- सुरज घिमिरे
- साउन १९, २०८३

कैलालीमा ‘बालकलाई अन्त्येष्टिका लागि लैजाँदा जीवित भेटिएको’ होइन, भाइरल भिडियो भ्रामक
कैलालीमा मृत घोषणा गरिएका एक बालकलाई अन्त्येष्टिका लागि खोलामा पुर्याइएपछि उनी जीवितै रहेको खुलेको दाबीसहित सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको अनुसन्धानले खोलामा पौडी खेल्ने क्रममा डुबेका बालकलाई उद्धार गर्दाको दृश्यलाई बङ्ग्याएर भ्रामक खबर फैलाइएको पुष्टि भएको छ।
के हो दाबी ?
दुई लाख ५ हजार फलोअर्स रहेको ‘मेचीकाली खबर दाङ’ नामक फेसबुक पेजमा सोमबार साँझ एउटा भिडियो अपलोड गरियो । “मृत घोषणा गरिएका बालक अन्त्येष्टिका लागि लैजाँदा जीवित भेटिए” शीर्षक दिइएको सो भिडियोमा भनिएको छ,
“दर्शकवृन्द, कैलालीमा मेडिकल संस्थाले मृत घोषणा गरेका एक बालक अन्त्येष्टिका लागि लैजाँदै गर्दा जीवितै भेटिएपछि सनसनी फैलिएको छ । प्रारम्भिक जानकारी अनुसार उपचारका क्रममा मेडिकलले बालकलाई मृत घोषणा गरेको थियो । परिवारले अन्त्येष्टिको तयारी गर्दै खोलातर्फ लगेका बेला बालकमा जीवनको संकेत देखिएपछि तत्काल उद्धार गरी उपचारका लागि लगिएको बताइएको छ । घटनापछि सम्बन्धित मेडिकल संस्थाको लापरवाहीमाथि प्रश्न उठेको छ … “
भिडियोमा प्रहरी र स्थानीयले एक बालकलाई काँधमा बोकेर लैजाँदै गरेको दृश्य देखिन्छ ।
यो सामग्री तयार पार्दासम्म उक्त भिडियोलाई ३ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ भने १२ हजारभन्दा बढी रियाक्सन, २०८ कमेन्ट र २८७ पटक सेयर भइसकेको छ ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड
उक्त भिडियोको लिङ्क र अर्काइभ लिङ्क
यस्तै, १ लाख २२ हजार फलोअर्स भएको ‘देवदह खबर’ पेजले पनि सोही दृश्यसहितको भिडियो पोस्ट गर्दै लेखेको छ, “कैलालीमा मेडिकलले मृत घोषणा गरेका एक बालकलाई अन्त्येष्टिका लागि खोलामा पुर्याइएपछि उनी जीवितै रहेको खुलेको घटनाले सबैलाई स्तब्ध बनाएको छ । घटनाको वास्तविक कारण र सत्य तथ्य भने अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ ।”
हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडियोमा ९ सय ५९ रियाक्सन, ४० कमेन्ट र ३३ पटक शेयर गरिएको छ भने भिडियोलाई ८६ हजार बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क र अर्काइभ लिङ्क
यसबाहेक ९० हजार फलोअर्स भएको ‘खरो मिडिया’ (ओरिजिनल लिंक/अर्काइभ भिडियो), ‘सितलपुर अनलाइन’ (ओरिजिनल लिंक/अर्काइभ भिडियो) र ‘लाइभ न्युज रफ्तार’ (अर्काइभ भिडियो) लगायतका फेसबुक पेजहरूले पनि सोही दाबीसहित भिडियो पोस्ट गरेका छन् ।
सामूहिक रूपमा हेर्दा, यी पेजहरूबाट प्रवाह भएको सामग्री साढे चार लाखभन्दा बढी पटक हेरिएको छ र हजारौँ प्रयोगकर्ताले शेयर तथा प्रतिक्रिया दिएका छन्। स्वास्थ्य संस्था र चिकित्सकहरूको गम्भीर लापरवाहीसँग जोडेर फैलाइएको यस भ्रामक दाबीले सर्वसाधारणमा चिकित्सा प्रणालीप्रति भ्रम र आक्रोश सिर्जना गर्ने जोखिम देखिएकाले हामीले यसको तथ्य जाँच गरेका हौँ।
के हो तथ्य ?
नेपालफ्याक्टचेकले तथ्य जाँचका क्रममा भाइरल भिडियोको दृश्य तथा ध्वनि (अडियो) विश्लेषण गर्यो। भिडियोमा ‘पानी निस्कन देऊ’, ‘अस्पताल लैजानुपर्यो’ जस्ता शब्दहरू बोलेको सुनिन्छ। यसले यो दृश्य अन्त्येष्टिको नभई उद्धार (रेस्क्यु) गरी अस्पताल लैजाँदाको समयको भएको संकेत दिन्छ।
खोजका क्रममा अनलाइनखबरमा साउन १७ गते प्रकाशित ‘खोलामा नुहाउन पसेका बालकको डुबेर मृत्यु’ शीर्षकको समाचार फेला पर्यो। समाचार अनुसार कैलालीको गौरीगङ्गा नगरपालिका–८, लिक्मास्थित खोलामा साथीहरूसँग नुहाउन गएका स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामी डुबेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
हेर्नुहोस्, अनलाइनखबरमा प्रकाशित समाचार

अनलाइन खबरमा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार पौडी खेल्दा डुबेर बेहोस भएका सलिमलाई उद्धार गरी उपचारका लागि ‘के.बी. सौगात पोलिक्लिनिक’ बढैपुर लगिएको थियो । तर, चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका थिए ।
हेर्नुहोस्, प्रहरीको विवरण :

वास्तविक घटना के थियो ?
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन १७ गते दिउँसो करिब ३:३५ बजे बालक खोलामा डुबेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बालकलाई अचेत अवस्थामा पानीबाट निकालेर तत्काल नजिकैको के.बी. सौगात पोलिक्लिनिक पुर्याइयो। तर, चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरे।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठायो।
साउन १८ गते (सोमबार) पोस्टमार्टमपछि मृतक बालकको शव उनका जेठा बुबा दमनसिंह धामीले बुझेर गोदावरी खोलामा धार्मिक विधि अनुसार दाहसंस्कार गरेका थिए।
हामीले भाइरल भिडियोबारे जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टसँग सम्पर्क गर्यौ ।
नेपालफ्याक्टचेकसँगको कुराकानीमा उहाँले भन्नुभयो,
“साउन १७ गते लगभग दिउँसोको साढे ३ बजेतिर तीन–चार जना बच्चाहरू लिक्मा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा तीमध्येका एक जना बच्चा (सलिम धामी) डुबेको भनेर बाँकी बच्चाहरूले आफन्तहरूलाई खबर गरे ।
घटनाबारे तत्कालै प्रहरीलाई पनि खबर प्राप्त भयो । प्रहरी र स्थानीयवासी मिलेर ती बच्चालाई उद्धार (रेस्क्यु) गरी खोलाबाट निकालेर बढैपुरस्थित के.बी. सौगात पोलिक्लिनिकमा लिएर गइयो। त्यहाँ पुगेपछि डाक्टर साबहरूले सीपीआरलगायतका प्राथमिक उपचार प्रयास गर्नुभयो, तर पछि उहाँहरूले बच्चालाई मृतक घोषणा गर्नुभयो ।
विषय यति नै हो । मृतक घोषणा भइसकेपछि आवश्यक कानुनी प्रक्रिया पुर्याउनका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइयो । पोस्टमार्टम सम्पन्न गरी हिजो आफन्तहरूले शव बुझेर प्रक्रियागत रूपमा दाहसंस्कारसमेत भइसकेको छ ।”
तथ्य जाँच
दाबी : ‘कैलालीमा मृत घोषणा गरिएका बालक अन्त्येष्टिका लागि लैजाँदा जीवित भेटिए’ भन्दै भाइरल भिडियो र प्रसङ्ग ।
दाबीकर्ता : मेचीकाली खबर दाङ, देवदह खबर, खरो मिडिया, सितलपुर अनलाइन लगायतका फेसबुक पेजहरू।
तथ्य : भ्रामक (Misleading) । कैलालीको लिक्मा खोलामा डुबेका १२ वर्षीय सलिम धामीलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल लैजाँदै गर्दा खिचिएको भिडियोलाई ‘अन्त्येष्टिका क्रममा जीवित भेटिएको’ भन्दै गलत र अतिरञ्जित भाष्य बनाएर फैलाइएको पाइयो। बालकलाई अस्पताल पुर्याएपछि मात्र चिकित्सकले मृत घोषणा गरेका थिए र तत्पश्चात कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरेर दाहसंस्कार गरिएको थियो।