- टेकमान शाक्य
- साउन २०, २०८३

सुनसरी घटनाले देश रोइरहेको समयमा विपक्षी सांसद संसद् बैठकमा हाँसेको दाबी भ्रामक
सुनसरी घटनाका कारण देश रोइरहेको समयमा संसद् बैठकमा विपक्षी सांसदहरू हाँसेको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा यो दाबी भ्रामक पुष्टि भएको छ ।
के हो दाबी ?
aandhikholaonline टिकटक ह्यान्डलबाट सन् २०२६ को जुलाई १ को दिन एउटा भिडिओ सार्वजनिक भएको छ । भिडिओमा प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरु बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाउने क्रममा हाँसेको देखिन्छ ।
हेर्नुहोस् aandhikholaonline टिकटक ह्यान्डलको स्कृनसट

टिकटक पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यही दाबीसहितको भिडियो Maan Karki नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि अगस्ट १ मा सार्वजनिक गरेका छन्।भिडिओमा देश रोइरहेको समयमा प्रतिपक्षी सांसदहरुको खुसी छताछुल्ल भइरहेको दाबी गरिएको छ ।
हेर्नुहोस् Maan Karki को स्कृनसट

मन कार्कीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
- aandhikholaonline (Tiktok) : टिकटक प्रयोगकर्ता aandhikholaonline ले सार्वजनिक गरेको भिडिओलाई २१ हजार पटक हेरिएको छ भने १ हजार २ सयभन्दा धेरै पटक रियाक्ट भएको छ । २ सय ५० पटक कमेन्ट गरिएको छ ।
- Maan Karki (Facebook) : फेसबुक प्रयोगकर्ता Maan Karki ले सार्वजनिक गरेको भिडिओमा १ हजार ३ सय पटक रियाक्ट भएको छ भने ४ सय ७७ पटक कमेन्ट र ४ सय ३१ पटक सेयर भएको छ । भिडिओलाई ४६ हजार पटक हेरिएको छ ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले भिडियोबाट केही की-फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ।गुगलमा रिभर्स इमेज सर्च गर्ने क्रममा उक्त भिडिओ सन् २०२६ को जुलाई ३० (२०८३ साउन १४) गतेको प्रतिनिधिसभा बैठकको रहेको भेटियो । साउन १४ गतेको प्रतिनिधिसभा बैठकको सुरुमा सभामुख डीपी अर्यालले बैठक सुरु गर्न खोज्ने बित्तिकै विपक्षी सांसदहरु हाँस्दै उठेर विरोध जनाउँछन् ।
हेर्नुहोस् संसद बैठकको स्कृन रेकर्ड
संसदको ओरिजिनल लिंक यहाँ छ ।
सांसदहरुको अवरोधपछि सभामुख अर्यालले सांसद बासना थापालाई बोल्ने समय दिन्छन् । त्यसपछि बोल्न सुरु गरेकी सांसद थापाले सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जवाफ माग गर्दै हरेक दिन संसद बैठकमा हाँसोको विषय बन्न थालेको भनेर आफ्नो भनाई सुरु गर्छिन् ।
यसबाट के स्पष्ट हुन्छ भने लामो समयदेखि सीमाबारे सांसदहरुले उठेर प्रधानमन्त्रीको जवाफ माग्ने निरन्तरता स्वरुप १४ गतेको बैठकमा पनि त्यहि भएको हो । लामो समयदेखि प्रधानमन्त्रीले जवाफ दिन नआएपछि सांसदहरु हाँस्दै उठेर विरोध जनाएका थिए ।
त्यसपछि हामीले १४ गतेभन्दा अघिका बैठकहरुमा के भएको थियो भनेर अध्ययन गर्यौँ। त्यसक्रममा असार ३१ गतेको बैठकमा पनि विपक्षी सांसदहरूले बैठक सुरु हुनेबित्तिकै उठेर प्रधानमन्त्रीसँग जवाफ माग्दै विरोध जनाएको भेटियो। असार ३१ गतेको बैठकको लिंक यहाँ छ ।
त्यस्तै,असार ३० गतेको बैठक, असार २६ गतेको बैठक, असार २५ गतेको बैठक, असार २४ गतेको बैठकमा पनि विपक्षी सांसदहरूले यही विषयमा निरन्तर विरोध गर्दै प्रधानमन्त्रीसँग जवाफ मागेको देखिन्छ।। यसरी बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी सांसदहरुले निरन्तर उठेर विरोध जनाउँदै आएका छन् । यहि निरन्तरता स्वरुप साउन १४ गतेको बैठकमा पनि सांसदहरु उठेर विरोध गरेको देखिन्छ ।
तथ्यजाँच
दाबी : सुनसरी घटनाले देश रोइरहेको समयमा विपक्षी सांसद संसद बैठकमा हाँसेको
दाबीकर्ता : aandhikholaonline (Tiktok) र Maan Karki (Facebook) लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य : भ्रामक (Misleading) : भाइरल भिडियो सुनसरी घटनासँग सम्बन्धित होइन। उक्त भिडियो सन् २०२६ जुलाई ३० (२०८३ साउन १४) को प्रतिनिधिसभा बैठकको हो।सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्दै विपक्षी सांसदहरूले लामो समयदेखि निरन्तर विरोध गर्दै आएका छन्। सोही विरोधका क्रममा सांसदहरू हाँसेको दृश्यलाई सुनसरी घटनासँग जोडेर सामाजिक सञ्जालमा भ्रामक रूपमा प्रस्तुत गरिएको हो।