम्प भन्दै एउटा भिडिओ क्लिप व्यापक सेयर भइरहेको छ। तर नेपालफ्याक्टचेकको तथ्यजाँचका क्रममा उक्त भिडिओ १० वर्षअघि अर्थात् २०७२ साल वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पकै समयको सीसीटीभी फुटेज भएको पुष्टि भएको छ।
के हो दावी ?
टिकटक प्रयोगकर्ता @dashisardar ले सन् २०२६ जुन २५ मा १५ सेकेन्डको एक भिडिओ क्लिप पोस्ट गरेका छन्। उक्त भिडिओमा भेनेजुएलामा ७.१ र ७.५ रेक्टर स्केलको भूकम्प गएको दाबी गरिएको छ, जसमा भूकम्पको कडा धक्काका कारण सडकमा गुडिरहेका सवारी साधन र मानिसहरू अनियन्त्रित भई भागभाग गरिरहेको देखिन्छ।
हेर्नुहोस् टिकटक ह्यान्डल @dashisardar को स्क्रिनसट

यसको प्रभाव
यो तथ्यजाँच तयार पार्दासम्म उक्त भिडिओलाई टिकटकमा १९ लाख (१.९ मिलियन) पटक हेरिएको छ। यसमा ४१ हजारभन्दा बढीले प्रतिक्रिया (रियाक्ट) दिएका छन् भने ३०२ वटा कमेन्ट र ८१७ सेयर भइसकेको छ।
कमेन्ट बक्समा धेरै प्रयोगकर्ताले यो दाबीलाई साँचो मानेर विश्वास गरिरहेका छन् भने कतिपयले यसको आधिकारिकतामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा व्यापक भाइरल बनेपछि हामीलाई पनि यस विषयमा तथ्यजाँचका लागि पाठकहरूबाट अनुरोध प्राप्त भएको थियो
ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
भिडिओको सत्यता पहिचान गर्न हामीले उक्त क्लिपबाट केही महङ्त्वपूर्ण फ्रेम (तस्बिर) निकाली गुगल रिभर्स इमेज सर्च मार्फत खोजी गर्यौँ। यस क्रममा सन् २०१८ मे १७ मा ‘Khoj Sangrah’ नामक युट्युब च्यानलमा अपलोड गरिएको ३ मिनेट १६ सेकेन्ड लामो एउटा भिडिओ फेला पर्यो। भाइरल भिडिओ त्यही युट्युब भिडिओको छोटो अंश भएको स्पष्ट देखिन्छ।
उक्त युट्युब भिडिओको सीसीटीभी फुटेजको माथिल्लो कुनामा मिति र समय प्रष्ट देखिन्छ। त्यहाँ ‘2015-04-25’ अर्थात् २०७२ साल वैशाख १२ गते दिउँसो ११:५१ देखि ११:५५ सम्मको समय कैद भएको छ। उक्त भिडिओको शीर्षकमा पनि यो सन् २०१५ को नेपाल भूकम्पको फुटेज भएको उल्लेख छ।
थप प्राविधिक र दृश्य विश्लेषण गर्दा निम्न प्रमाणहरू फेला परे:
-
सवारी साधन र रुट: भिडिओमा देखिएको एउटा बसमा स्पष्ट रूपमा ‘चुनिदेवी यातायात’ लेखिएको छ र त्यसको तल्लो भागमा ‘भैंसेपाटी’, ‘दुल्लु’, ‘एकान्तकुना’, ‘रत्नपार्क’ रुट उल्लेख छ।
-
अर्को बसको विवरण: फुटेजमा देखिएको अर्को बसमा पनि ‘ललितपुर यातायात’ लेखिएको प्रष्ट बुझिन्छ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

भिडिओमै हामीले अर्को बस देखिने फ्रेमलाई पनि नियाल्यौँ । जहाँ ‘ललितपुर यातायात’ लेखिएको छ ।

Khoj Sangrah को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दृश्यहरूको थप भौगोलिक अध्ययन गर्दा यो सडक काठमाडौँको रत्नपार्कदेखि ललितपुरको भैंसेपाटी जोड्ने रुटको भएको देखिन्छ।
थप स्वतन्त्र पुष्टिका लागि हामीले ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनलाई उक्त भिडिओको फ्रेम पठाएर सम्पर्क गर्यौँ। नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले यो ललितपुरकै भूगोल भएको पुष्टि गरे। उनले भने, “यो ठाउँ भैंसेपाटी जाने बाटोमा नख्खु पुल नपुग्दैको सडक खण्ड हो।”
तथ्यजाँच
दावी : भेनेजुयलामा भूकम्पको धक्का दावीसहितको भिडिओ
दावीकर्ता : @dashisardar टिकटक ह्यान्डल
तथ्यजाँच : भ्रामक (Misleading) । २०७२ साल वैशाख १२ (२५ अप्रिल २०१५) मा नेपालमा आएको विनाशकारी भूकम्पको बेला ललितपुरको नख्खु क्षेत्रमा कैद भएको सीसीटीभी फुटेजलाई अहिले भेनेजुएलाको भूकम्प भन्दै गलत सन्दर्भमा फैलाइएको छ।