- टेकमान शाक्य
- मंसिर १३, २०८३

फुर्केखोलाको पन्टुन ब्रिज भन्दै भाइरल तस्बिर एआई निर्मित, स्थान पनि फरक
धादिङको फुर्केखोलामा भदौ १० गतेको बाढीले बगाएको पुरानो पक्की पुल भएकै स्थानमा पन्टुन ब्रिज जडान भएको दाबीसहितको पोस्ट र तस्बिर सामाजिक सञ्जालमा भाइरल छन्।
तर पन्टुन ब्रिज जडान भएको स्थान पुरानो पक्की पुल बगाएको ठाउँ होइन।
पुरानो पक्की पुल बगाएको स्थानबाट करिब ६ सय मिटर पर पन्टुन ब्रिज जडान भएको र भाइरल तस्बिर पनि एआईबाट निर्मित भएको नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा पुष्टि भएको छ ।
के हो दाबी ?
३३ लाख फलोअर्स रहेको Nepali Maan TV नामक फेसबुक पेजमार्फत सन् २०२६ को नोभेम्बर २६ को दिन दिउँसो ११ बजेर १९ मिनेटमा तस्बिरसहितको पोस्ट सार्वजनिक भएको छ ।
पोस्टमा धादिङको गजुरी गाउँपालिका–२, बाबरीघारी र सिद्धलेक गाउँपालिका–६, परेवाटार जोड्ने त्रिशूली नदीको फुर्केखोलामा पानीमाथि तैरिने अनौठो पुल निर्माण भइरहेको दाबी गरिएको छ ।
गत भदौ १० गते आएको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि वैकल्पिक रूपमा यो पुल निर्माण गरिएको उल्लेख गर्दै तस्बिरसहित पोस्ट सार्वजनिक भएको छ। तस्बिरमा फुर्केखोलाको पारीपट्टी गेटसमेत देखिन्छ ।
भदौ १० गते बगाएको पक्की पुरानो पुल भएकै ठाउँमा पन्टुन ब्रिज जडान गरिएको तस्बिरमा देखाइएको छ । पोस्टलाई ५ हजारभन्दा धेरैपटक रियाक्ट गरिएको छ भने ७० भन्दा धेरैपटक कमेन्ट र ४० भन्दा धेरैपटक सेयर गरिएको छ ।
Nepali Maan TV को स्क्रिनसट

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यही पोस्टलाई भीम उपाध्यायले पनि हुबहु सार्वजनिक गरेका छन् । Nepali Maan TV ले सार्वजनिक गरेको व्यहोरासहितको तस्बिर उपाध्यायको फेसबुक पोस्टमा देख्न सकिन्छ ।
यो तथ्यजाँच गर्ने समयसम्ममा उपाध्यायको पोस्टमा १ हजार ३ सयभन्दा धेरैपटक रियाक्ट भएको छ भने ६९ भन्दा धेरैपटक कमेन्ट गरिएको छ ।
हेर्नुहोस् भीम उपाध्यायको स्क्रिनसट

भीम उपाध्यायको पोस्टको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
नेपालफ्याक्टचेकले पन्टुन ब्रिज जडान हुनुभन्दा पहिले बाढीले पक्की पुल बगाएको ठाउँको १२ सेकेन्डको भिडिओ कैद गरेको थियो । यो भिडिओ कैद हुने बेलासम्ममा पन्टुन ब्रिज कहाँ जडान गर्ने भन्नेबारे निर्णय भईसकेको थिएन ।
हेर्नुहोस्, नेपालफ्याक्टचेकले कैद गरेको भिडिओ
भिडिओ सन् २०२६ को अक्टोबर २६ को दिन दिउँसो २ बजेर ४९ मिनेटमा कैद गरिएको थियो ।

मेटाडाटामा सुरक्षित पक्की पुल बगाएको ठाउँलाई गुगल म्यापमार्फत हेर्दा यो ठाउँ पृथ्वी राजमार्गबाट धादिङको सदरमुकाम धादिङबेसी जोड्ने सडकखण्डस्थित फुर्केखोलामा सिधा सम्पर्क भएको ठाउँ देखिन्छ ।
हेर्नुहोस् पक्की पुल बगाएको ठाउँको गुगल म्यापमा देखिएको दृश्य

पक्की पुल बगाएको ठाउँलाई गुगल म्यापमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पक्की पुल बगाएको पुरानो ठाउँको हालको अवस्थाबारे थप पुष्टिका लागि हामीले कान्तिपुर टेलिभिजनका सह-सम्पादक पोषनाथ अधिकारीसँग सम्पर्क गर्यौँ ।
उनले हामीलाई उपलब्ध गराएको ओरिजिनल तस्बिर सन् २०२६ को नोभेम्बर २९ (२०८३ साल मंसिर १३ गते) को दिन दिउँसो १ बजेर १ मिनेट ३ सेकेन्डमा खिचिएको मेटाडाटामा देखिन्छ। यो मितिसम्ममा पक्की पुल भएको पुरानो ठाउँमा कुनै पनि निर्माण कार्य भएको देखिदैन ।

त्यसपछि हामीले अहिले पन्टुन ब्रिज बन्दै गरेको ठाउँबारे थप पुष्टिका लागि पत्रकार अनिल अधिकारीसँग सम्पर्क गर्यौँ । उनले हामीलाई मेटाडाटासहितको ओरिजिनल तस्बिर उपलब्ध गराए ।
सन् २०२६ को नोभेम्बर २२ को दिन दिउँसो २ बजेर ३५ मिनेट १ सेकेन्डमा कैद गरिएको तस्बिरमा सुरक्षित मेटाडाटा जाँच गर्दा पन्टुन ब्रिज पक्की पुल बगाएको पुरानो ठाउँमा होइन । यो ठाउँ केही पर देखिन्छ ।

हेर्नुहोस् पत्रकार अधिकारीले उपलब्ध गराएको ओरिजिनल तस्बिरमा देखिएको मेटाडाटासहितको तस्बिर

पन्टुन ब्रिज बन्दै गरेको ठाउँ गुगल म्यापमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
त्यसपछि हामीले पक्की पुल बगाएको ठाउँदेखि पन्टुन ब्रिज जडान भएको ठाउँसम्म कति दूरी छ भनेर गुगल म्यापमार्फत हेर्यौँ । गुगल म्यापमा दुवै स्थानको लोकेसन राखेर हेर्दा पुरानो पक्की पुल बगाएको स्थान र नयाँ पन्टुन ब्रिज जडान भइरहेको स्थानबीचको दूरी करिब ६ सय मिटर देखिन्छ।
हेर्नुहोस् गुगल म्यापमा देखिने दुई ठाउँबीचको दूरी

पक्की पुल बगाएको ठाउँ हेर्न यहाँ क्लिक गर्नुहोस् । पन्टुन ब्रिज बन्दै गरेको ठाउँ हेर्न यहाँ क्लिक गर्नुहोस् । दुई ठाउँबीचको दूरी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
त्यसपछि हामीले थप पुष्टिका लागि धादिङको ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैसँग सम्पर्क गर्यौँ । उनले दिएको जानकारी अनुसार पक्की पुल बगाएको पुरानो ठाउँमा नभई ६ सय मिटर पर पन्टुन ब्रिज बनेको पुष्टि गरे ।
नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले भने – ‘पन्टुन ब्रिज जडान भएको ठाउँ पुरानो पक्की पुल बगाएको ठाउँमा होइन। त्यसभन्दा ६ सय मिटर पर हो । केही दिनभित्रै जडान सकिएर सवारी आवतजावतमा सहज बनाउने योजना छ ।’
त्यसपछि हामीले भाइरल तस्बिरको प्राविधिक परीक्षण गर्ने निर्णय गर्यौँ । तस्बिर एआई निर्मित हो कि होइन भनेर जाँच गरेर हेर्यौँ । उक्त तस्बिरलाई सिन्थआईडी डटकम (Synthid.com) मार्फत परीक्षण गर्दा त्यसमा Google AI को वाटरमार्क देखियो।
हेर्नुहोस् सिन्थआईडी डटकमले दिएको नतिजाको स्क्रिनसट

हामीले यो तस्बिरलाई ट्रथस्क्यानमार्फत पनि जाँच गरेर हेर्यौँ । यसले पनि तस्बिर एआई निर्मित हुन सक्ने सम्भावना ९९ प्रतिशत देखायो ।
हेर्नुहोस् ट्रथस्क्यानले दिएको नतिजाको स्क्रिनसट

तथ्यजाँच
दाबी : धादिङको फुर्केखोलामा पहिले पक्की पुल बगाएको ठाउँमा नै पन्टुन ब्रिज जडान भएको ।
दाबीकर्ता : Nepali Maan TV, भीम उपाध्याय लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य : भ्रामक (misleading) । धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका ६, परेवाटार जोड्ने फुर्केखोलामा पन्टुन ब्रिज जडान भएको भए पनि भदौ १० गतेको बाढीले बगाएको पुरानो पक्की पुल भएकै स्थानमा भने होइन । पुरानो पुल बगाएको स्थानबाट करिब ६ सय मिटर पर पन्टुन ब्रिज जडान भएको हो । साथै, उक्त पुल पुरानो पुल भएकै स्थानमा जडान गरिएको देखाउने तस्बिर एआई निर्मित एवम् सम्पादित रहेको नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचले पुष्टि गरेको छ ।