तथ्यजाँच एआई जेनेरेटेड जलवायु र वातावरण भ्रामक सूचना

‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्दै भाइरल तस्बिर एआई निर्मित


‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्दै भाइरल तस्बिर एआई निर्मित

रसुवाको भोटेकोशीमा आएको बाढीलाई लक्षित गर्दै ‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्ने दाबीका साथ एउटा तस्बिर सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य-जाँचबाट उक्त तस्बिर वास्तविक नभई एआईद्वारा निर्मित भएको पुष्टि भएको छ।

के हो दाबी ?
उमेश श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ताले १ लाख ५४ हजारभन्दा बढी सदस्य रहेको ‘अर्जुन भुसाल सपोर्टर्स’ नामक फेसबुक ग्रुपमा मङ्गलबार एउटा तस्बिर सेयर गरे । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारहरू भेटिएको दाबी गर्दै अपलोड गरिएको उक्त तस्बिरमा मानिसहरू हिलोमा गडेको अवस्थामा देखिन्छन् ।

‘सुरुङमा यस्तो अवस्था भेटिए काम गर्नेहरु, हे भगवान । यो सहि होर’ भन्दै सेयर गरिएको उक्त पोस्टमा हामीले तथ्य-जाँच गर्दासम्म १ हजार ५ सय रियाक्सन, १७८ कमेन्ट र २९ पटक सेयर भइसकेको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

त्यस्तै, तारा बुढा नामक फेसबुक प्रयोगकर्ताले पनि सोही तस्बिर र दाबी ‘भोजराज थापा’ नामक फेसबुक ग्रुपमा गरेकी छिन् ।२ लाख २९ हजारभन्दा बढी सदस्य रहेको उक्त ग्रुपमा सेयर गरिएको पोस्टमा हामीले तथ्य-जाँच गर्दासम्म ७४९ रियाक्सन, १३२ कमेन्ट र २८ सेयर पुगेको छ ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

त्यसैगरी,२ लाख २३ हजारभन्दा बढी सदस्य रहेको ‘महावीर पुन फ्यान क्लब (महावीर पुन)’ नामक ग्रुपमा ‘नेपाल नोब्स खबर’ नामक एकाउन्टबाट पनि सोही दाबीसहित तस्बिर सेयर गरिएको छ। उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दासम्म ९०० रियाक्सन, १०७ कमेन्ट र ४६ सेयर भएका थिए ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

यसका अतिरिक्त उक्त तस्बिर तथा दाबी अन्य थुप्रै फेसबुक अकाउन्ट, पेज तथा ग्रुपहरूमा समेत व्यापक रूपमा फैलाइएको छ ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

के हो तथ्य ?
तथ्य-जाँचका क्रममा हामीले सुरुमा उक्त तस्बिरलाई ‘गुगल रिभर्स इमेज सर्च’ मार्फत खोजी गर्‍यौँ । खोजीका क्रममा कुनै पनि आधिकारिक सञ्चारमाध्यम तथा निकायले उक्त फोटो प्रयोग वा प्रकाशन गरेको भेटिएन ।

त्यसपछि हामीले भाइरल तस्बिरको सूक्ष्म विश्लेषण गर्‍यौँ । विश्लेषण गर्दा तस्बिरमा देखिएका मानिसका माटोमा डुबेको भए पनि अनुहार तथा शरीरका केही भाग अस्वाभाविक रूपमा स्पष्ट र चिल्लो देखिन्छन् । बीचतिर देखिएका केही व्यक्तिको आँखा, नाक तथा मुखको बनावटसमेत अस्वाभाविक देखिन्छ। त्यस्तै, सुरुङभित्रको प्रकाश र छायाको संयोजन पनि प्राकृतिकभन्दा फरक देखिन्छ ।

तस्बिरप्रति थप शङ्का लागेपछि प्राविधिक पुष्टि गर्न हामीले एआई तस्बिर पहिचान गर्ने टुल ‘ओपन एआई भेरिफाइ’ को प्रयोग गर्‍यौ । यो टुलले फोटोमा रहेका C2PA मेटाडाटा र सिन्थआईडी (SynthID) जस्ता डिजिटल वाटरमार्क वा प्राविधिक सङ्केतहरूको विश्लेषण गर्दछ ।

उक्त टुलको प्राविधिक विश्लेषणले सामाजिक सञ्जालमा भाइरल बनेको सो तस्बिर एआई निर्मित निष्कर्ष देखायो।

हेर्नुहोस्, प्राविधिक जाँचको स्क्रिन सट :

त्यस्तै,हामीले सो तस्बिरलाई ‘हाइभ मोडरेशन’मा पनि राखेर जाँच गर्‍यौ । उक्त जाँचले पनि सो तस्बिर एआई निर्मित भएको सङ्केत बलियो देखायो ।

हेर्नुहोस्, स्क्रिन सट :

तथ्य जाँच/निष्कर्ष
दाबी : रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र हिलोमा गडेको अवस्थामा कामदारहरू भेटिएको भन्दै भाइरल गराइएको तस्बिर।

दाबीकर्ता : उमेश श्रेष्ठ, तारा बुढा, नेपाल नोब्स खबर लगायत थुप्रै फेसबुक प्रयोगकर्ता, पेज तथा ग्रुपहरू।

तथ्य : भ्रामक (Misleading) । रसुवाको भोटेकोशी बाढीका कारण सुरुङमा कामदारहरू प्रभावित र फसेको घटना सत्य भए तापनि भाइरल गराइएको तस्बिर वास्तविक नभई एआई प्रविधि प्रयोग गरेर बनाइएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add