तथ्यजाँच भ्रामक सूचना

रसुवा बाढीसँग जोडेर भाइरल बनाइएका बालबालिकाका दुवै भिडिओ भियतनामका


रसुवा बाढीसँग जोडेर भाइरल बनाइएका बालबालिकाका दुवै भिडिओ भियतनामका

भोटेकोशीमा आएको बाढीमा परी आमाबुवा गुमाएका बालकले आफ्नो सानो भाइ/बहिनीलाई ढाडमा बोकेर हिँडेको भन्दै सामाजिक सञ्जालमा दुईवटा भिडिओ व्यापक भाइरल भइरहेका छन् । नेपाल र भारतका विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारमाध्यमहरूले समेत यी दृश्यलाई रसुवा बाढीको हृदयविदारक घटना भन्दै सेयर गरेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचबाट भाइरल बनाइएका दुवै भिडिओ नेपालका नभई भियतनामका पुराना भिडिओ भएको पुष्टि भएको छ ।


(सम्पादकीय नोट : यो तथ्यजाँचमा बालबालिकासम्बन्धी भिडिओ भएकाले हामीले फोटो र भिडिओका लिङ्कहरू प्रयोग गरेका छैनौँ । सम्बन्धित लिङ्कहरू सुरक्षित भने राखेका छौँ । कुन भिडिओको तथ्यजाँच गरिएको हो भन्ने सामान्य जानकारी दिन बालकको अनुहार नदेखिने एउटा तस्बिर प्रयोग गरेका छौँ ।)


के हो दाबी ?

‘शान्ति बिष्ट पल’ नामक फेसबुक प्रयोगकर्ताले सोमबार एउटा भिडिओ अपलोड गरिन्, जहाँ एक बालकले अर्का बालकलाई बोकिरहेका छन् । भिडिओमा रसुवाको भोटेकोशीमा आएको बाढीले आमाबुवा गुमाएपछि ती बालकले आफ्नो सानो भाइलाई ढाडमा बोकेर हिँडिरहेको दाबी गरिएको छ ।

भिडिओमा भनिएको छ, “रसुवा बाढीमा परेर आमाबुवा गुमाएका एक बालकले आफ्नो सानो भाइलाई ढाडमा बोकेर हिँडिरहेको दृश्यले सबैलाई भावुक बनाएको छ… रसुवामा आएको बाढीले धेरै बालबालिकाको भविष्य अन्धकार र सपनाहरू बन्द गरिदिएको छ…”

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा ६२ हजार ९ सयभन्दा बढी लाइक, १५ सयभन्दा बढी कमेन्ट र १३ सयभन्दा बढी सेयर भइसकेको छ भने भिडिओ ३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ ।

यस्तै, ‘चिल्ड्रेन भिजन नेपाल’ नामक फेसबुक पेजमा पनि सोमबार दिउँसो १:३३ बजे सोही बालकहरूको भिडिओ अपलोड गरिएको छ ।

“आँखाले आमाबुबालाई खोजिरहेको छ, शरीरले घाउको पीडा सहिरहेको छ, अनि सानो काखमा बहिनीलाई सम्हालिरहेका छन्…” क्याप्सनसहित अपलोड गरिएको यस भिडिओमा १ हजार १ सयभन्दा बढी रियाक्सन, २६ कमेन्ट, ३० सेयर र १२ हजारभन्दा बढी भ्युज रहेको छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन सट :

उक्त भिडिओ भारतीय सञ्चारमाध्यम (दैनिक भास्कर, दैनिक जागरण लगायत), सञ्चारकर्मी तथा एक्स (ट्विटर) प्रयोगकर्ताहरूले पनि नेपालको बाढीको दृश्य भन्दै व्यापक रूपमा फैलाएका छन् ।

हेर्नुहोस्, स्क्रिन सट :

यसैगरी, ‘सुष्मा’ नामक एक्स प्रयोगकर्ताले मङ्गलबार बिहान ७:५८ बजे अर्को एउटा भिडिओ अपलोड गरिन् । जसमा एक बालिकाले अर्का बालकलाई बोकेर हिँडिरहेको देखिन्छ ।

क्याप्सनमा लेखिएको छ, “मां बाप का साथ छूट गया लेकिन इन मासूम आंखों को आज भी उनके लौटने का इंतजार है। प्रे फर नेपाल”

उक्त भिडिओलाई पनि नेपालको भोटेकोशी बाढीसँग जोडेर भाइरल बनाइएको हो । तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा २ हजार ९ सय रियाक्सन, ७७ कमेन्ट, ७७२ रिपोस्ट र २९ हजार ७ सयभन्दा बढी भ्युज भइसकेको छ ।

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा भाइरल भिडिओबाट ती बालकको फोटो स्क्रिनसट गरी गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । सो क्रममा ‘द स्टेट्सम्यान’मा सोमबार (अगस्ट ३१) मा प्रकाशित एउटा तथ्य जाँच भेटियो ।

उक्त तथ्य जाँच अनुसार सो भिडिओ दृश्य निर्माता थिएन डुयेनले भियतनामको ‘हा जियाङु’ क्षेत्रमा कैद गरेका हुन् । निर्माता स्वयंले ‘द स्टेट्सम्यान’सँग कुरा गर्दै उक्त भिडिओ भियतनामकै भएको पुष्टि गरेका छन् ।

हेर्नुहोस्, स्क्रिन सट : 

थिएन डुयेनले गत अगस्ट २९ मा यो भिडिओ आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि अपलोड गरेका थिए ।

हेर्नुहोस्, स्क्रिन सट :

 

 

यसैगरी, दोस्रो भाइरल भिडिओको तथ्य जाँचका लागि निकालिएका स्क्रिन सटहरूलाई रिभर्स इमेज सर्च गर्दा ‘vietnamlocaladventures’ र ‘vietnamlocalimpact’ नामक इन्स्टाग्राम ह्यान्डलहरूमा गत जुन १४ मा अपलोड गरिएको भिडिओ भेटियो । उक्त भिडिओको क्याप्सनमा दृश्य उत्तरी भियतनामको भएको प्रस्ट उल्लेख छ ।

हेर्नुहोस्, स्क्रिन सट : 

यस्तै, सन् २०२४ डिसेम्बर १७ मा भियतनामी भाषाको ‘Lang Thang Đường Phố’ नामक फेसबुक पेजमा पनि सोही भिडिओ पोस्ट भएको भेटियो । उक्त पेजमा Cuộc sống của những đứa trẻ vùng cao शीर्षकसहित भिडिओ अपलोड गरिएको छ, जसको नेपाली अनुवाद ‘उच्च पहाडी क्षेत्रका बालबालिकाको जीवन’ भन्ने हुन्छ ।

यसरी रसुवाको भोटेकोशी बाढीमा आमाबुवा गुमाएका पीडित बालबालिकाको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएका दुवै भिडिओ नेपालका नभई भियतनामका पुराना भिडिओहरू हुन् । तसर्थ, यी दाबीहरू भ्रामक छन् ।

तथ्य जाँच
दाबी : रसुवाको भोटेकोशी बाढीमा आमाबुवा गुमाएका बालकले आफ्नो सानो भाइरबहिनी बोकेर हिँडेको दृश्य ।

दाबीकर्ता : फेसबुक प्रयोगकर्ता शान्ति बिष्ट पल, चिल्ड्रेन भिजन नेपाल, एक्स प्रयोगकर्ता सुष्मा र केही भारतीय मिडिया ।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडिओहरू नेपालको बाढीका नभई भियतनामका फरक-फरक समयका पुराना भिडिओ हुन् ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add