एआई जेनेरेटेड तथ्यजाँच भ्रामक सूचना लुम्बिनी

‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा भाइरल पत्र एआईनिर्मित र व्यङ्ग्यात्मक


‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा भाइरल पत्र एआईनिर्मित र व्यङ्ग्यात्मक

राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेपछि अहिले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति (पत्र) भाइरल बनिरहेको छ । ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा जारी गरिएको उक्त पत्रमा दाहालको पक्राउप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचका क्रममा उक्त विज्ञप्ति/पत्र एआई प्रविधिबाट निर्मित भएको र सो संस्था व्यङ्ग्यका लागि मात्र प्रयोग गरिएको पुष्टि भएको छ ।

के हो दाबी ?

फेसबुकमा ४ लाख ३८ हजारभन्दा बढी फलोअर्स भएको नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आइतबार राति ९:२५ बजे आफ्नो फेसबुक पेजमा एउटा विज्ञप्ति (पत्र) पोस्ट गरे।

“नेपालको अचम्मको नौलो व्यवसाय : राजनीतिक विश्लेषक व्यवसायी महासंघ !” भन्दै शेयर गरिएको उक्त पत्रमा विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको घटनाप्रति ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । भरत दाहालको फोटोसमेत राखिएको उक्त पत्रको तल्लो भागमा अध्यक्षका रूपमा ‘विपिन आचार्य’को नाम र हस्ताक्षर राखिएको छ।

हेर्नुहोस्, विज्ञप्ति/पत्र :

हामीले तथ्य जाँच गर्दासम्म उपाध्यायको उक्त फेसबुक पोस्टमा १,२०० भन्दा बढी रियाक्सन, २३५ कमेन्ट र ८ पटक शेयर भइसकेको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

सोही पत्र एक्स (ट्विटर)मा १३ हजारभन्दा बढी फलोअर्स भएका ‘सुमन’ नामक प्रयोगकर्ताले पनि शेयर (लिङ्क/अर्काइभ लिङ्क) गरेका छन् । सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले पनि कसैले यसलाई सत्य मानेर त कसैले व्यङ्ग्यात्मक शैलीमा शेयर गरिरहेका छन् ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले सुरुमा भरत दाहाल पक्राउसम्बन्धी समाचार खोज्यौँ । सञ्चारमाध्यमका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले राजनीतिक विश्लेषक दाहाललाई आइतबार साइबर अपराधको कसुरमा पक्राउ गरेको पुष्टि भयो ।

त्यसपछि हामीले उक्त पत्रको आधिकारिकताबारे खोज्यौँ । उक्त पत्र सबैभन्दा पहिले आइतबार दिउँसो १:१४ बजे विपिन आचार्य नामक प्रयोगकर्ताले फेसबुकमा अपलोड गरेका थिए । उनले लेखेका छन्, “यसरी ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ प्रवृत्तिबाट कत्ति पनि नडगमगाई निर्भीकतापूर्वक आ-आफ्नो राजनीतिक विश्लेषण व्यवसाय कर्ममा लाग्न देशभरका सम्पूर्ण राजनीतिक विश्लेषक व्यवसायी साथीहरूमा हार्दिक अपिल ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ८२ रियाक्सन र १७ कमेन्ट छन् ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

त्यसपछि हामीले भाइरल पत्रको प्राविधिक विश्लेषण गर्‍यौँ । एआई निर्मित तस्बिर पहिचान गर्ने डिजिटल टुल ‘ओपनएआई भेरिफाइ’मार्फत जाँच गर्दा उक्त टुलले तस्बिर एआईबाट निर्मित भएको नतिजा देखियो ।

हेर्नुहोस्, स्क्रिनसट : 

यसैगरी हामीले ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ नामको संस्थाबारे ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ किवर्ड प्रयोग गरी गुगलमा खोजी गर्‍यौँ। खोजीका क्रममा उक्त नामको संस्था कानुनी रूपमा दर्ता भएको पुष्टि हुने कुनै सार्वजनिक प्रमाण फेला परेन।

तर, खोजीका क्रममा पत्र पोस्ट गर्ने विपिन आचार्यले स्वयंले सोही नामबाट बेलाबेलामा यस्ता विज्ञप्ति पोस्ट गर्ने गरेको पाइयो। आचार्यले गत अगस्ट १३ मा फेसबुकमा एक पोस्ट गर्दै चार वर्षअघि रमाइलो/मजाक गर्ने शैलीमा ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ नामको अवधारणा सुरु गरिएको उल्लेख गरेका छन्।

हेर्नुहोस्, स्क्रिनसट : 

उक्त फेसबुक पोस्ट पढ्न यहाँ क्लिक गर्नुहोस्

हामीले यस विषयमा थप स्पष्ट हुन विपिन आचार्यसँग प्रत्यक्ष सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेकसँगको कुराकानीमा उनले उक्त पत्र र महासंघ विशुद्ध व्यङ्ग्यात्मक रूपमा बनाइएको बताए ।

आचार्यले भने, “मैले तीन-चार वर्षअघिदेखि नै टोल-टोलमा, पसलमा जता पनि राजनीतिक विश्लेषकहरूको बिगबिगी देखेपछि सटायरका रूपमा सुरु गरेको हो । दुई-चार जनाले मजाक-मजाकमै प्रतिक्रिया दिएपछि हामीले पनि कहिलेकाहीँ यस्तै रमाइलोका लागि पोस्ट गर्ने गरेका थियौँ। यो रमाइलोका लागि मात्रै हो ।”

यसबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको पत्र एआई निर्मित रहेको र ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ नामको संस्था कानुनी रूपमा दर्ता नभई केवल व्यङ्ग्यका लागि बनाइएको पुष्टि हुन्छ ।

तथ्य जाँच

दाबी : भरत दाहालको पक्राउप्रति ध्यानाकर्षण व्यक्त गर्दै ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ले जारी गरेको भाइरल पत्र ।

दाबीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भीमप्रसाद उपाध्याय, विपिन आचार्य, सुमनलगायत ।

तथ्य : भ्रामक (Misleading))/एआई निर्मित (AI Generated) । भरत दाहाल पक्राउ परेको विषय सत्य भए पनि भाइरल पत्र एआईबाट बनाइएको हो । साथै ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’ नामको संस्था आधिकारिक रूपमा दर्ता नभएको र यो व्यङ्ग्यका लागि प्रयोग गरिएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add