- टेकमान शाक्य
- अशोज ८, २०८३

प्रधानमन्त्री बालेनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएको दाबी गलत, भिडिओ असम्बन्धित
प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा दाबी गलत, भिडिओ पुराना एवम् असम्बन्धित पुष्टि भएको छ ।
के हो दाबी ?
दाबी नम्बर १ : राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक ग्रुपमार्फत Phulchandra Chaudhary नामक फेसबुक प्रयोगकर्ताले अमेरिका पुगेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घण्टी बजाएर स्वागत गरेको दाबीसहित २१ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् ।
भिडिओमा अमेरिकी राष्ट्रपति ट्रम्पले घण्टी बजाइरहेको देख्न सकिन्छ भने शीर्षकमा ट्रम्पले घण्टी बजाएर बालेनलाई स्वागत गरिएको दाबी गरिएको छ । भिडिओलाई १ हजार ६ सयभन्दा बढी पटक रियाक्ट गरिएको छ भने १०५ पटक कमेन्ट र ८१ पटक सेयर गरिएको छ ।
हेर्नुहोस् ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ समर्थक ग्रुपमार्फत भएको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
Phulchandra Chaudhary ले नै ‘हर्क सामपाङ राई’ नाम गरेको फेसबुक ग्रुपमार्फत् समेत सोही भिडिओ सार्वजनिक गरेको देखिन्छ । हर्क सामपाङ राई ग्रुपमा पनि सोही दाबी गरिएको छ ।
हेर्नुहोस् ‘हर्क सामपाङ राई’ ग्रुपमार्फत भएको पोस्टको स्क्रिनसट

हर्क सामपाङ्ग राई नामक ग्रुपको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
सन् २०२६ को सेप्टेम्बर २३ को दिन Anjan Adhikari नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि यही दाबीसहित २१ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् । उनको पोस्टमा पनि ट्रम्पले घण्टी बजाइरहेको देखिन्छ । शीर्षकमा बालेनलाई घण्टी बजाएर स्वागत गरिएको दाबी गरिएको छ ।
उनको पोस्टमा यो फ्याक्टचेक गर्ने समयसम्ममा ७ हजार २ सय पटक रियाक्ट भएको छ भने १५६ पटक कमेन्ट र २९० पटक सेयर भएको देखिन्छ । एक लाखभन्दा धेरै पटक हेरिएको छ ।
हेर्नुहोस् Anjan Adhikari नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी नम्बर २ : अरुण नेपाली लुइँटेल नाम गरेका फेसबुक प्रयोगकर्ताले एक जना पुरुष व्यक्तिले घण्टी बजाउँदै गरेको २५ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् ।
भिडिओमा कोट पाइन्ट र टाईसहितको पोसाकमा रहेका व्यक्तिले घण्टी बजाउँदै मञ्च नजिकैबाट हिँडिरहेको देखिन्छ । बालेन आउने भएपछि संयुक्त राष्ट्रसङ्घमा घण्टी बजाएर स्वागतको तयारी भएको पोस्टमा दाबी गरिएको छ । पोस्टलाई ६६० पटक रियाक्ट गरिएको छ भने ५५ पटक कमेन्ट र २२ पटक सेयर गरिएको छ ।
हेर्नुहोस् अरुण नेपाली लुइँटेलको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
टिकटकमा @nepalkomaya2277 ह्यान्डल भएका प्रयोगकर्ताले पनि सोही दाबीसहितको ३१ सेकेन्डको भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओमा अमेरिकामा बालेनलाई घण्टी बजाएर स्वागत गरिएको दाबी गरिएको छ ।
भिडिओलाई ४० हजारभन्दा धेरै पटक रियाक्ट गरिएको छ भने ८ सयभन्दा धेरै पटक कमेन्ट र १३ सयभन्दा धेरै पटक सेयर गरिएको छ । यो फ्याक्टचेक गर्ने समयसम्ममा ४ लाखभन्दा धेरै पटक भिडिओलाई हेरिएको छ ।
हेर्नुहोस् टिकटकमा @nepalkomaya2277 ह्यान्डलले पोस्ट गरेको भिडिओको स्क्रिनसट

टिकटक भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी १ को तथ्य
दाबी नम्बर १ को तथ्य खोज्नका लागि हामीले भिडिओबाट एउटा कीफ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ । यसको नतिजामा सीएनएनले साढे २ महिनाअघि सन् २०२६ को जुलाईमा भिडिओ इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेको भेटियो ।
उसले यो भिडिओ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसबाट न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) र Nasdaq को उद्घाटनको समयको भएको दाबी गरेको छ ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

सीएनएनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
सीएनएनले यससँग सम्बन्धित भिडिओसहितको समाचार वेब पेजमार्फत् पनि सार्वजनिक गरेको भेटियो । वेब पेज समाचारमा पनि यही ब्यहोरा दाबी गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसबाट Nasdaq र न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) को उद्घाटन घण्टी बजाएको, यो अवसरमा Trump Accounts को पहिलो दिनको कारोबार सुरु गरिएको समाचारमा दाबी गरिएको छ ।
बालबालिकाका लागि बचत तथा लगानी योजनाका रूपमा ल्याइएको ‘ट्रम्प अकाउन्ट’ योजना सन् २०२६ को जुलाई ४ देखि औपचारिक रूपमा सञ्चालनमा आएको समाचारमा उल्लेख गरिएको छ ।

सीएनएनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यससँग सम्बन्धित जानकारी ह्वाईटहाउसलेसमेत आधिकारिक वेब पेजमार्फत तस्बिरसहित सार्वजनिक गरेको भेटियो । अमेरिकी सरकारले आधिकारिक वेब पेजमार्फत तस्बिरसहित जानकारी सार्वजनिक गरेको छ ।
हेर्नुहोस् ह्वाईटहाउसको स्क्रिनसट

ह्वाईट हाउसको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी २ को तथ्य
दाबी नम्बर २ को तथ्य खोज्नका लागि हामीले भिडिओबाट कीफ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ । यसको नतिजामा TRT WORLD ले सन् २०२६ को सेप्टेम्बर २२ को दिन ३२ सेकेन्डको भिडिओ फेसबुकमार्फत पोस्ट गरेको भेटियो ।
घण्टी बजाएर संयुक्त राष्ट्रसङ्घको सभा हलमा घुमिरहेको भाइरल भिडिओसँग यो भिडिओ क्लिपसँग ठ्याक्कै मेल खान्छ । भिडिओ सार्वजनिक भएको यो समयमा प्रधानमन्त्री बालेन अमेरिका पुगिसकेका थिएनन् ।
हेर्नुहोस् TRT वर्ल्डको स्क्रिनसट

TRT world को ओरिजिनल लिंक यहाँ छ
नेपालफ्याक्टचेकले गरेको खोजीको क्रममा अर्को भिडिओ पनि फेला परेको छ । सन् २०२६ को सेप्टेम्बर २२ मा The Explofeed नामक फेसबुकबाट सार्वजनिक भिडिओमा यो दृश्य संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको भएको दाबी गरिएको छ ।

ओरिजिनल लिंक यहाँ छ
थप पुष्टिका लागि हामीले प्रधानमन्त्री बालेन्द्र शाह नेपालबाट अमेरिका कहिले गएका हुन् भनेर खोजी गर्यौँ । नतिजामा द काठमाडौँ पोस्टले सन् २०२६ को सेप्टेम्बर २३ बुधवारको दिन अमेरिका पुगेको दाबी गरेर समाचार पोस्ट गरेको भेटियो । जबकि यसभन्दा अगाडि नै उनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएको दाबीसहितका भिडिओ भाइरल भइसकेका थिए ।

द काठमाडौं पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
थप पुष्टिका लागि हामीले नेपालका प्रधानमन्त्री बालेनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएको हो कि होइन भनेर किवर्ड प्रयोग गरेर गुगलमा एडभान्स सर्च गरेर हेर्यौँ । तर हामीले बालेनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरेको दाबीलाई पुष्टि गर्ने गरी समाचार प्रकाशित भएको कतै पनि भेटेनौँ ।
तथ्यजाँच
दाबी : प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको दाबीसहितको भिडिओ
दाबीकर्ता : Phulchandra Chaudhary नामक फेसबुक प्रयोगकर्ता, Anjan Adhikari नामक फेसबुक प्रयोगकर्ता, अरुण नेपाली लुइँटेल नाम गरेका फेसबुक प्रयोगकर्ता र टिकटकमा @nepalkomaya2277 ह्यान्डल प्रयोगकर्ता ।
तथ्य : भ्रामक (Misleading), भाइरल भिडिओहरू प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएका दृश्यका होइनन्। ट्रम्पले घण्टी बजाएको भिडिओ ‘ट्रम्प अकाउन्ट’ सम्बन्धी कार्यक्रमको हो भने संयुक्त राष्ट्रसङ्घको घण्टी बजाएको भिडिओ पनि बालेनको अमेरिका भ्रमणसँग असम्बन्धित भिडिओ रहेको नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचबाट पुष्टि भएको छ ।