- टेकमान शाक्य
- अशोज ३, २०८३

कुकुरलाई सेती नदीमा खसाल्ने महिला पक्राउ परेको दाबी सत्य, भाइरल तस्बिर एआई निर्मित
कुकुरलाई सेती नदीमा खसालेको आरोपमा महिला पक्राउ परेको दाबीसहित केही तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा महिला पक्राउ परेको घटना सत्य भए पनि भाइरल तस्बिरहरू भने एआई निर्मित पुष्टि भएको छ ।
के हो दाबी ?
दाबी नम्बर १ : बझाङमा कुकुरलाई सेती नदीमा खसालेको घटनासँग सम्बन्धित आरोपमा एक महिला पक्राउ परेको दाबीसहितको तस्बिर १ लाख ४४ हजार फलोअर्स रहेको शिव सेना नेपाल लुम्बिनी नामक फेसबुक पेजमार्फत सार्वजनिक भएको छ ।
पोस्ट २०२६ सेप्टेम्बर १७ मा सार्वजनिक भएको देखिन्छ। तथ्यजाँचको समयसम्ममा पोस्टलाई १ हजार २ सय पटक रियाक्ट गरिएको छ भने २ सय ४२ कमेन्ट र ५० पटक सेयर भएको देखिन्छ ।
हेर्नुहोस् पोस्टको स्क्रिनसट

शिव सेना नेपाल लुम्बिनिको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ
दाबी नम्बर २ : वर्णन मिडिया डटकमले पनि कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ परेको खबर सार्वजनिक भएको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।
वर्णन मिडियाले प्रकाशित गरेको यही तस्बिरसहितको समाचार हाम्रोपात्रोमासमेत सेयर भएको छ ।
हेर्नुहोस् पोस्टको स्क्रिनसट

वर्णन मिडिया डटकमको ओरिजिनल लिंक यहाँ छ भने हाम्रोपात्रोमा प्रकाशित अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यसबारे तथ्यजाँचका लागि सबैभन्दा पहिले हामीले नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म अध्ययन गर्यौं । त्यसक्रममा नेपाल प्रहरीले आफ्नो भेरिफाइड फेसबुक पेजमा कुकुर सेती नदीमा फाल्ने महिला पक्राउ गरेको पोस्ट सार्वजनिक गरेको भेटियो ।
विवरणमा पक्राउ पर्ने महिला बझाङको जयपृथ्वी नगरपालिका–३ की ४२ वर्षीया बिमला देवी रोकाया रहेको उल्लेख गरिएको छ । उनलाई २०८३ साल असोज १ गते साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

नेपाल प्रहरीको ओरिजिनल लिंक यहाँ छ।
यही दाबीसहितको पोस्ट जिल्ला प्रहरी कार्यालय बझाङको फेसबुक पेजमा पनि प्रकाशित भएको भेटियो। पोस्टमा जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने महिलालाई पक्राउ गरिएको दाबी गरिएको छ ।
हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरीले गरेको पोस्टको स्क्रिनसट

जिल्ला प्रहरी कार्यालय बझाङको ओरिजिनल लिंक यहाँ छ ।
भाइरल तस्बिरहरू र नेपाल प्रहरीले सार्वजनिक गरेको तस्बिरको प्रकाशन मिति पनि तुलना गर्यौँ। भाइरल तस्बिरहरू नेपाल प्रहरीले घटनासम्बन्धी तस्बिर सार्वजनिक गर्नुअघि नै सामाजिक सञ्जालमा फैलिएको भेटियो। साथै प्रहरीद्वारा सार्वजनिक गरिएको तस्बिर र भाइरल तस्बिरबीच तुलना गर्दा दुवैमा देखिने दृश्य समान नभएको पाइयो।
त्यसपछि हामीले पहिलो भाइरल तस्बिर एआईबाट निर्मित हो कि होइन भनेर प्राविधिक परीक्षण गर्यौँ। प्राविधिक परीक्षणको क्रममा दाबी नम्बर १ को तस्बिर गुगल एआईमार्फत निर्मित भएको देखायो।
हेर्नुहोस्, प्राविधिक जाँचको नतिजाको स्क्रिनसट :

दोस्रो भाइरल तस्बिरलाई पनि ‘ओपनएआई भेरिफाइ’मार्फत प्राविधिक जाँच गर्यौँ। नतिजामा यो तस्बिर पनि एआईको सहायताले बनाइएको पुष्टि भयो ।
हेर्नुहोस्, प्राविधिक जाँचको नतिजाको स्क्रिनसट :

यसका साथै, WasItAI एआई डिटेक्टर टुलमार्फत जाँच गर्ने क्रममा पनि तस्बिरहरू एआई निर्मित भएको देखायो ।

यसरी नेपाल प्रहरी तथा जिल्ला प्रहरी कार्यालय बझाङका आधिकारिक विवरणबाट महिला पक्राउ परेको घटना वास्तविक रहेको पुष्टि हुन्छ। तर, सो घटनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा भाइरल गरिएका तस्बिरहरू प्रहरीद्वारा सार्वजनिक गरिएको वास्तविक तस्बिरसँग मेल खाँदैनन् र प्राविधिक परीक्षणहरूले ती तस्बिरहरू एआईबाट सिर्जना गरिएका हुन्।
तथ्यजाँच
दाबी : कुकुरलाई सेती नदीमा खसालेको आरोपमा महिला पक्राउ परेको दाबीसहितको तस्बिर
दाबीकर्ता : शिव सेना नेपाल लुम्बिनी नामक फेसबुक पेजलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता र वर्णन मिडिया नामक वेबपेज
तथ्यजाँच : भ्रामक (Misleading) : कुकुरलाई सेती नदीमा फालेको आरोपमा बझाङकी ४२ वर्षीया बिमला देवी रोकाया पक्राउ परेको घटना सत्य हो। नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय बझाङले उनको पक्राउ पुष्टि गरेका छन्। तर, उक्त घटनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा भाइरल गरिएका तस्बिरहरू वास्तविक नभई एआईबाट निर्मित एवम् भ्रामक छन् ।