- सुरज घिमिरे
- भदौ २४, २०८३

‘बाढीलाई फर्केर हेर्दा’ भन्दै भाइरल भिडिओ रसुवाको होइन, भारतको उत्तराखण्डको पुरानो
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको भन्दै ‘बाढीलाई फर्केर हेर्दा’ शीर्षकमा एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचबाट उक्त भिडिओ भारतको उत्तराखण्डस्थित चमोलीको नीति भ्यालीमा भएको प्राकृतिक विपद्को रहेको र रसुवाको बाढीसँग यसको कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ ।
के हो दाबी ?
७ हजार ३ सयभन्दा बढी फलोअर्स रहेको ‘एक्सप्लेन पोइन्ट टीभी’ नामक फेसबुक पेजबाट मंगलबार दिउँसो १:५० बजे एउटा भिडिओ पोस्ट भयो ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको भन्दै अपलोड गरिएको उक्त भिडिओको क्याप्सनमा ‘बाढीलाई फर्केर हेर्दा’ लेखिएको छ।४५ सेकेन्डको उक्त भिडिओमा बाढीले सडक, गाडी तथा विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको देखिन्छ ।
हामीले तथ्यजाँच गर्दासम्म उक्त पोस्ट ४५ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा २६७ रियाक्सन भएको देखिन्छ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
सोही भिडिओ र दाबी १२ हजार फलोअर्स रहेको ‘रियल टाइम नेपाल’ नामक फेसबुक पेजमा पनि मंगलबार दिउँसो १:५३ बजे अपलोड गरिएको पाइयो । हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ३७ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा ४५४ रियाक्सन भएको देखिन्छ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओबाट केही ‘की-फ्रेम’ निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । सो क्रममा ‘द अर्थ न्युज’ नामक युट्युब च्यानलमा अगस्ट ११, २०२६ सोही भिडिओ अपलोड भएको पाइयो ।
‘उत्तराखण्डको चमोलीमा क्लाउडबर्स्टले मच्चायो कहर, चालकले हिम्मत हारेनन्, मेसिन बचाए’ शीर्षकमा (नेपालीमा अनुवाद गरिएको) अपलोड गरिएको उक्त भिडिओ र अहिले रसुवाको बाढी भन्दै फैलाइएको भिडिओ हुबहु मिल्छ ।
हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
यसैगरी, सोही भिडिओ अगस्ट १० मा ‘न्यूज १८ जे एन्ड के’ (५ लाख १६ हजार सबस्क्राइबर) र ‘न्यूज १८ इन्डिया’ (४१ लाखभन्दा बढी सबस्क्राइबर) लगायतका भारतीय युट्युब च्यानलहरूमा पनि अपलोड भएको पाइयो। समाचारमा यो दृश्य भारतको उत्तराखण्डस्थित चमोलीमा भएको प्राकृतिक विपद्को भएको उल्लेख छ ।
हेर्नुहोस्, स्क्रिनसटहरू :

‘न्युज १८ जे एन्ड के’ मा अपलोड गरिएको भिडिओको लिङ्क

‘न्युज १८ इन्डिया’ नामक युट्युब च्यानल अपलोड गरिएको भिडिओको लिङ्क
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको नीति भ्याली (Niti Valley) क्षेत्रमा १० अगस्ट २०२६ मा क्लाउडबर्स्ट (बादल फाट्नु)का कारण ठुलो बाढी आई जनधनको क्षति भएको थियो ।यसरी भारतको पुरानो भिडिओलाई रसुवाको बाढीसँग जोडेर भ्रम फैलाएको पुष्टि हुन्छ ।
तथ्य जाँच/निष्कर्ष
दाबी : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको दृश्य भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओ ।
दाबीकर्ता : ‘एक्सप्लेन पोइन्ट टीभी’ र ‘रियल टाइम नेपाल’ नामक फेसबुक पेज।
तथ्य : भ्रामक (Misleading) । ‘बाढीलाई फर्केर हेर्दा’ भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओको रसुवाको बाढीसँग कुनै सम्बन्ध छैन । उक्त भिडिओ भारतको उत्तराखण्डस्थित चमोलीमा एक महिनाअघि भएको प्राकृतिक विपद्को हो ।