तथ्यजाँच एआई जेनेरेटेड भ्रामक सूचना

गृहमन्त्रीको विवाह हुन लागेको सही हो तर श्रीमती भन्दै भाइरल तस्बिर एआईबाट बनेको


गृहमन्त्रीको विवाह हुन लागेको सही हो तर श्रीमती भन्दै भाइरल तस्बिर एआईबाट बनेको

गृहमन्त्री सुधन गुरुङको विवाह हुन लागेको र उनकी श्रीमती भएको दाबीसहित सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनिरहेको छ। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा विवाहसम्बन्धी समाचार सही भए पनि भाइरल तस्बिर वास्तविक नभई अर्थात् एआई मार्फत सिर्जना गरिएको पुष्टि भएको छ।

के हो दाबी ?

३ लाख ९१ हजार फलोअर्स रहेको ‘Reaction With Ishaq’ नामक फेसबुक पेजबाट सन् २०२६ नोभेम्बर २७ बिहान १० बजेर ४५ मिनेटमा एक तस्बिर सार्वजनिक गरिएको छ ।

तस्बिरमा गृहमन्त्री सुधन गुरुङ एक युवतीसँग विवाह गर्दै गरेको देखिन्छ । तथ्यजाँच गर्ने समयसम्म उक्त पोस्टमा १० हजार ७ सयभन्दा बढी रियाक्ट, १ हजार २ सय कमेन्ट र २ सय ३७ सेयर भएको देखिन्छ ।

हेर्नुहोस् ‘Reaction With Ishaq’ को पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

त्यसैगरी, १ लाख २७ हजार फलोअर्स रहेको ‘Nilo Parda’ नामक फेसबुक पेजबाट पनि सोही तस्बिर नोभेम्बर २६ बेलुका ८ बजेर ८ मिनेटमा पोस्ट गरिएको छ । उक्त पोस्टमा गृहमन्त्री गुरुङले वर्षौँअघि गरेको अदालती विवाहलाई परम्परागत सांस्कृतिक विधिअनुसार पूर्णता दिन लागेको दाबी गरिएको छ । यो पोस्टमा ५१ हजारभन्दा बढी रियाक्ट, १ हजार ६ सय कमेन्ट र १ सय ९६ सेयर भएको छ ।

हेर्नुहोस् Nilo Parda ले गरेको पोस्टको स्क्रिनसट

Nilo Parda को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यस्तै, १ लाख ४२ हजार फलोअर्स रहेको ‘Berojgar Vlog’ नामक फेसबुक प्रोफाइलबाट पनि “३ वर्षअघि विवाह गरिसकेका गृहमन्त्री गुरुङले फेरि किन विवाह गर्न लागेका होलान्, कसैलाई थाहा छ भन्नुस् त ?” भन्ने क्याप्सनसहित सोही तस्बिर पोस्ट गरिएको छ । तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ६ हजार २ सयभन्दा बढी रियाक्ट, ३ सय ८६ कमेन्ट र ७३ सेयर भएको देखिन्छ ।

हेर्नुहोस् Berojgar Vlog को स्क्रिनसट

Berojgar Vlog को ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।

यसबाहेक अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यही तस्बिर प्रयोग गर्दै गृहमन्त्री गुरुङको विवाहसम्बन्धी पोस्ट सेयर गरिरहेका छन् ।

के‍ हो तथ्य ?

तथ्यजाँचको सुरुमा हामीले गृहमन्त्री सुधन गुरुङको विवाहबारे आधिकारिक समाचार प्रकाशित भए/नभएको पत्ता लगाउन गुगलमा ‘सुधन गुरुङ’ र ‘विवाह’ किवर्ड प्रयोग गरी एड्भान्स सर्च गर्‍यौँ ।

खोजका क्रममा सन् २०२६ नोभेम्बर २७ मा नेपालप्रेस डटकममा प्रकाशित समाचार भेटियो । समाचारमा गृहमन्त्री गुरुङको विवाह मंसिर १७ गते गृहजिल्ला गोरखामा हुने निश्चित भएको उल्लेख छ ।

हेर्नुहोस् नेपालप्रेसले लेखेको समाचारको स्क्रिनसट

नेपाल प्रेसको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

थप आधिकारिक पुष्टिका लागि हामीले गृहमन्त्रीको सचिवालयमा सम्पर्क गर्‍यौँ । नेपाल फ्याक्टचेकसँग कुरा गर्दै गृहमन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्कीले विवाह हुन लागेको खबर साँचो भए पनि सामाजिक सञ्जालमा भाइरल तस्बिर वास्तविक नभएको स्पष्ट पारे ।

उनले भने, “विवाह हुन लागेको कुरा सत्य हो । तर भाइरल भइरहेका तस्बिरहरू वास्तविक होइनन्, अहिलेसम्म कतै पनि आधिकारिक रूपमा पहिचान खुल्ने तस्बिर सार्वजनिक भएको छैन ।”

स्वकीय सचिवले नै तस्बिर अवास्तविक भएको बताएपछि हामीले उक्त तस्बिर एआई निर्मित वा सम्पादित हो कि होइन भनी प्राविधिक परीक्षण गर्‍यौँ । गुगलको डिजिटल वाटरमार्क पहिचान गर्ने टुल सिन्थआईडी (SynthID) मार्फत जाँच गर्दा उक्त तस्बिर ओपन एआई (OpenAI) प्रयोग गरी निर्माण वा सम्पादन गरिएको देखियो

हेर्नुहोस् सिन्थआईडी डटकमले दिएको नतिजाको स्क्रिनसट

थप पुष्टिका लागि हामीले ओपन एआईकै भेरिफिकेसन सेक्सनमा लगेर उक्त तस्बिरको जाँच गर्‍यौँ । उक्त परीक्षणले पनि तस्बिरमा ओपन एआईको वाटरमार्क रहेको पुष्टि गर्‍यो ।

हेर्नुहोस् ओपन एआईको भेरिफिकेसन सेक्सनले दिएको नतिजाको स्क्रिनसट

सामाजिक सञ्जालमा भाइरल पोस्टहरूमा गरिएका दुई पक्षमध्ये गृहमन्त्री सुधन गुरुङको विवाह हुन लागेको जानकारी विश्वसनीय समाचार माध्यम र स्वकीय सचिवको भनाइबाट पुष्टि हुन्छ ।

तर, विवाहको प्रसङ्गलाई जोडेर प्रयोग गरिएको युवतीसहितको तस्बिर भने वास्तविक होइन ।

प्राविधिक परीक्षण (सिन्थआईडी र ओपन एआई भेरिफिकेसन) ले तस्बिर एआई प्रविधिबाट सिर्जना गरिएको देखाउँछ । यसरी वास्तविक घटनाको समाचारमा एआई निर्मित काल्पनिक तस्बिर जोडेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरिएको देखिन्छ ।

तथ्यजाँच

दावी : गृहमन्त्री सुधन गुरुङको श्रीमती भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको तस्बिर ।

दावीकर्ता : Reaction With Ishaq, Nilo Parda, Berojgar Vlog लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading) गृहमन्त्री सुधन गुरुङको विवाह हुन लागेको खबर सत्य भए पनि उनकी श्रीमती भन्दै भाइरल बनाइएको तस्बिर वास्तविक होइन । गृहमन्त्रीको सचिवालयको भनाइ तथा प्राविधिक परीक्षणबाट उक्त तस्बिर एआई  मार्फत सिर्जना गरिएको पुष्टि भएकाले भाइरल दावी भ्रामक छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add