- टेकमान शाक्य
- भदौ १३, २०८३

नुवाकोटको त्रिशूली बजारमा आएको बाढी भन्दै भाइरल भिडिओ एआई निर्मित
नुवाकोटको त्रिशूली बजारमा अचानक लेदोसहितको विनाशकारी बाढी आएर ठूलो विपत्ति निम्त्याएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालहरू फेसबुक, एक्स र इन्स्टाग्राममा भाइरल बनिरहेको छ।
तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक तथा दृश्य परीक्षणबाट उक्त भिडिओ वास्तविक नभई एआई को सहायताले सिर्जना गरिएको पुष्टि भएको छ।
के हो दाबी ?
सन् २०२६ अगस्ट २७ मा एक्स प्रयोगकर्ता IBRAHIM (@RKO11__) ले नेपालको त्रिशूली बजारमा अचानक बाढी र लेदो आएर बस्तीमा ठूलो क्षति पुर्याएको दाबीसहित ३३ सेकेन्डको भिडिओ सार्वजनिक गरे।
हेर्नुहोस् भिडिओको स्क्रिन रेकर्ड
एक्समा अपलोड भएको भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यस्तै, फेसबुक प्रयोगकर्ता चन्दन यादवले पनि अगस्ट २७ मा नेपाल प्रहरी, विभिन्न देशका दूतावास, प्रधानमन्त्री कार्यालय तथा भारतीय प्रधानमन्त्रीको नाममा ह्यासट्याग राखी सोही भिडिओ पोस्ट गरेका छन्।
हेर्नुहोस् चन्दन यादव स्क्रिनसट

चन्दन यादवको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
सामाजिक संजाल एक्स प्रयोगकर्ता NAHID ले पनि यही भिडिओ पोस्ट गरेको भेटियो । नेपालमा आएको विनाशकारी बाढीको दृश्य भएको भिडिओमा दाबी गरिएको छ ।
हेर्नुहोस् NAHID ले गरेको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
ringkhang_brahma687 नाम गरेका इन्स्टाग्राम प्रयोगकर्ताले पनि नेपालमा अगस्ट २६ मा आएको बाढीको दाबी गर्दै यही भिडिओ पोस्ट गरेका छन् ।
ringkhang_brahma687 को स्क्रिनसट हेर्नुहोस्

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
- एक्स प्रयोगकर्ता IBRAHIM (@RKO11__ ) : ३ लाख १८ हजार पटक हेरिएको । ८४ पटक कमेन्ट गरिएको । ४ सय ९२ पटक रिपोस्ट गरिएको । १ हजार ६ सय पटक रियाक्ट गरिएको । १ हजारपटक बुकमार्क गरिएको ।
- फेसबुक प्रयोकर्ता Chandan Yadav : १ लाख १९ हजार पटक हेरिएको । ७ सयभन्ददा धेरैपटक रियाक्ट गरिएको । ८३ पटक कमेन्ट गरिएको १ सय ७० पटक सेयर गरिएको ।
- एक्स प्रयोगकर्ता NAHID : १९ हजार पटक हेरिएको । १४ पटक कमेन्ट र ८४ पटक रिपोस्ट गरिएको ।
- इन्स्टाग्राम प्रयोगकर्ता ringkhang_brahma687 : ३८२ पटक रियाक्ट । २६ पटक कमेन्ट । ६४ हजार पटक हेरिएको ।
फरक फरक सामाजिक सञ्जाल प्ल्याटफर्ममा भाइरल भएको यो भिडिओको तथ्य जाँच गर्न अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ।
के हो तथ्य ?
यो भिडिओको तथ्यजाँचका लागि सबैभन्दा पहिले भिडिओको मूल स्रोतको खोजी गर्यौँ । आधिकारिक एवम् जिम्मेवार संचारसंस्थाले यो भिडिओलाई सेयर गरेको भेटिएन । त्यसपछि भिडियोको सूक्ष्म अध्ययन गर्दा दृश्यमा विभिन्न अस्वाभाविक परिवर्तन देखिए।अध्ययनको क्रममा भिडिओमा एक व्यक्तिले लगाएको कपडा क्षणभरमै परिवर्तन भएको देखिन्छ भने काठका टुक्रा तथा माटोको बनावटसमेत अस्वाभाविक रूपमा परिवर्तन भएको देखिन्छ।योसहित अरु थुप्रै अस्वभाविक दृश्य यो भिडिओमा देखिन्छ । यस्ता अस्वाभाविक दृश्य एआईबाट सिर्जना गरिएका सामग्रीमा देखिन सक्छन्।
त्यसपछि थप पुष्टि गर्न हामीले यो भिडिओ एआई जेनेरेटेड हो कि होइन भनेर विभिन्न फ्रेमलाई एआई डिटेक्सन टुलमार्फत परीक्षण गर्यौँ।
wasitAI: यो भिडिओको एउटा फ्रेम निकालेर wasitAI मार्फत जाँच गरेर हेर्यौँ । यो टुलले भिडिओ एआई निर्मित भएको बलियो संकेत देखायो।

HIVE DETECT: ३३ सेकेन्डको भिडिओ परीक्षण गर्दा दृश्य ९३.८ प्रतिशत एआई-निर्मित हुनसक्ने उच्च सम्भावना देखायो।

हाइभ डिटेक्टको नतिजा हेर्न लिंक यहाँ छ ।
isfake.ai : भिडिओमा प्रयोग भएको अडिओ एआई निर्मित हो कि होइन भनेर isfake.ai मार्फत जाँच गरेर हेर्यौँ । यसको नतिजामा ६० देखि सतप्रतिशत नै एआई निर्मित भएको सम्भावना देखायो ।

Ai or Not : थप पुष्टिका लागि हामीले aiornot टुलको सहायता लियौँ । यसले पनि एआई निर्मितको सम्भावना ९१ प्रतिशत देखायो ।
तथ्यजाँच
दाबी : नुवाकोटको त्रिशूली बजारमा आएको बाढीको दाबीसहितको यो भिडिओ
दाबीकर्ता : एक्स प्रयोगकर्ता IBRAHIM (@RKO11__ ), फेसबुक प्रयोकर्ता Chandan Yadav, एक्स प्रयोगकर्ता NAHID र इन्स्टाग्राम प्रयोगकर्ता ringkhang_brahma687 लगायत सामाजिक संजाल प्रयोगकर्ता ।
तथ्य : मिथ्या/एआई जेनेरेटेड । सामाजिक सञ्जालमा त्रिशूली बजारको बाढी भन्दै फैलाइएको भिडिओ वास्तविक होइन। दृश्य तथा प्राविधिक परीक्षण (Hive Moderation, Ai or Not, WasItAI लगायत) बाट उक्त भिडिओको दृश्य र अडिओ एआई प्रविधिमार्फत सिर्जना गरिएको पुष्टि हुन्छ।
