जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

सुपर एल निनोका कारण करोडौँको मृत्यु भएको भन्दै टिकटकमा भ्रामक दाबी


सुपर एल निनोका कारण करोडौँको मृत्यु भएको भन्दै टिकटकमा भ्रामक दाबी

सन् १८७६–७८ को ‘सुपर एल निनो’का प्रभावले भारतमा १ करोड २० लाख, चीनमा २० देखि ३० करोड र ब्राजिलमा १ लाख मानिसको ज्यान गुमेको दाबी टिकटकमा फैलाइएको छ। तर, नेपालफ्याक्टचेकको तथ्यजाँच र ऐतिहासिक अनुसन्धानात्मक प्रतिवेदनहरूको अध्ययनले उक्त समयमा अनिकाल र महामारीका कारण विश्वभर कूल ३ देखि ६ करोड मानिसको मृत्यु भएको देखाए पनि चीन र ब्राजिलको सन्दर्भमा भिडियोमा गरिएको दाबी मनगन्ते र अत्यधिक बढाइचढाइ गरिएको पुष्टि गर्दछ। 

के हो दाबी ?

इनसाइट ३६० नेपाल नामक टिकटक एकाउन्टमा २०२६ मे १ शुक्रबारका दिन एउटा भिडियो पोस्ट भयो, जहाँ प्रस्तोताले ‘सुपर एल निनो’का बारेमा भिडियो सामग्री प्रस्तुत गरेका छन्।

उक्त सामग्रीमा सन् १८७६-७८ को सुपर एल निनोले संसारभरिका ६ करोड मानिसको ज्यान लिएको दाबी गर्दै भनिएको छ, “…त्यति बेला विश्वको जनसङ्ख्या १.३ देखि ४ अर्ब रहेको थियो। यसले ४० देखि ६ करोड मानिसको त्यो बेला ज्यान लिएको थियो। त्यो बेला भारतमा मात्रै एक करोड २० लाख मानिसहरूले ज्यान गुमाएका थिए। त्यसै गरी चीनमा २० देखि ३० करोड मानिस, ब्राजिलमा एक लाख मानिस… मरेका थिए।”

दाबीको प्रभाव 

हामीले तथ्यजाँच गर्दासम्म उक्त टिकटक भिडियो ७,३६४ पटक हेरिएको छ भने यसमा १४२ लाइक्स, ४ कमेन्ट र केही सेयर भइसकेका छन्।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्कअर्काइभ भिडियो

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले “सुपर एल निनो १८७६-७८” (Super El Niño 1876-78) कीवर्ड प्रयोग गरी गुगलमा खोजी गर्‍यौँ। सो क्रममा इतिहासकै भीषण अनिकाल र जलवायु चक्रबारे वैज्ञानिक तथा ऐतिहासिक तथ्यहरू फेला परे।

१. अमेरिकन इन्स्टिच्युट अफ फिजिक्स (AIP): चाल्र्स क्यू. चोईद्वारा लिखित History’s Greatest El Niño May Have Caused Severe 19th Century Famine (इतिहासकै सबैभन्दा शक्तिशाली एल निनोले १९औँ शताब्दीमा निम्त्याएको भीषण अनिकाल)  शीर्षकको आलेख अनुसार, सन् १८७६ देखि १८७८ सम्मको एल निनोले विश्वव्यापी रूपमा रेकर्डतोड खडेरी र अनिकाल निम्त्याउँदा विश्वभर कुल ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो।

उक्त आर्टिकल पढ्न यहाँ क्लिक गर्नुहोस्

२. कोलम्बिया विश्वविद्यालय (अर्थ इन्स्टिच्युट): कोलम्बिया विश्वविद्यालयको वेवसाइटमा सारा फेचले प्रकाशन गरेको अनुसन्धान ( Causes of the Great Famine, One of the Deadliest Environmental Disasters) अनुसार, यस पर्यावरणीय संकटले विश्वभर करिब ३ करोडदेखि ६ करोड मानिसको ज्यान लिएको अनुमान छ, जुन तत्कालीन विश्वको कुल जनसङ्ख्याको झन्डै ३ प्रतिशत थियो।

उक्त आर्टिकल पढ्न यहाँ क्लिक गर्नुहोस्

३. ‘जर्नल अफ क्लाइमेट’ (सन् २०१८ को अनुसन्धान): जलवायु वैज्ञानिक दीप्ती सिंह र उनको टोलीद्वारा तयार पारिएको विस्तृत अनुसन्धानात्मक प्रतिवेदन Climate and the Global Famine of 1876-78 (१८७६–७८ को जलवायु र विश्वव्यापी अनिकाल)  मा ऐतिहासिक दस्ताबेजका आधारमा देशगत मृत्युदर स्पष्ट रूपमा उल्लेख गरिएको छ। उक्त आधिकारिक अध्ययन प्रतिवेदन अनुसार मृत्युदर यसप्रकार छ:

  • भारत: १ करोड २२ लाख देखि २ करोड ९३ लाख

  • चीन: १ करोड ९५ लाख देखि ३ करोड

  • ब्राजिल: करिब २० लाख (२ मिलियन)

हेर्नुहोस्, स्क्रिनसट :

उक्त रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस् 

चीन र ब्राजिलको तथ्याङ्कमा विरोधाभास र भ्रम:

  • टिकटक भिडियोमा चीनमा २० देखि ३० करोड मानिस मरेको दाबी गरिएको छ। तर ऐतिहासिक तथ्य र जलवायु प्रतिवेदन अनुसार चीनमा १ करोड ९५ लाख देखि ३ करोड मानिसको मात्र मृत्यु भएको थियो। अर्थात्, भिडियोमा वास्तविक संख्याभन्दा १० गुणा बढी दाबी गरिएको छ, जुन असत्य हो।

  • भिडियोमा ब्राजिलमा १ लाख मरेको दाबी गरिएको छ, जबकि वैज्ञानिक प्रतिवेदनले त्यहाँ करिब २० लाख (२ करोड होइन, २० लाख/२ मिलियन) मानिसको ज्यान गएको देखाउँछ।

तथ्य जाँच

दाबी : सन् १८७६–७८ मा सुपर एल निनोका कारण भारतमा १ करोड २० लाख, चीनमा २० देखि ३० करोड र ब्राजिलमा १ लाख मानिसले ज्यान गुमाए।

दाबीकर्ता : इनसाइट ३६० नेपाल नामक टिकटक एकाउन्ट ।

तथ्य : भ्रामक (Misleading) । सन् १८७६–७८ को सुपर एल निनोका कारण विश्वभर ३ देखि ६ करोड मानिसको मृत्यु भएको तथ्य वैज्ञानिक र ऐतिहासिक प्रतिवेदनले पुष्टि गर्छन्। तर टिकटक भिडियोमा चीनको मृत्युदरलाई १० गुणा बढाएर (२०-३० करोड) र ब्राजिलको वास्तविक मृत्युदर (करिब २० लाख) लाई घटाएर भ्रम फैलाउने प्रयास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add