- सुरज घिमिरे
- भदौ १५, २०८३

‘बाढीपहिरोलाई जितेर आएका योद्धा’ भन्दै भाइरल बालकको भिडिओ धान दिवसको
अहिले सामाजिक सञ्जालमा भोटेकोशी बाढीलाई लक्षित गर्दै ‘बाढीपहिरोलाई जितेर आएका एक योद्धा, जसले आफन्त गुमाएका छन्’ भन्दै एउटा बालकको भिडिओ भाइरल बनेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचबाट उक्त भिडिओ धान रोपाइँका क्रममा खिचिएको पुरानो भिडिओ भएको र रसुवा भोटेकोशी बाढीसँग यसको कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ ।
नोट:यो तथ्यजाँचमा बालबालिकासम्बन्धी भिडिओ भएकाले हामीले भिडिओका लिङ्कहरू प्रयोग गरेका छैनौँ। सम्बन्धित लिङ्कहरू सुरक्षित भने राखेका छौँ। कुन भिडिओको तथ्यजाँच गरिएको हो भन्ने सामान्य जानकारी दिन बालकको अनुहार नदेखिने एउटा तस्बिर प्रयोग गरेका छौँ।
के हो दाबी ?
राजकुमार बिसी नामक फेसबुक प्रयोगकर्ताले गत शुक्रबार (अगस्ट २८) मा एउटा बालकको भिडिओ अपलोड गरे । हालै भोटेकोशीमा आएको भयानक बाढीलाई लक्षित गर्दै ‘बाढीपहिरोलाई जितेर आएका एक योद्धा हुन्, जहाँ आफन्त गुमाएका छन्’ भन्ने क्याप्सनसहित राखिएको २२ सेकेन्डको उक्त भिडिओमा हिलोले लतपतिएका बालक र एक महिलाबीचको कुराकानी सुनिन्छ ।
भिडिओमा भएको कुराकानी :
महिला : नबिन, हामी अब कहाँ जाने भन्नु त ?
बालक : हात, मुख, खुट्टा धुन ।
महिला : नधोए नि हुन्छ आज, अब यत्तिकै जाम के ! होस्टेल यत्तिकै जाने हस ?
बालक : हुन्न ।
महिला : हुन्छ ?
बालक : अब के गर्ने ?
महिला : अब यत्तिकै जाने, यत्तिकै खाजा खाने, हुन्छ ?
बालक : हुन्न ।
महिला : हुन्छ के, हुन्छ ।
बालक : अनि, किन धान रोप्न नजाने त ?
महिला : नजाने, अब यतिकै हिलो भए पनि… यतिकै हिलो भए पनि जाम के अब खाजा खान’
हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडिओमा ४५ हजार ८ सयभन्दा बढी रियाक्सन, ४ सय ७० कमेन्ट र ५ सय ४४ पटक सेयर भएको छ भने भिडिओ ७ लाख ८३ हजारभन्दा बढी पटक हेरिएको छ।

यसैगरी, ‘नेपाल क्रोनिकल्स’ नामक टिकटक एकाउन्टमा पनि अगस्ट २९ (गत शनिबार) सोही भिडिओ अपलोड गरिएको छ । ‘हिलोले शरीर ढाक्यो, तर उसको साहस अझै चम्किरहेको छ’ शीर्षकमा अपलोड गरिएको ३९ सेकेन्डको भिडिओको २२ सेकेन्डपछि ती महिला र बालकबीच ‘गाडीमा चढेर जाने’ र ‘हिलो भएकाले अंकलले गाडीमा नचढाउने’ विषयमा कुराकानी भएको सुनिन्छ ।
तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा ७८ हजार दुई सयभन्दा बढी लाइक, ४ सय ६४ कमेन्ट र ८ लाखभन्दा बढी पटक हेरिएको छ ।
के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सुरुमा उक्त भिडिओलाई सुक्ष्म तरिकाले अध्ययन गरेर हेरौं।भिडिओमा हिलोले लतपतिएका बालक र महिलाबीच कुराकानी भइरहेको सुनिन्छ। भिडिओको करिब १७ सेकेन्डमा बालकले ‘अनि, किन धान रोप्न नजाने त ?’ भनेको सुनिन्छ।कुराकानीकै क्रममा ‘धान रोप्न’ को प्रसङ्ग आएको सुनेपछि उक्त भिडिओ हालैको भोटेकोशी बाढीसँग सम्बन्धित नरहेको आशङ्का भयो।
त्यसपछि थप पुष्टिका लागि भिडिओबाट की-फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ। सर्चका क्रममा उक्त भिडिओ दुई महिनाअघि (गत असार १५ अर्थात् २९ जुन २०२६) ‘सुष्मा’ नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको पाइयो ।अहिले भाइरल भइरहेको भिडिओ क्लिप र ‘सुष्मा’ नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको मूल भिडियो मिल्छ। भाइरल बनाइएको भिडिओमा उक्त मूल भिडिओको सुरुवाती २२ सेकेन्डको अंश मात्र काटेर फैलाइएको पाइएको छ। मूल भिडिओ भने १ मिनेट ३ सेकेन्ड लामो रहेको देखिन्छ।
यस्तै, ‘सुष्मा’ नामक टिकटक एकाउन्टमा सोही बालकको अर्को भिडिओ पनि अपलोड गरिएको छ । उक्त भिडिओमा ती बालकले आफ्नो असार १५ मा धान रोप्न जाँदाको भिडिओलाई बाढीसँग जोडेर भ्रामक रूपमा फैलाइएको स्पष्ट पार्दै भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले आफू सकुशल रहेको बताउँदै सबैलाई सुरक्षित रहन समेत अपिल गरेका छन् ।
यसरी ती बालकको धान रोपाइँका क्रममा खिचिएको पुरानो भिडिओलाई हालको बाढीको घटनासँग जोडेर भ्रामक रूपमा फैलाइएको पुष्टि हुन्छ ।
तथ्यजाँच
दाबी : ‘बाढीपहिरोलाई जितेर आएका एक योद्धा, जसले आफन्त गुमाएका छन्’ भन्दै भाइरल बनाइएको भिडिओ ।
दाबीकर्ता : राजकुमार बिसी (फेसबुक प्रयोगकर्ता) र नेपाल क्रोनिकल्स (टिकटक एकाउन्ट) ।
तथ्य : भ्रामक (Misleading) ।एक बालकको असार १५ (धान दिवस) मा धान रोपाइँका क्रममा खिचिएको पुरानो भिडिओलाई हालैको बाढीपहिरोसँग जोडेर भ्रामक रूपमा सेयर गरिएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।