- टेकमान शाक्य
- अशोज २३, २०८३

नाना पाटेकरले नेपालबारे बोलेको भनिएको भाइरल भिडिओ ‘एआई-निर्मित’
भारतीय अभिनेता नाना पाटेकरको मृत्युको समाचारसँगै उनले नेपाल र नेपालीको साहसको प्रशंसा गर्दै अभिव्यक्ति दिएको दाबीसहितको एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडिओ वास्तविक नभई पुरानो भिडिओमा एआई प्रविधिमार्फत नक्कली आवाज र दृश्य हेरफेर गरी बनाइएको पुष्टि भएको छ।
के हो दाबी ?
टिकटक प्रयोगकर्ता @nepali_politics ले सन् २०२६ अक्टोबर ८ मा १६ सेकेन्ड लामो एउटा भिडिओ क्लिप सार्वजनिक गरेका छन्। उक्त भिडिओमा भारतीय अभिनेता नाना पाटेकरले नेपाल र नेपाली जनताको साहसको खुलेर प्रशंसा गरेको सुनिन्छ।
यो फ्याक्टचेक गर्ने समयसम्ममा भिडिओलाई टिकटकमा २ लाख ९६ हजारभन्दा धेरै पटक हेरिएको छ । ४८ हजारभन्दा धेरैपटक रियाक्ट, १ हजार २ सयभन्दा धेरै पटक कमेन्ट र १ हजार २ सयभन्दा धेरै पटक सेयर भएको छ ।
हेर्नुहोस् टिकटक ह्यान्डल @nepali_politics स्क्रिनसट

नेपाली पोलिटिक्सको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पनि भारतीय अभिनेता नाना पाटेकरले नेपाल र नेपाली जनताबारे बोलिरहेको १७ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् ।
उनले भिडिओको क्याप्सनमा लेखेका छन्- “बितेर गयौ तर नेपाली जनतालाई गुण लगाएर गयौ ! …” । भिडिओलाई हामीले तथ्य जाँच गर्दासम्म १४ हजारभन्दा धेरै पटक हेरिएको छ । २९ पटक कमेन्ट र १९ पटक सेयर भएको देखिन्छ ।
हेर्नुहोस् किशोर श्रेष्ठको स्क्रिनरेकर्ड
किशोर श्रेष्ठको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
यस दाबीको तथ्य जाँचका लागि हामीले निम्न चरणहरू अपनायौँ:
१. पृष्ठभूमि र निधनको खबर पुष्टि
दाबीमा नाना पाटेकर दिवंगत भएको उल्लेख गरिएकाले हामीले गुगलमा ‘नाना पाटेकर’, ‘Nana Patekar’ किवर्ड प्रयोग गरी खोजी गर्यौँ। बिबिसी लगायत अन्तर्राष्ट्रिय तथा भारतीय सञ्चारमाध्यमहरूले उनको निधनसम्बन्धी समाचार प्रकाशित गरेको पाइयो।
हेर्नुहोस् बिबिसीले लेखेको समाचारको स्क्रिनसट

बिबिसीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२. मूल भिडिओको खोजी र तुलना
भाइरल भिडिओको मुख्य फ्रेम निकाली गुगल रिभर्स इमेज सर्च गर्दा नाना पाटेकरको आधिकारिक (भेरिफाइड) फेसबुक पेजमा सन् २०२५ जनवरी ४ मा अपलोड गरिएको ११ मिनेट २१ सेकेन्ड लामो भिडिओ फेला पर्यो।

नाना पाटेकरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
थप खोजी गर्दा Zee Music Company को युट्युब च्यानलमा सन् २०२४ डिसेम्बर २४ मा अपलोड भएको २५ मिनेट ३५ सेकेन्डको पूर्ण भिडिओ पनि भेटियो।
-
दृश्य तुलना: भाइरल भिडिओमा देखिएको पृष्ठभूमि, उनले लगाएको पहिरन, कलरमा जोडिएको पिन माइक तथा फ्रेम २०२४ मा रेकर्ड भई सार्वजनिक भएको उक्त अन्तर्वार्तासँग हुबहु मेल खान्छ।
-
अन्तर्वार्ताको विषयवस्तु: Zee Music Company तथा फेसबुकमा रहेको मूल भिडिओलाई पूर्ण रूपमा सुन्दा र केलाउँदा उनले कतै पनि नेपाल वा नेपाली जनताको साहसको प्रशंसा गरेर अभिव्यक्ति दिएका छैनन्।
हेर्नुहोस् Zee Music Company को स्क्रिनसट

युटुबको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
३. प्राविधिक तथा एआई परीक्षण
भाइरल क्लिपमा नाना पाटेकरको आवाज र ओठको चाल (lip-sync) अस्वाभाविक देखिएपछि हामीले विभिन्न डिजिटल फरेन्सिक टुलमार्फत परीक्षण गर्यौँ।
हामीले ओपनएआई र गुगलको सिन्थआईडी जाँच गरेर हेर्दा सो टुलमार्फत् वाटरमार्क फेला परेन ।
तर HIVE DETECT मार्फत् जाँच गरेर हेर्दा भिडिओमा प्रयोग भएको आवाज एआई जेनेरेटेड हुन सक्ने सम्भावना ६८ दशमलव ५ प्रतिशत देखियो ।
हेर्नुहोस् HIVE DETECT को नतिजाको स्क्रिनसट

हामीले bitmind मार्फत जाँच गरेर हेर्यौँ । यो टुलले पनि भिडिओ एआई निर्मित हुन सक्ने सम्भावना ९५ प्रतिशत देखायो ।
हेर्नुहोस् bitmind ले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले फेसबुकको माउ कम्पनी मेटाको मेटा एआईमार्फत निर्मित हो कि होइन भनेर जाँच गरेर हेर्यौँ । यसको नतिजामा भिडिओमा मेटा एआईको सिग्नेचर भेटियो। यसको अर्थ यो भिडिओ एआईबाट बनाइएको वा सम्पादन गरिएको हुन आउँछ।
हेर्नुहोस् मेटा एआईको आईडेन्टिफिकेशनले दिएको नतिजाको स्क्रिनसट

तथ्यजाँच
दाबी : दिवंगत भारतीय अभिनेता नाना पाटेकरले नेपालबारे बोलेको भिडिओ।
दाबीकर्ता : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, @nepali_politics टिकटक ह्यान्डलसहित सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। भाइरल भिडिओ वास्तविक होइन। सन् २०२४ को डिसेम्बरमै सार्वजनिक भएको नाना पाटेकरको पुरानो अन्तर्वार्ताको दृश्यमा एआई प्रविधिमार्फत कृत्रिम आवाज (Deepfake Audio) र लिप-सिंक जोडेर नेपालबारे बोलेको भन्दै भ्रम फैलाइएको हाम्रो तथ्यजाँचबाट पुष्टि हुन्छ।