एआई जेनेरेटेड जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना वागमती

‘कृष्णभीर पहिरो’को भन्दै भाइरल तस्बिर एआईबाट सम्पादित


‘कृष्णभीर पहिरो’को भन्दै भाइरल तस्बिर एआईबाट सम्पादित

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरो र त्यहाँको ट्राफिक जाम भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर व्यापक भाइरल बनाइएको छ । तस्बिरमा पहिरो नजिक गाडीहरूको लामो लाइन देखिने र तलपट्टि पहिरो गएको स्थानमा पाल टाँगेर मानिसहरू बसेको जस्तो देखिन्छन् ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा कृष्णभीरमा सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएको घटना वास्तविक भए पनि सामाजिक सञ्जालमा भाइरल गरिएको उक्त तस्बिरको संस्करण एआई प्रयोग गरी सम्पादन गरिएको पुष्टि भएको छ ।

के हो दाबी ?

एक्समा २० हजारभन्दा बढी फलोअर्स भएका ‘मिङमार जी शेर्पा’ले बिहीबार एउटा पोस्ट गर्दै उक्त तस्बिर सेयर गरेका छन्। तस्बिरमा पहाडी क्षेत्रमा रहेको सडकमा लामो ट्राफिक जाम देखिन्छ, जहाँ ट्रक, बस तथा अन्य सवारीसाधनहरू लाइनमा रोकिएका छन् । सडकभन्दा तलतिर पहिरो कारण क्षति पुगेको जस्तो देखिने ठूलो भाग छ र त्यहाँ केही मानिसहरू पाल टाँसेर बसेको जस्तो दृश्य देखिन्छ।

उक्त पोस्टमा लेखिएको छ,“पहिरोको मुखैमा : यसरी तम्बु टाँगेर बस्ने, दर्जनौँ गाडी लाइन लगाएर बस्ने हामी नेपालीहरू या त बहादुरै हौँ या त महा मूर्खै हौँ ।”

हामीले तथ्यजाँच गर्दासम्म उक्त पोस्ट ३ हजारभन्दा बढी पटक हेरिएको छ भने यसमा २१ लाइक, ७ कमेन्ट र ३ पटक रिपोस्ट गरिएको छ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

सोही तस्बिर सेप्टेम्बरको सुरुतिर पनि सामाजिक सञ्जालमा फैलिएको देखिन्छ। उक्त तस्बिर कृष्णभीरको पहिरोको भन्दै दुई लाख २२ हजारभन्दा बढी फलोअर्स भएको   ‘कृषि प्रेस’ नामक फेसबुक पेजले सेप्टेम्बर २ मा पोस्ट गरेको थियो।

पोस्टमा “पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-नागढुंगा सडक खण्डको कृष्णभीरमा गएको पहिरो” भन्दै उक्त तस्बिरको दाबी गरिएको थियो।

हामीले तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा हजार ८ सय रियाक्सन, ४८ कमेन्ट र ७९ पटक शेयर भइसकेको देखिन्छ

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

अन्य थुप्रै सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताहरूले पनि कृष्णभीरको पहिरो भन्दै सोही तस्बिर अपलोड गरेका थिए ।

के हो तथ्य ?

१. कृष्णभीरको वास्तविक अवस्था :

तथ्यजाँचका क्रममा हामीले सुरुमा कृष्णभीर पहिरोसम्बन्धी समाचार तथा विवरण खोज्यौँ। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार भदौ १४ (अगस्ट ३०) मा त्रिशूली नदीको कटान तथा बाढीका कारण कृष्णभीरमा पृथ्वी राजमार्गको सडकखण्ड क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको थियो ।

पछि नयाँ ट्र्याक निर्माण गरी सेप्टेम्बर १७ देखि कृष्णभीर खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको समाचार प्रकाशित भएका छन्।

गोरखापत्र, रातो पाटी, कान्तिपुरमा प्रकाशित समाचारहरूको स्क्रिनसट :

कृष्णभीरमा सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएको घटना वास्तविक हो। तर, त्यस घटनाको प्रमाणका रूपमा सामाजिक सञ्जालमा भाइरल गरिएको तस्बिर भने छुट्टै जाँच गर्नुपर्ने देखियो।

२. गुगल रिभर्स इमेज सर्च :

त्यसपछि हामीले सामाजिक सञ्जालमा भाइरल भइरहेको कृष्णभीर पहिरोको तस्बिरको वास्तविक स्रोत खोज्न गुगलको रिभर्स इमेज सर्च प्रयोग गर्‍यौँ।खोजीका क्रममा विश्वसनीय सञ्चारमाध्यम वा आधिकारिक निकायले भाइरल भइरहेको यही संस्करण प्रयोग गरेको पाएनौँ । तर, ९ लाख ५८ हजार फलोअर्स भएको ‘सान्दार मिडिया एचडी’मा अगस्ट ३१ मा कृष्णभीर पहिरोसम्बन्धी पोस्टमा प्रयोग गरिएको तस्बिर भेटियो, जुन भाइरल तस्बिरसँग मिल्दोजुल्दो छ।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

उक्त तस्बिर र सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर तुलना गर्दा दुवैमा कृष्णभीरको सडक तथा वरपरको भौगोलिक संरचनासहितका मूल दृश्यहरू मिल्दोजुल्दो देखिन्छन्। तर भाइरल संस्करणमा थप दृश्य तथा सामग्रीहरू समावेश गरिएको देखिन्छ। शङ्का लागेपछि हामीले सामाजिक सञ्जालमा सेयर गरिएका अन्य संस्करणहरू पनि हेर्‍यौँ।

हामीले सामाजिक सञ्जालमा सेयर गरिएका अन्य संस्करणहरू हेर्दा ‘कृषि प्रेस’ लगायतका पेजमा राखिएका तस्बिरहरूमा गुगलको जेमिनाईको स्पष्ट लोगो देखियो। जेमिनाई एउटा एआई टुल हो, जसबाट डिजिटल तस्बिरहरू सिर्जना र सम्पादन गर्न सकिन्छ ।

हेर्नुहोस्, स्क्रिन सट :

त्यसपछि हामीले भाइरल तस्बिरलाई जेमिनाईमा अपलोड गरी त्यसमा SynthID सम्बन्धी जानकारी जाँच गर्‍यौँ । जाँचका क्रममा उक्त तस्बिरमा Google AI को SynthID वाटरमार्क सम्बन्धी संकेत प्राप्त भयो ।

SynthID एआईबाट सिर्जना वा सम्पादन गरिएका सामग्रीमा डिजिटल वाटरमार्क पहिचान गर्न प्रयोग हुने प्रविधि हो । त्यसैले उपलब्ध प्रमाणले भाइरल तस्बिरको उक्त संस्करणमा Google AI प्रयोग गरिएको देखाउँछ ।

हेर्नुहोस्, स्क्रिन सट :

त्यसपछि हामीले ‘मिङमार जी शेर्पा’ले सेयर गरेको तस्बिरको पनि प्राविधिक जाँच गर्‍यौँ । ‘हाइभ मोडरेशन’मार्फत गरिएको जाँचले उक्त तस्बिर एआईबाट निर्मित भएको नतिजा निकाल्यो ।

हेर्नुहोस्, स्क्रिन सट :

यसरी कृष्णभीरमा सडक क्षतिग्रस्त भएर यातायात अवरुद्ध भएको घटना वास्तविक भए पनि सामाजिक सञ्जालमा सो घटनाको भन्दै सेयर गरिएको तस्बिरको एआई प्रयोग गरी सम्पादन गरिएको पुष्टि हुन्छ ।

तथ्यजाँच

दाबी : पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो जाँदा सडकमा गाडी रोकिएको र पहिरोकै डिलमा मानिसहरू पाल टाँगेर बसेको तस्बिर ।

दाबीकर्ता : एक्स प्रयोगकर्ता ‘मिङमार जी शेर्पा’, फेसबुक पेज ‘कृषि प्रेस’ लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक (Misleading)/एआई निर्मित (AI Generated) । पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड क्षतिग्रस्त भई यातायात अवरुद्ध भएको घटना वास्तविक हो। तर, उक्त घटनाको भन्दै सामाजिक सञ्जालमा भाइरल गरिएको तस्बिरको संस्करण एआई प्रयोग गरी सम्पादन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add