जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

‘मङ्सिर ८ को भूकम्पले घर भत्काएको’ भन्दै टिकटकमा भाइरल भिडिओ ११ वर्ष पुरानो


‘मङ्सिर ८ को भूकम्पले घर भत्काएको’ भन्दै टिकटकमा भाइरल भिडिओ ११ वर्ष पुरानो

मङ्गलवार बिहान नेपालमा भूकम्पपछि सामाजिक सञ्जालमा घर भत्किएको र मानिसहरू भागाभाग गरिरहेको एउटा भिडियो भाइरल भयो । ‘आज मङ्सिर ८ गते भूकम्पले लडायो घर’ भन्दै टिकटकमा पोस्ट गरिएको उक्त भिडियो धेरैले हालै गएको भूकम्पकै दृश्य ठानेर सेयर र प्रतिक्रिया जनाइरहेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा उक्त भिडियो अहिलेको नभई २०७२ सालको भूकम्पको समयको भएको पुष्टि भएको छ ।

के हो दाबी ?

टिकटकमा २१ हजार ४ सयभन्दा बढी फलोअर्स भएका गोपाल तिमल्सिना नामक प्रयोगकर्ताले मंगलबार बिहान ८ बजेर १० मिनेटमा एउटा भिडिओ पोस्ट गरे ।

‘आज मंसिर ८ गते भूकम्पले लडायो घर’ क्याप्सनसहित पोस्ट गरिएको १७ सेकेन्डको उक्त भिडिओमा भूकम्पका कारण घर भत्किएको र मानिसहरू अत्तालिँदै ज्यान जोगाउन भागिरहेको देखिन्छ ।

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त भिडिओमा २३ हजार ६ सयभन्दा बढी रियाक्सन र २२५ वटा कमेन्ट छन् । भिडियो ६ लाख ७४ हजारभन्दा बढी पटक हेरिएको छ । टिकटकका थुप्रै प्रयोगकर्ताले यसलाई हालै गएको भूकम्पकै दृश्य मानेर प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

उक्त भिडिओको लिङ्क र अर्काइभ लिङ्क

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा हामीले मङ्गलवार बिहान गएको भूकम्पबारे खोज्यौँ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलवार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै, केन्द्रका अनुसार मङ्गलवार साँझ ६ बजेर ३१ मिनेटमा दार्चुलाको हुती र भारतको सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

हेर्नुहोस्, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइटमा उल्लेखित विवरण :

उक्त विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

भूकम्पसम्बन्धी विवरण हेरेपछि हामीले भाइरल भिडिओको स्रोत पहिचान गर्न खोज्यौँ । त्यसका लागि भिडिओको केही की फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ ।

त्यस क्रममा युट्युबमा एक हजार ९ सयभन्दा बढी सब्सक्राइबर भएको सदीश मानन्धर नामक च्यानलमा सन् २०१५ मे ८ अर्थात् २०७२ वैशाख २५ मा अपलोड गरिएको एउटा भिडिओ फेला पार्‍यौँ।

‘Nepal Earthquake 2015 Building Collapsed in Ramkot’ शीर्षकमा अपलोड गरिएको उक्त भिडिओ र अहिले टिकटकमा भाइरल भिडियोको दृश्य हुबहु मिल्छ ।

उक्त युट्युबमा अपलोड गरिएको भिडिओ ८ लाख ९९ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, युट्युबमा अपलोड गरिएको भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

यसरी रिभर्स इमेज सर्च गर्दा भेटिएको युट्युब भिडिओ र टिकटकमा भाइरल भिडिओको दृश्य तुलना गर्दा दुवै एउटै भएको पुष्टि हुन्छ ।

युट्युबमा उक्त भिडिओ २०७२ वैशाख २५ मै अपलोड भएकोले टिकटकमा अहिलेको भूकम्पको दृश्य भन्दै पोस्ट गरिएको भिडिओ ११ वर्ष पुरानो भएको स्पष्ट हुन्छ ।

हामीले यस विषयमा बुझ्न फेसबुकमार्फत सदीश मानन्धरलाई सम्पर्क गर्‍यौ । उनले नेपालफ्याक्टचेकसँग कुराकानी गर्दै सो भिडिओ २०७२ साल वैशाख १३ गतेको भएको पुष्टि गरे ।

यस विषयमा न्युज चेकर नेपालले पनि तथ्य जाँच गरेको पाइयो । उक्त तथ्य जाँचले समेत भाइरल भिडिओ हालै गएको भूकम्पको नभई २०७२ सालको भूकम्पको समयको भएको पुष्टि गरेको छ ।

तथ्य जाँच
दाबी : ‘मंसिर ८ गते भूकम्पले लडायो घर’ भन्दै टिकटकमा भाइरल भिडिओ ।

दाबीकर्ता : गोपाल तिमल्सिना नामक टिकटक प्रयोगकर्ता ।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडिओ मंगलबार गएको भूकम्पको नभई २०७२ सालको भूकम्पको समयको भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add