एक्सप्लेनर जलवायु र वातावरण सही सूचना

एक्सप्लेनर : मौसम पूर्वानुमान कसरी बुझ्ने ? ‘हल्का वर्षा’देखि ‘अधिकांश स्थान’सम्मको अर्थ


एक्सप्लेनर : मौसम पूर्वानुमान कसरी बुझ्ने ? ‘हल्का वर्षा’देखि ‘अधिकांश स्थान’सम्मको अर्थ

हामी प्राय: मौसमसम्बन्धी समाचार तथा बुलेटिनहरूमा ‘हल्का’, ‘मध्यम’, ‘भारी’ वा ‘धेरै भारी’ वर्षा हुने जस्ता पूर्वानुमानहरू तथा वर्षा भएको समाचार सुन्छौँ।

तर यी शब्दहरूले के अर्थ राख्छन् ? ‘हल्का’, ‘मध्यम’, ‘भारी’ र ‘धेरै भारी’ वर्षा हुनु भनेको वास्तवमा कति पानी पर्नु हो ? अनि मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक-दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ वा ‘अधिकांश स्थान’ जस्ता शब्दहरूले कति भूभागलाई जनाउँछन् ?

यस एक्सप्लेनरमा मौसम पूर्वानुमानमा प्रयोग हुने तिनै शब्दावली र तिनको वास्तविक अर्थबारे चर्चा गरिएको छ ।

कसरी गरिन्छ वर्षाको मापन ?

जल तथा मौसम विज्ञान विभागले वर्षाको मापन मिलिमिटर (मि.मि)मा गर्ने गर्छ ।

विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार आकाशबाट परेको पानी नाप्नको लागि विभागले विभिन्न मौसमी केन्द्रहरुमा ‘रेन गेज’ भनिने पानी नाप्ने भाँडो वा उपकरण राख्छ ।

यो भाँडोमा २४ घण्टामा कति पानी संकलन हुन्छ, त्यसलाई नापेर सोही आधारमा यति मिलिमिटर पानी पर्यो भनी निर्धारण गरिन्छ ।

मानव सञ्चालित रेन गेजबाट हरेक दिन बिहान पौने ९ बजे वर्षा मापन गरिन्छ । स्वचालित वर्षा मापक उपकरणले भने हरेक १० मिनेटको अन्तरालमा वर्षा मापन गरी वास्तविक समयको तथ्यांक प्रदान गर्छ ।

कति पानी पर्दा कस्तो वर्षा?

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अशोक बख्रेलका अनुसार २४ घण्टाको अवधिमा कुनै निश्चित क्षेत्रमा कति मिलिमिटर पानी पर्यो, त्यसैका आधारमा वर्षालाई वर्गीकरण गरिन्छ । यदि २४ घण्टामा १० मिलिमिटरसम्म मात्र पानी पर्यो भने त्यसलाई हल्का वर्षा मानिन्छ ।

त्यस्तै, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

जब वर्षाको मात्रा बढेर ५० देखि १०० मिलिमिटरसम्म पुग्छ, त्यसलाई भारी वर्षा भनिन्छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म पानी परेमा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि बढी पानी परेको अवस्थालाई अति धेरै भारी वर्षाको रूपमा वर्गीकरण गरिन्छ ।

‘केही स्थान’, ‘थोरै स्थान’ वा ‘अधिकांश स्थान’ भन्नाले कति भूभाग बुझ्ने ?

वर्षाको मात्राबाहेक मौसम बुलेटिनमा प्रयोग हुने सम्भावित क्षेत्रसम्बन्धी शब्दहरूले पानी पर्ने भूगोल वा क्षेत्रफलको प्रतिशतलाई जनाउँछन् ।

धेरैलाई ‘केही स्थानमा वर्षा हुने’ भन्दा कुनै निश्चित जिल्ला वा शहरको एउटा कुनामा मात्र पानी पर्ने हो कि भन्ने लाग्न सक्छ तर यसले प्रतिशतको हिसाब देखाउँछ ।

जब मौसमविद्हरूले एक-दुई स्थानमा वर्षा हुन्छ भन्छन्, त्यसको अर्थ तोकिएको क्षेत्र वा जिल्लाको १० प्रतिशतभन्दा कम भूभागमा मात्र पानी पर्ने सम्भावना छ भन्ने बुझ्नुपर्छ ।

थोरै स्थानमा भन्नुको अर्थ १० देखि ३० प्रतिशत भूभाग समेटिनु हो ।

त्यसैगरी, केही स्थानमा भन्नाले ३० देखि ५० प्रतिशत भूभाग, धेरै स्थानमा भन्नाले ५० देखि ८० प्रतिशत भूभाग र अधिकांश स्थानमा भन्नाले तोकिएको क्षेत्रको ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावनालाई जनाउँछ ।

यसलाई एउटा उदाहरणबाट अझ सहजै बुझ्न सकिन्छ :

यदि मौसम बुलेटिनमा ‘काठमाडौँ उपत्यकाका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ’ भनिएको छ भने त्यसको अर्थ पूरै उपत्यकाभरि एकैसाथ पानी पर्छ भन्ने होइन । यसको वास्तविक अर्थ काठमाडौँ उपत्यकाको कुल क्षेत्रफलको ३० देखि ५० प्रतिशत भूभागमा मात्र १० देखि ५० मिलिमिटर पानी पर्नेछ भन्ने हुन्छ । यस्तो अवस्थामा भक्तपुर वा ललितपुरतिर दर्किने गरी पानी परिरहँदा काठमाडौँको चक्रपथ क्षेत्रमा घाम लागिरहेको पनि हुन सक्छ ।

त्यस्तै यदि ‘कोशी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना छ’ भनिएको छ भने, कोशी प्रदेशका १४ वटा जिल्लाहरूले ओगटेको कुल भूभागको ५० देखि ८० प्रतिशत क्षेत्रफलमा भारी वर्षा अर्थात् ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बुझ्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add