तथ्यजाँच भ्रामक सूचना वागमती

रास्वपाको फेक इन्गेजमेन्ट भन्दै फैलाइएको भिडिओ विदेशको पुरानो


रास्वपाको फेक इन्गेजमेन्ट भन्दै फैलाइएको भिडिओ विदेशको पुरानो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा समर्थित सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएर मिडिया मेनुपुलेट गरिरहेको दाबी गर्दै एउटा भिडिओ भाइरल बनिरहेको छ ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा अहिले भाइरल भइरहेको भिडिओ रास्वपा र रास्वपाका नेतासँग सम्बन्धित नभएको पुष्टि भएको छ ।

के हो दाबी ?

श्रम संस्कृति पार्टी पक्षधर Devraj New Creativity नाम गरेका फेसबुक प्रयोगकर्ताले सन् २०२६ क‍ो सेप्टेम्बर १२ को दिन ५९ सेकेन्डको एउटा भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओमा एउटा अर्को भिडिओक्लिप पनि देखाइएको छ ।

त्यहाँ थुप्रै मोबाइलहरू राखिएको देखिन्छन् भने केही व्यक्तिले कम्प्युटरको सहायताले  केही प्राविधिक गतिविधि गरिरहेका छन् । यही भिडिओलाई Devraj New Creativity नाम गरेका फेसबुक प्रयोगकर्ताले पुनः प्रयोग गरेको देखिन्छ ।

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ । 

दाबीको प्रभाव

भिडिओलाई सामाजिक सञ्जाल फेसबुकमा १७ हजार ७ सयभन्दा बढी पटक रियाक्ट गरिएको देखिन्छ ।  १ हजार ६ सय पटक कमेन्ट र ४ हजार ८ सयभन्दा धेरै पटक सेयर गरिएको छ । भिडिओलाई ३ लाख २८ हजारभन्दा धेरै पटक हेरिएको छ । सामाजिक सञ्जालमा व्यापक सेयर भएको यो भिडिओमाथि तथ्यजाँचका लागि नेपालफ्याक्टचेकलाई अनुरोधसमेत प्राप्त भएको छ ।

के हो तथ्य ?

सो भिडिओमाथि तथ्यजाँचका लागि हामीले सबैभन्दा पहिले मोबाइल फोन देखिने भिडिओको पुरै अंशमा प्रधानमन्त्री शाहसहित रास्वपाका नेता एवम् रास्वपा समर्थित पोस्टहरू छन् कि छैन भनेर सूक्ष्म रूपमा नियालेर हेर्‍यौँ । नतिजामा कुनै पनि मोबाइलमा राजनीतिक गतिविधि झल्कने या रास्वपा नेताको तस्बिर देखिने पोस्ट भेटिएन । उनीहरूको मात्रै होइन, ती मोबाइलका स्क्रिनमा कुनै पनि राजनीतिक व्यक्ति देख्न सकिँदैन ।

हेर्नुहोस् भिडिओबाट निकालिएको स्क्रिनसट

त्यसपछि हामीले भिडिओमा कम्प्युटर अपरेटरको रूपमा देखिएका व्यक्तिको कपडामा ध्यान दियौँ । जहाँ MINSoftware को लोगो र नामसमेत देख्न सकिन्छ ।

हेर्नुहोस् Minsoftware को लोगोसहितको कपडा लगाएका कम्प्युटर अपरेटर देखिने स्क्रिनसट

यो व्यक्तिबारे थप खोजी गर्ने क्रममा Hoàng Trang नाम गरेका फेसबुक प्रयोगकर्ताले सन् २०२६ को जुलाई १७ को दिन यही Minsoftware को लोगो देखिने कपडा लगाएको एक जना व्यक्तिसहितको २१ सेकेन्डको भिडिओ सार्वजनिक गरेको भेटियो । भिडिओमा  थुप्रै मोबाइलहरू देख्न सकिन्छ । मोबाइल राख्न प्रयोग भएको र्‍याक र देखिएका केबलको रङ्ग एउटै भेटिए ।

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

Hoàng Trang को फेसबुक प्रोफाइल थप अध्ययन गर्ने क्रममा उनी Minsoftware मा काम गर्ने कर्मचारी भनेर विवरण सार्वजनिक गरिएको भेटियो । उनको प्रोफाइल लिंकमा पनि Minsoftware जोडिएको भेटियो ।

फेसबुक प्रोफाइलको ओरिजिनल लिंक यहाँ छ

सो फेसबुक प्रोफाइलबाट सन् २०२३ देखि निरन्तर MINsoftware को गतिविधिसँग सम्बन्धी पोस्ट सार्वजनिक हुँदै आएको देखिन्छ । निरन्तर MINsoftware कै कार्यक्षेत्र देखिने भिडिओहरू पोस्ट हुनुले Hoàng Trang नाम गरेका फेसबुक प्रयोगकर्ता सो कम्पनीमा कार्यरत रहेको एवम् सो कम्पनीसँग सम्बन्धित देखिन्छ ।

त्यसपछि हामीले यो कम्पनीले गर्ने कामबारे थप खोजी गर्न यसको आधिकारिक वेब पेज भिजिट गर्‍यौँ । उसले आफ्नो वेब पेजमा आफूले गर्ने कामबारे व्याख्या गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्ने र सामाजिक सञ्जालका खाताहरू व्यवस्थापन गर्ने काम स्वचालित बनाएर  व्यवसायलाई समय र श्रम बचत गर्न सहयोग गर्नले काम हुँदै आएको Minsoftware ले सार्वजनिक दाबी गरेको छ ।

Minsoftware को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

सो भिडिओ कहिले पोस्ट भएको थियो भनेर खोजी गर्ने क्रममा यसलाई सन् २०२४ को जुन २९ को दिन नै modernnotoriety नाम गरेको भेरिफाईड ईन्स्टाग्राम अकाउन्टबाट पोस्ट गरेको भेटियो ।

पोस्टमा फोन फार्मिङको कुरा गरिएको छ । फोन फार्मिङ भनेको विभिन्न एप र सेवाहरू जस्तै विज्ञापन हेर्ने, सर्वेक्षण पूरा गर्ने वा क्रिप्टोकरेन्सी माइनिङ गर्ने लगायतका कामबाट आम्दानी उत्पन्न गर्न एकै पटक धेरै स्मार्टफोनहरू प्रयोग गर्ने व्यवस्था हो दाबी गरिएको छ ।

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

फोन फार्मिङबारे थप खोजी गर्ने क्रममा नक्कली अकाउन्टमार्फत कृत्रिम इन्गेजमेन्ट सिर्जना गर्ने नेटवर्कबारे अनुसन्धान रिपोर्ट सार्वजनिक भएको भेटियो ।

VPNMentor ले सार्वजनिक गरेको रिपोर्ट अनुसार हजारौँ नक्कली ईन्स्टाग्राम अकाउन्ट, proxy IP र automation प्रयोग गरेर लाईक, फलोअर्स, कमेन्ट तथा भिउज जस्ता कृत्रिम इन्गेजमेन्ट बढाउने नेटवर्कबारे चर्चा गरिएको छ । यो अध्ययनको मतलब नक्कली अकाउन्टमार्फत कृत्रिम इन्गेजमेन्ट सिर्जना गतिविधि भने हुने गरेको भेटियो ।

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ । 

यसबारे लिथुआनियाली समाचार संस्था 15min.lt ले  २०२४ को जुलाई ४ मा फेसबुक, ईन्स्टाग्रामलगायत सामाजिक सञ्जालका माउ कम्पनी मेटासँगको सहकार्यमा तथ्यजाँचसमेत गरेको भेटियो ।

यो फ्याक्टचेकले पनि भिडिओ नेपालसँग सम्बन्धित नरहेको पुष्टि हुन्छ । उसले निकालेको निष्कर्ष अनुसार सो भिडिओ राजनीतिक गतिविधिसँग सम्बन्धित छैन ।

क्लिक फार्म भनेको त्यस्तो ठाउँ हो जहाँ मानिसहरूको समूहले विभिन्न उद्देश्यका लागि अनलाइनमा ठूलो मात्रामा ट्राफिक उत्पन्न गर्दछ। यी अपरेसनहरूको साझा लक्ष्य कृत्रिम रूपमा ट्राफिक बढाउनु, एप स्टोरको श्रेणी करण हेरफेर गर्नु र खोज परिणामहरूलाई हेरफेर गर्नु हो।  यसको उद्देश्य लिङ्क, विज्ञापन, वा अनलाइन सामग्री (भिडियो, फोटो, लेख) मा क्लिक, सेयर, लाइक, फलोअर र एप डाउनलोडको सङ्ख्या बढाउनु हो ।

यसको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका नेताहरूले फेक इन्गेजमेन्टको सहारा लिएको दाबीलाई पुष्टि गर्ने गरी कुनै आधिकारिक सञ्चारमाध्यम या अरू कुनै खोज सार्वजनिक भएका छन् कि छैनन् भनेर खोजी गर्‍यौँ । तर नेपालफ्याक्टचेकले त्यस्तो कुनै पनि बलियो आधार एवम् प्रमाण भेट्टाउन सकेन ।

तथ्यजाँच

दाबी: रास्वपाले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएको दाबीको भिडिओ

दाबीकर्ता : Devraj New Creativity  नाम गरेका फेसबुक प्रयोगकर्ता

तथ्यजाँच : भ्रामक (misleading) : विभिन्न उद्देश्यका लागि अनलाइनमा ठूलो मात्रामा ट्राफिक उत्पन्न गर्नका लागि यस्ता गतिविधिहरू हुने गरेको भए पनि रास्वपाले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएको दाबीसहित अहिले भाइरल भइरहेको भिडिओ भने भ्रामक छ । पुरानो विदेशी भिडिओ रास्वपा एवम् राजनीतिक गतिविधिसँग सम्बन्धित छैन ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add