तथ्यजाँच भ्रामक सूचना वागमती

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी छाडेको दाबी भ्रामक, नेकपामै रहेर अभियान घोषणा


पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी छाडेको दाबी भ्रामक, नेकपामै रहेर अभियान घोषणा

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेको दाबीसहित मुख्यधारका केही अनलाइन सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन्।

तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा खनालले पार्टी परित्याग गरेको दाबी भ्रामक रहेको पुष्टि भएको छ। खनालले पार्टीमै रहेर ‘समाजवादी जागरण अभियान’ सुरु गरेको उनको घोषणाको भिडिओ तथा स्वयम् उनीसँगको संवादबाट स्पष्ट हुन्छ।

के हो दाबी ?

२०८३ असोज १९ गते अनलाइन सञ्चारमाध्यम ईकान्तिपुर डटकमले ‘नेकपाबाट अलग भए झलनाथ खनाल, कम्युनिस्टहरूलाई एकताबद्ध गर्न अभियान घोषणा’ शीर्षकमा समाचार प्रकाशित गर्‍‍यो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खनालले पार्टीबाट अलग भएको घोषणा गरी ‘समाजवादी जागरण अभियान’ सुरु गरेको समाचारमा दाबी गरिएको छ।

हेर्नुहोस् ईकान्तिपुरको स्क्रिनसट

ईकान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यही दाबीसहित थाहाखबर डटकमले पनि ‘झलनाथले नेकपा छाडे, ‘समाजवादी जागरण अभियान’ घोषणा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा खनाल नेकपाबाट बाहिरिँदै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित अघि बढेको उल्लेख छ।

हेर्नुहोस् थाहाखबर डटकमको स्क्रिनसट

थाहाखबरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यसैगरी, सिलापत्र डटकमले ‘झलनाथ खनालले त्यागे नेकपा, समाजवादी जागरण अभियान घोषणा’ शीर्षकमा र नेपालखबर डटकमले लिडलाइनमै खनाल पार्टीबाट बाहिरिएको दाबीसहित समाचार सम्प्रेषण गरेका छन्।

हेर्नुहोस् सिलापत्र डटकमको स्क्रिनसट

सिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।

हेर्नुहोस् नेपालखबरको स्क्रिनसट

नेपालखबरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यसको प्रभाव

मूलधार एवं स्थापित सञ्चारमाध्यमहरूले नै खनालले पार्टी परित्याग गरेको समाचार प्रकाशित गरेपछि अन्य थुप्रै डिजिटल पोर्टल तथा सामाजिक सञ्जालमा यो विषय तीव्र गतिमा फैलिएको छ। सामाजिक सञ्जालमा भ्रम सिर्जना भई पाठक तथा कार्यकर्ता वृत्तमा पार्टी विभाजन वा खनालको बहिर्गमन भएको भन्दै व्यापक बहस सुरु भएको देखिन्छ।

के हो तथ्य ?

यस दाबीको तथ्यजाँचका लागि हामीले पत्रकार सम्मेलनको पूर्ण भिडिओ सामग्री र सम्बन्धित पक्षसँग प्रत्यक्ष संवाद गर्‍यौँ।

१) पत्रकार सम्मेलनको भिडिओ

समाजवादी जागरण अभियान घोषणाका क्रममा पूर्वप्रधानमन्त्री खनालले गरेको पत्रकार सम्मेलनको फरकधारको आधिकारिक युट्युब च्यानलमा उपलब्ध १५ मिनेट ५३ सेकेन्डको भिडिओ सूक्ष्म रूपमा अध्ययन गरियो। उक्त सम्बोधनमा उनले पार्टी परित्याग गरेको कतै उल्लेख गरेका छैनन्।

फरकधारको युटुब लिंक यहाँ छ ।

त्यस्तै, पत्रकार सम्मेलनको क्रममा रेकर्ड गरिएको उपलब्ध ३३ मिनेट ५९ सेकेन्डको अर्को पूर्ण भिडिओ सुन्दा पनि उनले कतै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छाडेको घोषणा गरेका छैनन्। उनले सम्बोधनका क्रममा समाजवादी जागरण अभियान घोषणाको औचित्य, नेपालमा कम्युनिस्ट आन्दोलनको अवस्था र कम्युनिस्ट एकताको आवश्यकतामाथि मात्र जोड दिएका छन्।

२) स्वयम् खनालको प्रतिक्रिया

दाबीबारे थप प्रष्ट हुन नेपालफ्याक्टचेकले पूर्वप्रधानमन्त्री खनालसँग प्रत्यक्ष टेलिफोन सम्पर्क गर्‍यो। खनालले आफूले पार्टी परित्याग गरेको कुरा अस्वीकार गर्दै भने:

“मैले पार्टी परित्याग गरेको छैन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मै रहेर कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाउन ‘समाजवादी जागरण अभियान’ सुरु गरिएको हो।”

सुन्नुस् खनालसँगको कुराकानी

तथ्यजाँच

दाबी: झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको ।

दाबीकर्ता : ईकान्तिपुर, थाहाखबर, सिलापत्र, नेपालखबर लगायतका अनलाइन पोर्टल तथा सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)। पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेको विषय सत्य हो। तर उनले सोही प्रयोजनका लागि नेकपा परित्याग गरेको भन्दै प्रकाशित समाचार भ्रामक छन्। पत्रकार सम्मेलनको पूर्ण सम्बोधन तथा स्वयम् खनालले नेपालफ्याक्टचेकलाई दिएको अभिव्यक्ति अनुसार उनी नेकपामै आबद्ध रहेर अभियान सञ्चालन गरिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add