जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

‘बुटवलको डुबान’ भन्दै भाइरल भिडिओ भारतको सुरतको, अडिओ जोडेर फैलाइयो भ्रम


‘बुटवलको डुबान’ भन्दै भाइरल भिडिओ भारतको सुरतको, अडिओ जोडेर फैलाइयो भ्रम

टिकटकसहितका सामाजिक सञ्जालमा डुबानमा परेको सडक र मोटरसाइकल डोर्‍याउँदै गरेका मानिसहरूको दृश्यसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । बुटवल उपमहानगरपालिकामा ठुलो पानी परेको र खोला किनारका बासिन्दालाई सजग रहन आग्रह गरिएको अडिओ/माइकिङ जोडेर उक्त दृश्य बुटवलको भएको दाबी गरिएको छ ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भाइरल दृश्य बुटवलको नभई भारतको गुजरातस्थित सुरत सहरको भएको पुष्टि भएको छ ।

के हो दाबी ?

टिकटकमा २ लाख १३ हजारभन्दा बढी फलोअर्स रहेको ‘रामनाथ अफिसियल फर साइट’ नामक एकाउन्टमा शुक्रबार एउटा भिडिओ अपलोड भयो । भिडिओमा जलमग्न बनेको सडकमा मानिसहरूले मोटरसाइकल डोर्‍याइरहेको देखिन्छ ।

‘बुटवल उपमहानगरपालिका सावधान रहनुहोस् ठूलो मात्रामा पानी परेको छ’ भन्ने क्याप्सनसहित अपलोड गरिएको उक्त भिडिओको ब्याकग्राउन्डमा माइकिङ गरिएको आवाज सुनिन्छ ।

माइकिङमा भनिएको छ, “सूचना, सूचना, सूचना ! अत्यन्तै जरुरी सूचना । आदरणीय बुटवलबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, आगामी १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रमा रहने बासिन्दाहरू सुरक्षित साथ बसिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा २२ हजार ७ सयभन्दा बढी लाइक, १९० वटा कमेन्ट र ११ हजारभन्दा बढी पटक सेयर भइसकेको छ भने भिडिओलाई ४ लाख ५२ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

सोही भिडिओलाई टिकटकका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि बुटवलकै दृश्य भएको दाबी गर्दै सेयर गरेका छन् ।

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओका केही ‘की-फ्रेम’ निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । सर्चका क्रममा उक्त भिडिओ पहिले नै विभिन्न सामाजिक सञ्जाल तथा भारतीय सञ्चारमाध्यमहरूमा अपलोड भइसकेको पाइयो ।

युट्युबमा २० लाखभन्दा बढी सब्सक्राइबर रहेको ‘मोजो स्टोरी’को युट्युब च्यानलमा गत ९ जुलाई २०२४ मा सोही भिडिओ अपलोड भएको भेटियो । भिडिओको विवरणमा उक्त दृश्य भारतको गुजरातस्थित सुरत शहरको भएको उल्लेख छ ।

हेर्नुहोस्, स्क्रिन सट : 

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

भारतीय सञ्चारमाध्यम ‘एबीपी लाइभ’ मा ८ जुलाईमा प्रकाशित समाचार अनुसार उक्त दृश्य गुजरातको सुरतस्थित कटारगाम क्षेत्रको हो । समाचार अनुसार त्यतिबेला सुरतमा ३६ घण्टाभित्र १८ इन्च वर्षा भएको थियो, जसले सन् १९४१ को ८५ वर्ष पुरानो रेकर्ड तोडेको थियो ।

हेर्नुहोस्, एबीपी लाइभमा प्रकाशित समाचारको (मराठीबाट नेपालीमा अनुवाद गरिएको) स्क्रिन सट : 

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

इन्स्टाग्राममा ‘न्यूज नेशनल वर्ल्ड’ नामक एकाउन्टबाट पनि ८ जुलाईमा यही भिडिओ पोस्ट गरिएको थियो । जसमा लेखिएको छ – “लगातारको मुसलधारे वर्षाले सुरतको जनजीवन अस्तव्यस्त बनाएको छ । कटारगाम क्षेत्रको किरण अस्पताल नजिकका सडकहरू जलमग्न भएका छन्…”

हेर्नुहोस्, स्क्रिन सट : 

उक्त पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालका विभिन्न भागमा मनसुनी तथा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ ।

रुपन्देहीको बुटवलमा स्थानीय प्रशासन/प्रहरीले नदी तथा खोला किनारका बासिन्दालाई सतर्क रहन माइकिङमार्फत आग्रह गरेको थियो । सोही माइकिङको वास्तविक अडिओलाई भारतको गुजरातमा आएको बाढी/डुबानको भिडिओसँग जोडेर डिजिटल सम्पादन गरी बुटवलको दृश्य भन्दै भ्रम फैलाइएको पुष्टि हुन्छ ।

तथ्य जाँच

दाबी : रुपन्देहीको बुटवलमा वर्षाका कारण सडक जलमग्न भएको भाइरल भिडिओ ।

दाबीकर्ता : टिकटक प्रयोगकर्ता ‘रामनाथ अफिसियल फर साइट’ लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य : भ्रामक (Misleading) । भिडिओमा देखाइएको डुबानको दृश्य नेपालको बुटवलको नभई भारतको गुजरातस्थित सुरत शहरको हो । प्रहरीले गरेको वास्तविक माइकिङको अडियोलाई भारतको भिडिओसँग जोडेर टिकटकमा गलत दाबीसहित फैलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add