- टेकमान शाक्य
- अशोज २५, २०८३

रसुवाको बाढीपछि ४१ नेपालीले धर्म परिवर्तन गरेको दाबीसहितको भिडिओ भ्रामक
रसुवाको भोटेकोशी बाढीपछि सनातन धर्म मान्ने ४१ जना नेपालीले धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाएको दाबीसहितको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त दाबी भ्रामक पुष्टि भएको छ। भाइरल सामग्रीमा प्रयोग गरिएको फोटो बाढी आउनुभन्दा ३ वर्षअघि (सन् २०२३) कै भएको र यसको हालैको भोटेकोशी बाढीसँग कुनै सम्बन्ध नरहेको पाइएको छ।
के हो दाबी ?
१ लाख २७ हजार फलोअर्स रहेको ‘Bedika KC’ नामक फेसबुक प्रयोगकर्ताले सन् २०२६ अक्टोबर १० का दिन बेलुका ६ बजेर १८ मिनेटमा ४ मिनेट ३८ सेकेन्ड लामो एक भिडिओ अपलोड गरेकी छन्।
उक्त भिडिओमा उनले रसुवाको भोटेकोशी बाढीपछि सनातन धर्म मान्ने ४१ जना नेपालीहरूले धर्म परिवर्तन गरेर मुस्लिम भएको दाबी गरेकी छन्।
यस दाबीको स्रोतका रूपमा उनले ‘Scroll Pakistan’ नामक फेसबुक पेजको पोस्टलाई देखाएकी छन्।
हेर्नुहोस् बेदिका केसीले गरेको पोस्टको स्क्रिनसट

बेदिका केसीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
भिडिओ अपलोड भएसँगै सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
यो तथ्य जाँच गर्दासम्म केसीको भिडियोमा ८ हजार ७ सय रियाक्सन, ८ सयभन्दा बढी कमेन्ट र ६ सयभन्दा बढी सेयर छ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले निम्न विधि तथा प्रमाणहरूको खोजी गर्यौँ:
१. प्राथमिक स्रोतको पहिचान:
बेदिका केसीले स्क्रिनसट प्रयोग गरेको ‘Scroll Pakistan’ (१ लाख ३१ हजार फलोअर्स) नामक फेसबुक पेजमा पुगेर हेर्दा, उक्त पेजले सन् २०२६ अक्टोबर ८ मा एउटा तस्बिरसहित पोस्ट सार्वजनिक गरेको भेटियो।
पोस्टमा ४१ जना नेपालीहरूले शहादा पढेर इस्लाम धर्म अपनाएको दाबी मात्र गरिएको छ। तर, त्यसमा रसुवा वा भोटेकोशी बाढीको कुनै उल्लेख छैन। उक्त पोस्टमा सम्पादन भए/नभएको इतिहास जाँच गर्दासम्म कुनै हेरफेर गरिएको देखिएन।
हेर्नुहोस् scrool pakistan को स्क्रिनसट

पोस्टको ओरिजिनल लिंक यहाँ छ ।
२. रिभर्स इमेज सर्च तथा भिडिओको टाइमलाइन:
उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमार्फत खोज्दा ‘almuslimun aljudud’ नामक युट्युब च्यानलमा सन् २०२३ जुन ११ मा अपलोड भएको १३ सेकेन्डको भिडिओ फेला पर्यो।
अरबी भाषाको शीर्षक राखिएको उक्त भिडिओमा ४१ नेपाली युवाले इस्लाम धर्म स्वीकार गरेको उल्लेख छ। यो सामग्री बाढी आउनुभन्दा ३ वर्षअघि नै इन्टरनेटमा उपलब्ध भइसकेको थियो।
यसैगरी, सोही भिडिओ ‘New Muslims Revert’ नामक फेसबुक प्रोफाइल (८ लाख ७५ हजार फलोअर्स) बाट सन् २०२४ अप्रिल ३ मा पनि पोस्ट भएको भेटियो। यसले पनि दृश्य पुरानै भएको थप पुष्टि गर्छ।
हेर्नुहोस् almuslimun aljudud ले गरेको पोस्टको स्क्रिनसट

almuslimun aljudud को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
हेर्नुहोस् New Muslims Revert को स्क्रिनसट

new muslims revert को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
३. स्वतन्त्र समाचार स्रोतहरूको खोजी:
रसुवाको भोटेकोशी बाढीपछि ४१ जना नेपालीले धर्म परिवर्तन गरेको जस्तो संवेदनशील घटनाबारे कुनै पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय वा स्थानीय विश्वसनीय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको भेटिएन।
३ वर्ष पुरानो भिडिओमा देखिएका व्यक्तिहरु नेपाली नै हुन् भन्ने आधार पनि हामीले भेट्टाउन सकेनौँ। यद्यपि, भिडिओमा देखिएको दृश्यलाई एआईबाट सम्पादन गरी स्क्रोल पाकिस्तानले राखेको फोटोलाई नै आधार बनाएर केसीले हालैको भोटेकोशी बाढीसँग जोडी भ्रामक सन्दर्भ सिर्जना गरिएको देखिन्छ।
हेर्नुस्, बेदिका केसीको भिडिओमा देखिएको र स्क्रोल पाकिस्तानले राखेको फोटोमा देखिएको ओपनएआईको सिन्थ आइडी जसको अर्थ यो फोटो ओपनएआईबाट बनाइएको वा सम्पादन गरिएको हुन्छ।
तथ्यजाँच
दाबी : रसुवा बाढीपछि बुद्ध र सनातन धर्म मान्ने ४१ नेपालीले मुस्लिम धर्म स्वीकार गरेको ।
दाबीकर्ता : Bedika KC सहित सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। सामाजिक सञ्जालमा प्रयोग गरिएको दृश्य सन् २०२३ मै सार्वजनिक भइसकेको पुरानो सामग्री हो। ३ वर्ष पुरानो भिडिओलाई हालैको भोटेकोशी बाढीसँग जोडेर गलत सन्दर्भमा प्रस्तुत गरिएको छ।
