एक्सप्लेनर जलवायु र वातावरण सही सूचना

क्लाउड ब्रस्ट अर्थात् ‘आरीघोप्टे वर्षा’ : एकैछिनको वर्षाले कसरी निम्त्याउँछ ठूलो विपद् ? (एक्स्प्लेनर)


क्लाउड ब्रस्ट अर्थात् ‘आरीघोप्टे वर्षा’ : एकैछिनको वर्षाले कसरी निम्त्याउँछ ठूलो विपद् ? (एक्स्प्लेनर)

नेपालमा अचानक ठूलो वर्षा भएपछि सुनिने एउटा शब्द हो – क्लाउड ब्रस्ट अर्थात् आरीघोप्टे वर्षा । छोटो समयमा हुने यस्तो अत्यधिक वर्षाले पहाडी तथा भिरालो भू-भागमा पहिरो र भलबाढी निम्त्याउँछ भने तराईका समथर भू-भागहरू डुबानमा पर्छन् । यसरी अचानक भीषण वर्षा भई विपद् निम्तिएपछि क्लाउड ब्रस्ट भएको हुन सक्ने अनुमान गरिन्छ । हामी यस एक्स्प्लेनरमार्फत क्लाउड ब्रस्टका विविध पक्षहरूका बारेमा चर्चा गर्दैछौं ।

के हो क्लाउड ब्रस्ट ?

जल तथा मौसम विज्ञान विभागका अनुसार सीमित क्षेत्रमा छोटो समयमा हुने अत्यधिक वर्षालाई आरीघोप्टे वर्षा भनिन्छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार क्लाउड ब्रस्ट भनेको अचानक हुने चरम मौसमी घटना हो, जुन सामान्यतया २० देखि ३० वर्ग किलोमिटर जतिको सानो क्षेत्रभित्र सीमित हुन्छ । यसको प्राविधिक परिभाषा अनुसार, कुनै पनि वर्षा मापन केन्द्रमा १ घण्टाको अवधिमा १०० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुनुलाई क्लाउड ब्रस्ट भनिन्छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार सबै भारी वर्षा क्लाउड ब्रस्ट हुँदैनन् । “ठूलो पानी पर्दैमा त्यसलाई क्लाउड ब्रस्ट भनिहाल्न मिल्दैन,” उनी भन्छिन्, “कति समयमा, कति मात्रामा र कति क्षेत्रफलमा वर्षा भयो भन्ने कुरा नै मुख्य र महत्त्वपूर्ण हुन्छ ।”

मध्यम र भारी वर्षाभन्दा क्लाउड ब्रस्ट कसरी फरक छ ?

जल तथा मौसम विज्ञान विभागले २४ घण्टाको अवधिमा मापन हुने वर्षाका आधारमा वर्षालाई वर्गीकरण गरेको छ । जसअनुसार १० मिलिमिटरभन्दा कम वर्षा हुनुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।

जब वर्षाको मात्रा बढेर ५० देखि १०० मिलिमिटरसम्म पुग्छ, त्यसलाई भारी वर्षा भनिन्छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म पानी परेमा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि बढी पानी परेको अवस्थालाई अति धेरै भारी वर्षाको रूपमा वर्गीकरण गरिन्छ ।

क्लाउड ब्रस्ट भने अन्य वर्षाभन्दा फरक हुन्छ । यो एकदमै सानो क्षेत्रफलमा छोटो समयभित्र हुन्छ, जबकि सामान्य वा भारी वर्षा ठूलो क्षेत्रमा र लामो समयसम्म भइरहन्छ ।

क्लाउड ब्रस्ट कसरी हुन्छ ?

वायुमण्डलमा पर्याप्त जलवाष्प, वायुमण्डलीय अस्थिरता र जमिननजिकको तातो तथा ओसिलो हावाको तीव्र प्रवाहले क्लाउड ब्रस्ट गराउन मद्दत पुर्‍याउँछ ।

मौसमविद् कँडेलका अनुसार मनसुनका वेला बङ्गालको खाडी वा अन्य क्षेत्रबाट आउने ओसिलो हावा पहाडी भेगमा पुगेर ठोक्किएपछि माथितिर उक्लिन बाध्य हुन्छ । माथि पुगेपछि हावा चिसिँदै जान्छ र त्यसमा रहेको जलवाष्प सङ्घनित भई बादल बन्छ ।

वायुमण्डलमा उच्च अस्थिरता भएमा ठाडो रूपमा फैलिने र शक्तिशाली वर्षा गराउने ‘क्युमुलोनिम्बस’ बादल विकसित हुन्छ । यस्ता बादलभित्र तीव्र वायु प्रवाह हुनुका साथै पानीका थोपा बन्ने र एकआपसमा मिसिने प्रक्रिया निकै द्रुत हुन्छ, जसले गर्दा छोटो समयमै अत्यधिक वर्षा हुन्छ ।

नेपालमा कहिले र कहाँ भए क्लाउड ब्रस्टका घटना ?

नेपालमा क्लाउड ब्रस्टका घटना कहिले र कति मात्रामा भए भन्ने पूर्ण विवरण पाउन कठिन छ । जल तथा मौसम विज्ञान विभागका अनुसार क्लाउड ब्रस्ट निकै सानो क्षेत्रफलमा हुने भएकाले पर्याप्त वर्षा मापन केन्द्रहरूको अभावमा सबै ठाउँको विवरण रेकर्ड गर्न असम्भवप्रायः छ । यद्यपि, पछिल्ला दशकहरूमा यस्ता चरम मौसमी घटनाहरूमा वृद्धि भइरहेको छ ।

विभागका अनुसार वि.सं. २०८१ असार २३ र २४ गते कञ्चनपुरको चाँदनी दोधारा क्षेत्रमा क्लाउड ब्रस्ट भएको थियो । त्यहाँको हनुमाननगर स्टेसनमा १ घण्टामै १०२ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टाभित्र (बिहान ८:४५ देखि अर्को दिन बिहान ८:४५ सम्म) ६२४ मिलिमिटर वर्षा मापन भएको थियो भने सोही जिल्लाका हनुमाननगर स्टेसनमा ५७३ मिलिमिटर र सुन्दरपुर स्टेसनमा ५५६.४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

त्यति ठूलो मात्रामा वर्षा रेकर्ड भएपछि विभाग सुरुमा अलमलमा परेको थियो ।

“स्टेसनमै केही खराबी त आएन भन्ने शङ्का लाग्यो । सर्वसाधारण र विभिन्न सङ्घसंस्थाबाट पनि चासो व्यक्त भएपछि हामीले स्थलगत अध्ययन गरेर पुष्टि गर्ने निर्णय गर्‍यौँ,” अध्ययन टोलीको नेतृत्व गरेर कञ्चनपुर पुगेकी डा. इन्दिरा कँडेल सम्झिन्छिन् ।

स्थलगत अवलोकन र स्थानीयसँगको कुराकानीपछि विभागले कञ्चनपुरमा बादल फाटेर ‘क्लाउड ब्रस्ट’ नै भएको निष्कर्ष निकालेको थियो ।

कञ्चनपुरमा भएको ६२४ मिलिमिटर वर्षा नै हालसम्म नेपालमा २४ घण्टाको अवधिमा मापन गरिएको सबैभन्दा धेरै वर्षा हो । यसअघि विभागको रेकर्डमा २०७४ भदौ १ गते हेटौँडामा भएको ५१६.२ मिलिमिटर वर्षा नै उच्च मानिँदै आएको थियो । यद्यपि, गैर-विभागिय तर्फ २०५० साउन ४ गते मकवानपुरको टिस्टुङमा वन तथा भू-संरक्षण विभागले राखेको मापन केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add