- टेकमान शाक्य
- भदौ १४, २०८३

नेपालमा आएको बाढीको डरलाग्दो दृश्य भन्दै भाइरल भिडिओ एआई निर्मित
नेपालमा आएको बाढीको डरलाग्दो दृश्य दाबी गर्दै सामाजिक संजालमा भिडिओ क्लिप भाइरल गराईएको छ ।तर,नेपालफ्याक्टचेकले गरेको प्राविधिक विश्लेषण तथा खोजका क्रममा उक्त भिडिओ वास्तविक नभई एआई प्रविधिको प्रयोग गरी सिर्जना गरिएको एवम् मिथ्या भएको पुष्टि भएको छ ।
के हो दाबी ?
१) Bimal Tiwari (X) : सामाजिक संजाल एक्स प्रयोगकर्ता Bimal Tiwari ले सन् २०२६ को अगस्ट २९ को दिन १ मिनेट १३ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा तीव्र गतिमा बाढी आइरहेको, नदी किनारमा सडक तथा घरहरू देखिएको र मानिसहरू ज्यान जोगाउन भागिरहेको दृश्य देखिन्छ। उक्त भिडिओलाई नेपालमा आएको विनाशकारी बाढीको दृश्य भन्दै दाबी गरिएको छ।
हेर्नुहोस् bimal tiwari को स्क्रिनरेकर्ड
भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२) Crypto Tony (X) : अर्का एक्स प्रयोगकर्ता Crypto Tony ले पनि आफ्नो भेरिफाईड अकाउन्टबाट यही भिडिओ पोस्ट गरेका छन्।उनले ३० सेकेन्ड लामो भिडिओ पोस्ट गर्दै यो नेपालको भएको दाबी गरेका छन्।
हेर्नुहोस् Crypto Tony को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
३) Amazingworld_official✅ (Tiktok) : सोही भिडिओ टिकटकमा पनि भाइरल भएको छ। Amazingworld_official✅ नाम गरेका टिकटक प्रयोगकर्ताले भिडिओ सिसिटिभी फुटेजको भएको दाबी गरेका गरेका छन् । भिडिओको क्याप्सनमा Pray for Nepal लेख्दै नेपालको लागि प्रार्थनासमेत गरिएको छ।
हेर्नुहोस् टिकटक प्रयोगकर्ता Amazingworld_official✅ को स्क्रिनसट

टिकटकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ
४) Min Gurung (Facebook) : सामाजिक संजाल फेसबुक प्रयोगकर्ता मिन गुरुङले सन् २०२६ को अगस्ट २९ को दिन २२ सेकेन्ड लामो यही भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा सीसीटीभी फुटेजमा देखिने मितिसमेत उल्लेख गरिएको देखिन्छ।
हेर्नुहोस् मिन गुरुङको स्क्रिनसट

Min Gurung को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
- Bimal Tiwari (X) : १० लाखभन्दा धेरैपटक हेरिएको । ११७ पटक कमेन्ट, ९०६ पटक रिपोस्ट, ५ हजारपटक रियाक्ट र १ हजार ८ सयपटक बुकमार्क भएको ।
- Crypto Tony (X) : १७ लाखभन्दा धेरैपटक हेरिएको । १ सय ८५ पटक कमेन्ट गरिएको । ७ सय ५९ सटक रिपोस्ट भएको । ८ हजार ३ सयभन्दा धेरै पटक रियाक्ट भएको ।
- Amazingworld_official✅ (TikTok) : ५ लाख ७४ हजारभन्दा धेरैपटक हेरिएको । १७ हजारभन्दा धेरैपटक रियाक्ट भएको । ४ सय ८८ पटक कमेन्ट गरिएको, ३ हजार २ सय ४७ पटक सेयर भएको ।
- Min Gurung (Facebook) : १२ हजारभन्दा धेरैपटक रियाक्ट भएको । १ सय ५६ पटक कमेन्ट गरिएको । ७ लाख ६४ हजारभन्दा धेरैपटक हेरिएको ।
के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सबैभन्दा पहिले भिडिओको सूक्ष्म अध्ययन गर्यौँ। अध्ययनका क्रममा भिडिओमा केही अस्वाभाविक दृश्य तथा त्रुटिहरू देखिए। भिडिओमा देखिएका मानिसहरू सुरुमा बाढी आइरहेको दिशातर्फ नै दौडिरहेको देखिन्छ। बाढीबाट जोगिन मानिसहरू त्यसको विपरीत दिशातर्फ जानुपर्ने भए पनि भिडिओमा त्यसको ठीक उल्टो दृश्य देखिन्छ।
त्यस्तै,सडकमा देखिएको बार क्रस गर्नका लागि मानिसहरुले बार नाघेर जानुपर्ने थियो । तर मानिसहरु बार नै ननाघिकन, खुट्टा नै नउचालिकन बार क्रस गरिरहेको देखिन्छ । बाढी पुलमा आउने वित्तिकै एक्कासी विष्फोट भएको जस्तो दृश्य देखिन्छ भने आवाज पनि त्यहि अनुसारको सुनिन्छ । यो आफैंमा अस्वभाविक दृश्य हो ।

भिडिओमा देखिएका अस्वाभाविक दृश्यका आधारमा थप परीक्षणका लागि हामीले विभिन्न एआई डिटेक्सन टुलको प्रयोग गर्यौँ।
1) HIVE DETECT : HIVE DETECT टुलमार्फत भिडिओ जाँच गरेर हेर्दा एआई निर्मित हुन सक्ने सम्भावना ९९ दशमलव ३ प्रतिशत देखियो । १ मिनेट १३ सेकेन्डको भिडिओमा अधिकांश भाग एआई निर्मित भएको देखिन्छ ।

HIVE DETECT ले दिएको नतिजा हेर्न लिंक यहाँ क्लिक गर्नुहोस्
2) Google को SynthID : त्यसपछि भिडिओ गुगलको एआई प्रविधिबाट सिर्जना गरिएको हो कि होइन भनेर Google SynthID मार्फत परीक्षण गर्यौँ।परीक्षणका क्रममा भिडिओको 0:16 देखि 0:33 सम्म गुगल एआई निर्मित फुटेज रहेको वाटरमार्क देखायो ।

3) Truth Scan : भिडिओमा प्रयोग भएको अडिओ एआईबाट सिर्जना गरिएको हो कि होइन भनेर Truth Scan मार्फत परीक्षण गर्दा अडिओमा एआई प्रयोग भएको सम्भावना ८० प्रतिशतसम्म देखियो।१५ सेकेन्डदेखि २० सेकेन्डसम्मको अडिओ एआई निर्मित हुन सक्ने सम्भावना ८० प्रतिशत देखिएको छ।
हेर्नुहोस् Truth Scan ले दिएको नतिजाको स्क्रिनसट

प्राविधिक परीक्षणका नतिजा तथा भिडिओमा देखिएका अस्वाभाविक दृश्यका आधारमा सामाजिक सञ्जालमा नेपालको बाढीको दृश्य भन्दै फैलाइएको भिडिओ एआई प्रविधिबाट सिर्जना गरिएको देखिन्छ।
तथ्यजाँच
दाबी : नेपालमा आएको बाढीका डरलाग्दो दृश्य दाबी गर्दै भाइरल भिडिओ
दाबीकर्ता : एक्स प्रयोगकर्ता Bimal Tiwari Crypto Tony, टिकटक प्रयोगकर्ता Amazingworld_official✅ र फेसबुक प्रयोगकर्ता Min Gurung सहित सामाजिक संजाल प्रयोगकर्ता ।
तथ्य : मिथ्या (False) । नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा नेपालमा आएको बाढीको दृश्य भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडिओ वास्तविक होइन। भिडिओको दृश्य तथा अडिओ परीक्षण गर्दा HIVE DETECT, Google SynthID र Truth Scan लगायतका टुलहरूले एआई प्रविधिको प्रयोग भएको देखाएका छन्।साथै, भिडिओ एआई निर्मित एवम् मिथ्या पुष्टि भएको छ ।