तथ्यजाँच भ्रामक सूचना वागमती

गृहमन्त्री सुरुङभित्र छिरेको भन्दै भाइरल भिडिओ भारतको उत्तराखण्डको


गृहमन्त्री सुरुङभित्र छिरेको भन्दै भाइरल भिडिओ भारतको उत्तराखण्डको

गृहमन्त्री सुधन गुरुङ नेपाली सेनासँगै सुरुङभित्रै पुगेर उद्दारमा खटिएको दाबी गर्दै सामाजिक संजालमा २० सेकेन्डको भिडिओ भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा गृहमन्त्री गुरुङ त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाहरुको उद्दारमा आफैं खटिएको कुरा साँचो भएपनि भाइरल भिडिओ भने भारत उत्तराखण्डको भएको पुष्टि भएको छ ।

के हो दाबी ?

Call24 News नाम गरेको १ लाख ५९ हजार फलोअर्स रहेको फेसबुक पेजले सन् २०२६ को अगस्ट २९ को दिन बिहान ६ बजेर ५८ मिनेटको समयमा १९सेकेन्डको भिडिओ सार्वजनिक गरेको छ ।

भिडिओमा गृहमन्त्री सुधन गुरुङ सेनासँगै सुरुङभित्र पुगेर उद्दारमा खटिएको दाबी गरिएको छ । तथ्य जाँच गर्दासम्म भिडिओलाई १० हजारभन्दा धेरैपटक रियाक्ट गरिएको छ भने ३ सयभन्दा धेरैपटक कमेन्ट र २२० भन्दा धेरैपटक सेयर गरिएको छ ।

हेर्नुहोस् भिडिओको स्क्रिनरेकर्ड

call24 news को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

भिडिओलाई अन्य फेसबुक प्रयोकर्ताले पनि निक्कै भाइरल बनाइरहेका छन् । जहाँ गृहमन्त्री गुरुङ सुरुङभित्र नै पसेर उद्दार गरेको दाबी गरिएको छ ।

हेर्नुहोस् फेसबुक प्रयोगकर्ताले गरेको दाबीको स्क्रिनरेकर्ड

यही भिडिओलाई सामाजिक संजाल एक्स प्रयोगकर्ताले पनि भाइरल बनाइरहेका छन् । भिडिओमा नेपालका गृहमन्त्री सुधन गुरुङले सुरुङभित्रै पसेर उद्दार गरेको दाबी गरिएको छ । भारतीय संचारमाध्यम दैनिक भास्करका समाचार सम्पादक एलपी पन्तलेसमेत यहि दाबी गरेर भिडिओ पोस्ट गरेका छन् ।

उनले पोस्टमा नेपालका गृहमन्त्री सुधन गुरुङ पनि उद्धार कार्यमा खटिएको र उनी आफैं सुरुङभित्र गएर उद्धार टोलीसँगै उद्धार अभियानमा सहभागी भएको दाबी गरेका छन् । भिडिओलाई १४ हजारभन्दा धेरैपटक हेरिएको छ । ९ पटक कमेन्ट र १२० पटक रिपोस्ट गरिएको छ ।

हेर्नुहोस् भारतका पत्रकार एलपी पन्तको स्क्रिनसट

भारतीय पत्रकार पन्तको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

यसबारे तथ्यजाँचका लागि सबैभन्दा पहिले हामीले गृहमन्त्री सुधन गुरुङ उद्दारको लागि सुरुङमा गएका हुन् कि होइनन् भनेर आधिकारिक संचारमाध्यममा खोजी गर्‍यौँ । यसको नतिजामा सरकारी संचारसंस्था गोरखापत्र दैनिकको अनलाइन संस्करण गोरखापत्र अनलाइनले त्रिशूली – ३ ए को सुरुङमा ३५ जना फसेको र उद्दारमा गृहमन्त्री गुरुङ आफैं खटिएको दाबीसहितको समाचार प्रकाशित भएको भेटियो । यो समाचार २०८३ सालको भदौ १३ गते (सन् २०२६ को अगस्ट २९) को दिन अनलाइन संस्करणमा प्रकाशित छ ।

हेर्नुहोस् गोरखापत्र दैनिकको स्क्रिनसट

गोरखापत्र अनलाइनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसबारे थप पुष्टिका लागि हामीले गृहमन्त्री गुरुङको सचिवालयले पत्रकारहरुका लागि उपलब्ध गराएको समाचार सामग्री अध्ययन गर्‍यौँ । सचिवालयले संचारमाध्यमलाई उपलब्ध गराएको विवरणअनुसार त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा खटिएको कुरा साँचो हो ।  सचिवालयले संचारमाध्यमका लागि भिडिओसमेत उपलब्ध गराएको छ ।

हेर्नुहोस् गृहमन्त्रीले उपलब्ध गराएको भिडिओ 

सचिवालयले संचारमाध्यमलाई उपलब्ध गराएको भिडि‌ओ र भाइरल भिडिओलाई तुलना गरेर हेर्दा एउटै देखिएन । त्यसपछि हामीले भाइरल भिडिओबाट सुरुको फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ ।

खोजीका क्रममा  Fire Service Uttarakhand Police ले सन् २०२६ को अगस्ट १४ (१५ दिनअघि) को दिन २१ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेको भेटियो। अहिले भाइरल भइरहेको भिडिओ क्लिप र भारत उत्तराखण्डको भिडिओ क्लिप एउटै छ ।

हेर्नुहोस् Fire Service Uttarakhand Police को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसमाथि थप पुष्टिका लागि हामीले भारतका संचारमाध्यममा प्रकाशित समाचारको खोजी गरेर हेर्‍यौँ । नतिजामा इन्डिया टाईम्सले सो तस्बिरसहितको समाचार सन् २०२६ को अगस्ट १४ को दिन प्रकाशित गरेको भेटियो । समाचारमा चमोली जिल्लाको मायापुरमा निर्माणाधीन जलविद्युत सुरुङ भित्र ठूलो पहिरो जाँदा सात कामदारको मृत्यु भएको र तीन जना बेपत्ता भएको दाबी गरिएको छ ।

हेर्नुहोस् इन्डिया टाइम्सले लेखेको समाचारको स्क्रिनसट

 ईन्डिया टाइम्सको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दाबी : गृहमन्त्री आफैं सुरुङभित्र छिरेको दाबीसहितको भिडिओ

दाबीकर्ता : Call24 News नामक फेसबुक पेज र भारतका पत्रकार एलपी पन्तसहित सामाजिक संजाल प्रयोगकर्ता

तथ्य : भ्रामक (misleading) । त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धारमा गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएको कुरा सत्य हो। तर, सामाजिक सञ्जालमा गृहमन्त्री सुरुङभित्रै पुगेर उद्धारमा खटिएको दृश्य भन्दै भाइरल बनाइएको भिडिओ भारतको उत्तराखण्डमा अगस्ट १४ मा सार्वजनिक भएको भिडिओ भएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add