तथ्यजाँच जलवायु र वातावरण भ्रामक सूचना

‘१२ दिनपछि सुरुङबाट निस्किए ७ श्रमिक’ भन्दै भाइरल भएको भिडिओ यसकारण भ्रामक


‘१२ दिनपछि सुरुङबाट निस्किए ७ श्रमिक’ भन्दै भाइरल भएको भिडिओ यसकारण भ्रामक

भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार हुन नसक्दा ७ जना श्रमिक १२ दिनसम्म सुरुङभित्रै थुनिएर आफैँ निस्किएको दाबीसहितको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ

तर, नेपालफ्याक्टचेकको तथ्य जाँच अनुसार उक्त दाबी भ्रामक हो। भाइरल भिडिओ बाढी आएको दोस्रो दिन (गत अगस्ट २७) मै सार्वजनिक भइसकेको पुरानो दृश्य हो । ती व्यक्तिहरू १२ दिनसम्म सुरुङमा थुनिएका होइनन्, उनीहरू बाढीलगत्तै सुरुङबाट बाहिरिएका थिए र तत्कालै उद्धार टोलीको सम्पर्कमा आएका थिए। 

के हो दाबी ?

४५ हजार फलोअर्स रहेको ‘रुटिन अफ कञ्चनपुर यूएमएल’ नामक फेसबुक पेजमा आइतबार (सेप्टेम्बर ६) मा एउटा भिडिओ अपलोड भयो ।

भिडिओको क्याप्सनमा लेखिएको छ, “सुरुङबाट १२ दिनमा आफैँ निस्किएर ७ जना आए । उद्धारका लागि सरकार पुग्नै सकेन। विडम्बना, मन्त्रीलाई स्टन्ट गर्दै ठिक्क छ, अनि कसरी उद्धार छिटो हुन्छ ?” । उक्त भिडिओमा भोटेकोशीमा आएको बाढीपछि ७ जना मानिस आफैँ सुरुङभित्रबाट निस्किएको दाबी गरिएको छ ।

१ मिनेट ८ सेकेन्डको उक्त भिडिओमा एक जना व्यक्तिले सोध्छन्, “… ७ जना सुरुङबाट निस्किएको तपाईँहरू हो ?” त्यसपछि सुरुङबाट निस्किएका भनिएका व्यक्तिले ‘हजुर, हो’ भन्दै जवाफ दिएको सुनिन्छ । भिडिओमा भोटेकोशीको बाढी र सुरुङबाट निस्किएको प्रसङ्गबारे कुराकानी भएको छ ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा ४ हजार ३ सयभन्दा बढी रियाक्सन, ३ सय १९ कमेन्ट र ७ सय ५७ पटक सेयर भइसकेको छ भने भिडिओ १ लाख ६ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

सोही भिडिओ एक्स (ट्विटर) मा ४० हजारभन्दा बढी फलोअर्स भएका ‘सुनिल पौडेल’ नामक प्रयोगकर्ताले पनि उही दाबीसहित अपलोड गरेका छन् । सोमबार बिहान पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ, “१२ दिनपछि सुरुङबाट आफैँ निस्किएर आएकाहरू भन्छन् – भित्र अझै धेरै फसेका छन्…. ।”

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

यो भिडियो युट्युबमा पनि फैलिएको छ । सोही दाबीका साथ यो भिडियो ‘राज्यभ्लग’ लगायत विभिन्न युट्युब च्यानलहरूमा अपलोड गरिएको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

यस्तै, टिकटकमा ३१ हजार ७ सयभन्दा बढी फलोअर्स भएका ‘निखिल कार्की’ नामक प्रयोगकर्ताले पनि आइतबार सोही भिडियो पोस्ट गरेका छन् । फेसबुकसहित अन्य सामाजिक सञ्जालका विभिन्न पेज तथा प्रयोगकर्ताहरूले यो भिडियो व्यापक रूपमा सेयर गरिरहेका छन् ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा भाइरल भिडियोबाट केही ‘की-फ्रेम’हरू निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। अनुसन्धानका क्रममा फेला परेका प्रमाणहरू यस प्रकार छन्:

१. भिडिओ बाढीको दोस्रो दिनकै हो:

‘खस सिञ्जा दरबार क्षेत्र’ नामक फेसबुक एकाउन्टमा अगस्ट २७ को राति ९:२६ बजे नै “जुम्लाका ६ जना सुरुङभित्रबाट सकुशल उद्धार गरिएको छ” शीर्षकमा अपलोड गरिएको भिडिओ फेला पर्‍यो। उक्त भिडिओ र हाल भाइरल भइरहेको भिडिओका दृश्य हुबहु मिल्छन्। यो भिडिओ ‘किन्छो जीवन’ नामक फेसबुक प्रोफाइलबाट स्क्रिन रेकर्ड गरी राखिएको थियो। अगस्ट २७ मा अपलोड भएको प्रमाणले ती व्यक्तिहरू १२ दिनपछि निस्किएका हुन् भन्ने दाबीलाई सिधै खारेज गर्छ, किनकि त्यो भोटेकोशीमा बाढी आएको दोस्रो दिन मात्र थियो

हेर्नुहोस्, फोटो तथा भिडिओ :

हामीले ती फेसबुक प्रयोगकर्तालाई खोज्यौँ, तर उनको प्रोफाइल ‘लक’ भएकाले भिडियोहरू हेर्न पाएनौँ ।

२. संसद्मा सांसदको सम्बोधन र आधिकारिक विवरण

‘खस सिञ्जा दरबार क्षेत्र’ नामक फेसबुक एकाउन्टमा ती व्यक्तिहरू जुम्लाका भएको दाबी गरिएपछि हामीले गुगलमा ‘जुम्ला, सुरुङ, उद्धार…’ लगायतका ‘की-वर्ड’हरू राखेर खोजी गर्‍यौँ।

सो क्रममा भदौ १८ गतेको प्रतिनिधिसभा बैठकमा जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाहीले बोलेको भिडियो फेला पार्‍यौँ। प्रतिनिधिसभाको आधिकारिक युट्युब च्यानलमा भदौ १८ गतेको बैठकको भिडियो हेर्दा सांसद शाहीले बाढीग्रस्त क्षेत्रका ७ वटा टनेल (सुरुङ) मध्ये ५ वटामा कुनै उद्धार काम नभएको दाबी गर्दै जुम्लाका ६ जना मानिस सुरुङबाट निस्किएको विषय उठाएका छन् ।

भिडियोमा उनले भनेका छन्, “… यदि टनेल बन्द थियो भने जुम्लाकै लालवीर बुढा, रमेश बुढा र रामचन्द्र बुढालगायत ६ जना मान्छेहरू टनेलबाट जीवित आएका छन्, २०० मिटर भित्रबाट ।” यद्यपि, उनले कुन आयोजनाको टनेल भन्ने स्पष्ट खुलाएका छैनन् ।

हेर्नुहोस्, भिडिओ :

प्रतिनिधिसभा बैठकको पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यसपछि हामीले ‘लालवीर बुढा, रमेश बुढा र रामचन्द्र बुढा’का बारेमा थप खोजी गर्‍यौँ। सो क्रममा गोरखापत्र अनलाइनमा भदौ ११ गते बिहीबार प्रकाशित ‘रसुवा बाढी : पातारासीका ५५ श्रमिक सम्पर्कविहीन’ शीर्षकको समाचार भेट्यौँ।

उक्त समाचारमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाको पातारासी गाउँपालिकाका ५५ जना श्रमिक सम्पर्कविहीन भएको उल्लेख गर्दै नामावली सूची सार्वजनिक गरिएको थियो । भदौ ११ गते जारी सूचीमा सम्पर्कविहीन भएका र सम्पर्कमा आएका कामदारहरूको विवरण थियो, जसमा सांसद शाहीले भनेजस्तै लालवीर बुढा, रमेश बुढा र रामचन्द्र बुढा सम्पर्कमा आइसकेको उल्लेख छ ।

हेर्नुहोस्, सूची :

गोरखापत्रमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

३. स्थानीय तह, पत्रकार तथा उद्धारकर्ताको पुष्टि:

  • पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले भाइरल भिडिओमा देखिएका व्यक्तिहरू जुम्लाकै बासिन्दा भएको पुष्टि गरिन्

  • नेपाल पत्रकार महासंघ जुम्लाका कोषाध्यक्ष सागर परियारले ती व्यक्तिहरू रसुवाको ‘हाकु-२१६ जलविद्युत् आयोजना’मा कार्यरत श्रमिकहरू भएको र उनीहरू बाढीलगत्तै सुरक्षित निस्किएको जानकारी दिए

  • उद्धार कार्यमा संलग्न अमर विष्टले अगस्ट २९ मा फेसबुकमार्फत टनेल नं. २१६ मा पुगेर उद्धार गरिएको र प्रभावितहरूलाई रसुवा तथा त्रिशूलीका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी सार्वजनिक गरेका थिए। उनले पोस्ट गरेका तस्बिरहरूमा देखिएका व्यक्तिहरू र भाइरल भिडिओका व्यक्तिहरू हुबहु मिल्छन्पत्रकार सागर परियारले उपलब्ध गराएको उद्धारपछिको तस्बिरमा पनि ती व्यक्तिहरूलाई देख्न सकिन्छ ।

हेर्नुहोस्, फोटोहरू :

अमर विष्टको फेसबुक पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्राप्त प्रमाण, सार्वजनिक मिति र प्रत्यक्षदर्शीहरूको पुष्टिबाट भोटेकोशी बाढी आएको दोस्रो दिन (अगस्ट २७) नै सुरुङबाट निस्किएर सम्पर्कमा आइसकेका श्रमिकहरूको भिडिओलाई ‘१२ दिनसम्म थुनिएर आफैँ निस्किएको’ भन्दै गलत सन्दर्भ जोडेर भ्रम फैलाइएको स्पष्ट हुन्छ

तथ्य जाँच

दाबी : भोटेकोशी बाढीपछि सुरुङमा फसेका ७ जना मानिस १२ दिनपछि आफैँ निस्किए भन्दै भाइरल भिडिओ ।

दाबीकर्ता : ‘रुटिन अफ कञ्चनपुर यूएमएल’ फेसबुक पेज, सुनिल पौडेल (एक्स प्रयोगकर्ता), ‘राज्य भ्लग’ (युट्युब च्यानल), निखिल कार्कीसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। भाइरल भिडिओ हालको नभई बाढी आएको दोस्रो दिन (अगस्ट २७) सार्वजनिक भएको पुरानो सामग्री हो। ती श्रमिकहरू बाढी लगत्तै सुरुङबाट बाहिरिएका थिए र उद्धार टोलीको सम्पर्कमा आएका थिए। बाढी आएको दोस्रो दिनको दृश्यलाई १२ दिनसम्म सुरुङमा फसेको भनी गलत दाबीसहित प्रचार गरिएको हो


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add