तथ्यजाँच भ्रामक सूचना

बालेन शाहको ‘अमेरिकामा भव्य स्वागत’ भन्दै भाइरल भिडिओ ट्रम्पको सवारीको पुरानो दृश्य


बालेन शाहको ‘अमेरिकामा भव्य स्वागत’ भन्दै भाइरल भिडिओ ट्रम्पको सवारीको पुरानो दृश्य

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भ पारेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त दाबी भ्रामक रहेको पुष्टि भएको छ। भाइरल भिडिओ प्रधानमन्त्री बालेनको नभई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीका क्रममा खिचिएको साढे तीन महिना पुरानो दृश्य हो।

के हो दाबी ?
४३ हजारभन्दा बढी फलोअर्स रहेको ‘नेपाली न्यू’ नामक फेसबुक पेजमा बुधबार बिहान १०:२३ बजे एउटा भिडिओ अपलोड भयो ।

अमेरिकाको सडकमा भीआईपी सवारी भइरहेको देखिने उक्त दृश्यमा पृष्ठभूमिको अडियोमा एक युवकले भन्छन्— “आहा दर्शकवृन्द, बालेन शाहको अमेरिकामा इन्ट्री भइसकेको छ…”

भिडिओको क्याप्सनमा ‘बालेन शाहको अमेरिकामा इन्ट्री’ लेखिएको छ। यो तथ्य जाँच तयार पार्दासम्म उक्त भिडिओमा १ लाख ४ हजारभन्दा बढी रियाक्सन, ३ हजारभन्दा बढी कमेन्ट, ८ हजार १ सयभन्दा बढी सेयर र ७ लाख ४२ हजारभन्दा बढी भ्युज दर्ता भइसकेको छ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

सो भिडिओ कान्तिपुरको टिकटकमा पनि सोही दाबीका साथ अपलोड गरिएको छ ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

उक्त भिडिओको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

सोही भिडिओको केही अंश १ लाख ७० हजारभन्दा बढी फलोअर्स भएका ‘सचिन रावल’ नामक फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीका साथ पोस्ट गरेका छन् ।

उक्त भिडिओको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

भाइरल भिडिओको सत्यता पत्ता लगाउन हामीले दृश्यको प्राविधिक तथा तथ्यगत विश्लेषण गर्‍यौँ

१. दृश्यको सूक्ष्म विश्लेषण
हामीले सुरुमा भाइरल दृश्यलाई ध्यानपूर्वक अध्ययन गर्‍यौँ । भिडिओमा भीआईपी सवारीको अगाडि न्युयोर्क सिटी प्रहरीको (New York City Police Department – NYPD) भ्यान देखिन्छ, जसले दृश्य अमेरिकाको हो भन्ने पुष्टि गर्छ । तर, सडक किनारामा उभिएका मानिसहरूको भिडमा एक व्यक्तिले प्यालेस्टाइनको झण्डा फहराइरहेको देखिन्छ ।

हेर्नुहोस्, स्क्रिन सट :

२. रिभर्स इमेज सर्च

भाइरल भिडिओबाट मुख्य की-फ्रेमहरू निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा अमेरिकाबाट सञ्चालित ‘गार्सिया कोर्डेरो’ नामक फेसबुक पेजमा सन् २०२६ जुन ९ मा अपलोड गरिएको भिडिओ फेला पर्‍यो। उक्त भिडिओका दृश्य, सवारीको संरचना र वरिपरिको परिवेश हाल भाइरल बनाइएको भिडिओसँग हुबहु मिल्छ।

उक्त फेसबुक पोस्टको कमेन्ट सेक्सनमा पेज सञ्चालकले ‘यसरी राष्ट्रपति न्युयोर्क आइपुग्नुभयो’ भनी उल्लेख गरेका छन्। जुन ९, २०२६ मै सार्वजनिक भइसकेको भिडिओलाई संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको हालको सन्दर्भमा जोडेर भ्रम फैलाइएको देखिन्छ।

 

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

‘गार्सिया कोर्डेरो’ को सोही पोस्टको कमेन्ट सेक्सनमा उक्त पेजका सञ्चालकले ‘यसरी राष्ट्रपति न्युयोर्क आइपुग्नुभयो’ भनी उल्लेख गरेका छन् ।

हेर्नुहोस्, स्क्रिन सट :

 

३. थप स्वतन्त्र स्रोतहरूको पुष्टि:

थप प्रमाण जुटाउन की-फ्रेम र कीवर्ड प्रयोग गरी खोजी गर्दा जुन २०२६ को सोही मिति आसपास टिकटकमा पोस्ट गरिएका अन्य भिडिओहरू फेला परे:

  • ‘freddy_nyc1k’ नामक टिकटक एकाउन्टमा सन् २०२६ जुन ९ मा सोही स्थान र सवारीको भिडिओ अपलोड गरिएको छ।

‘freddy_nyc1k’ नामक टिकटक एकाउन्टमा गत जुन ९ मा अपलोड गरिएको भिडिओको स्क्रिनसट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

 

  • ‘newyork city photos’ नामक टिकटक ह्यान्डलमा पनि न्युयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीको क्रममा खिचिएको सोही दृश्य पोस्ट भएको पाइएको छ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

यी प्रमाणहरूले उक्त भिडिओ बालेन्द्र शाहको नभई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीको पुरानो दृश्य भएको स्पष्ट पार्छ।

तथ्य जाँच

दाबी : प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा ‘इन्ट्री’ र भव्य स्वागतको दृश्य ।

दाबीकर्ता : ‘नेपाली न्यू’ फेसबुक पेज, कान्तिपुर, सचिन रावल (फेसबुक प्रयोगकर्ता)

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। भाइरल भिडियो बालेन्द्र शाहको नभई सन् २०२६ जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्क भ्रमणका क्रममा खिचिएको पुरानो दृश्य हो। पुरानो भिडियोमा बालेन शाहको अमेरिका आगमन भन्दै सन्दर्भ तोडमोड गरी भ्रम फैलाइएको हो


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add