तथ्यजाँच भ्रामक सूचना वागमती

ग्यास अभावबारे महावीर पुनको भाइरल अभिव्यक्ति भ्रामक


ग्यास अभावबारे महावीर पुनको भाइरल अभिव्यक्ति भ्रामक

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले  “संसारमा कति मानिस भोकभोकै बसिरहेका छन्, मैले के भन्नु ?” भन्दै दिएको अभिव्यक्ति अहिलेको ग्यास अभावसँग जोडेर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँच अनुसार उक्त भिडिओ साढे दुई महिना पुरानो हो र उनी मन्त्री हुनुअघि स्वतन्त्र सांसदको हैसियतमा दिएको अभिव्यक्ति भएको पुष्टि भएको छ ।

के हो दाबी ?

दुई लाख ४५ हजार फलोअर्स रहेको ‘जनता टाइम्स’ नामक फेसबुक पेजबाट सन् २०२६ अगस्ट ८ को बिहान ११:१४ बजे पोस्ट गरिएको एउटा भिडिओमा पुनले सञ्चारकर्मीहरूसँग कुराकानी गरिरहेको देखिन्छ ।

भिडिओमा सञ्चारकर्मीले प्रश्न सोध्छन् – ‘अनि जनता अन्न नपाएर भोकभोकै बसेका छन् नि ?’

जवाफमापुन भन्छन् – ‘अब भोकभोकै बसिरहेका छन् भने संसारमा कति भोकभोकै बसिरहेका छन्, मैले के भन्नु ? हामी मानव हौँ। मानवताको नाताले कसैले भोकभोकै बसेको देख्यो भने खोजेर भए पनि खुवाइदिने हो ।’

उक्त भिडिओमा “मन्त्री महावीर पुन भन्छन् – ग्यास नपाएर भोकै बस्नु सामान्य कुरा हो क्या !” शीर्षक राखिएको छ । भिडिओभित्रै ‘ग्यास नपाएर जनता भोकै परे नि ? जवाफ – संसारमा भोकभोकै बस्ने मान्छे कति छन् कति ? ग्यास नपाएर भोकै बस्नु सामान्य कुरा हो क्या !’ लेखिएको छ ।

हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडिओमा ८६७ रियाक्सन, ३७१ कमेन्ट, १४४ पटक सेयर र १ लाख १५ हजारभन्दा बढी भ्युज भइसकेको थियो ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

‘जनता टाइम्स’ का अध्यक्ष गणेश बस्नेतले पनि सोही दिन उक्त भिडिओ पोस्ट गर्दै लेखेका छन् –

“ग्यास नपाएर जनता भोकभोकै परे नि भन्ने प्रश्नको जवाफ त ‘नेपालमा मात्रै छैनन् भोकै बस्ने जनता, दुनियाँमा कति छन् कति ?’ पो भन्छन् त बालेनका मन्त्री ! के रोग लागेछ कुन्नी ?”

हामीले हेर्दासम्म उक्त पोस्टमा १२ हजार २ सय लाइक, ५९२ कमेन्ट, २७१ सेयर र ७ लाख ९६ हजारभन्दा बढी भ्युज पुगिसकेको थियो ।

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले भाइरल भिडिओका केही की-फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोजका क्रममा हामीले ‘उकेरा डटकम’ को युट्युब च्यानलमा सन् २०२६ मे २२ मा अपलोड गरिएको भिडिओ फेला पार्‍यौँ ।

“मानवताको नाताले भए पनि भोकभोकै परेकाहरूलाई खोजेर खुवाउनुपर्छ : महावीर पुन” शीर्षकमा अपलोड गरिएको उक्त भिडिओ र अहिले भाइरल बनाइएको दृश्य दुरुस्तै मिल्छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

थप खोज्ने क्रममा सन् २०२६ मे २२ मै ‘नेपाल वान एचडी’ युट्युब च्यानलमा अपलोड गरिएको महावीर पुन र सञ्चारकर्मीबीचको पूरा अन्तर्वार्ता भेटियो ।

‘बालेनलाई स्यालुट ठोक्दै महावीर पुनले दिए धन्यवाद, पुरानो सरकार मरेको सरकार मुख फोड्ने धम्की’ शीर्षकको १४ मिनेट १७ सेकेन्ड लामो उक्त भिडिओको १० मिनेट २२ सेकेन्डमा सोही कुराकानी रहेको छ, जुन अहिले भाइरल बनाइएको छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

महावीर पुन सन् २०२६ जुन ९ (गत जेठ २६) मा मात्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका हुन् । अर्थात् अहिले भाइरल बनाइएको अभिव्यक्ति उनी मन्त्री हुनुभन्दा अघि सांसदको हैसियतमा दिएका हुन् । पछिल्लो समय सिर्जित ग्यास अभावको सन्दर्भसँग जोडेर उनको साढे दुई महिना पुरानो भिडिओलाई भ्रामक रूपमा प्रस्तुत गरिएको हो ।

तथ्य जाँच

दाबी : मन्त्री महावीर पुनले ग्यास नपाएर जनता भोकै बस्नु सामान्य कुरा भएको भन्दै दिएको अभिव्यक्ति।
दाबीकर्ता : ‘जनता टाइम्स’ फेसबुक पेज र गणेश बस्नेत (फेसबुक प्रयोगकर्ता) ।
तथ्य/निष्कर्ष : भ्रामक (Misleading) । पुनले दिएको उक्त अभिव्यक्ति साढे दुई महिना पुरानो हो । सो समयमा उनी मन्त्री नभई स्वतन्त्र सांसद मात्र थिए । मन्त्री हुनुअघिको पुरानो भिडिओलाई हालको ग्यास अभावको परिस्थितिसँग जोडेर भाइरल बनाइएको हाम्रो तथ्य-जाँचबाट पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add