- सुरज घिमिरे
- जेष्ठ २१, २०८३

नेपालको हिमाली भेगमा हिमपहिरो गएको दाबीसहित भाइरल भएको भिडियो भ्रामक
सामाजिक सञ्जालमा अहिले नेपालको हिमाली भेगमा विशाल हिमपहिरो गएको दाबी गरिएको एउटा भिडियो भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्यजाँच तथा डिजिटल प्रमाणहरूको विश्लेषणले उक्त भिडियो नेपालको नभई पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रस्थित हुन्जा उपत्यकाको भएको पुष्टि गरेको छ। मौलिक भिडियोको अडियोलाई हटाएर नेपाली आवाज सम्पादन गरी भ्रम फैलाउने उद्देश्यले यो सामग्री फैलाइएको पाइएको छ।
के हो दाबी ?
फेसबुकमा ६३ हजार फलोअर्स भएका प्रयोगकर्ता अभिषेक गुप्ताले गत शुक्रबार राति ९:३३ बजे एउटा भिडियो पोस्ट गरे। ‘नेपाल फलो मी’ भन्दै पोस्ट गरिएको २६ सेकेन्डको उक्त भिडियोमा हिमाली भेगमा विशाल हिमपहिरो खसिरहेको र हिउँको ठूलो मुस्लो उडिरहेको देखिन्छ।
भिडियोको पृष्ठभूमिमा केही युवाहरू रोमान्चित हुँदै चिच्याएको सुनिन्छ भने एक युवाले नेपाली भाषामा भनेका छन्:
“ल है कति लक्की हामी त। यो हो नि त बल्ल यार। कति लक्की हामी ल है। वर्ल्डकै सबैभन्दा डेन्जर हिम पहिरो खस्ने ठाउँ यही हो…”
दाबीको प्रभाव
हामीले तथ्य जाँच गर्दाको समयसम्म उक्त भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइसकेको छ। यसको डिजिटल इन्गेजमेन्ट यसप्रकार छ, भ्युज ५ लाख ८८ हजार, रियाक्सन ९ हजार ३ सय, कमेन्ट ३७, शेयर ८४ पटक।
हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले उक्त भाइरल भिडियोका मुख्य फ्रेमहरू निकालेर गुगल रिभर्स इमेज सर्च मार्फत प्राविधिक अनुसन्धान गर्यौँ।
सो क्रममा उक्त भिडियोलाई कैयौँ अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले मार्च २०२६ मै फरक सन्दर्भमा पोस्ट गरेको फेला पार्यौँ।
खोज्ने क्रममा इन्स्टाग्राममा ९० हजार ४ सयभन्दा बढी फलोअर्स भएको ट्राभलर्सअफपाकिस्तान(@travelersofpakistan) नामक एकाउन्टमा सन् २०२६ मार्च १५ मा सोही भिडियो अपलोड भएको फेला पर्यो।
पाकिस्तान, क्लाइमेट चेन्ज लगायतका ह्यासट्याग राखिएको उक्त भिडियोको विवरणको नेपाली अनुवाद यसप्रकार छ:
“माथिल्लो हुन्जा उपत्यकामा हिमपहिरो गएको भयानक भिडियो, अहिलेसम्म कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन। यस वर्ष तापक्रम सामान्यभन्दा बढेका कारण गिल्गिटमा थप हिमपात र हिमपहिरो हुने अधिकारीहरूको डर छ। भगवानले हाम्रो देशको रक्षा गरून्।”
उक्त इन्स्टाग्राम भिडियोको स्क्रिन सट :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
पाकिस्तानको गिल्गिट–बाल्टिस्तान क्षेत्रबाटै सांस्कृतिक प्रवर्द्धन गर्ने ‘बोल हुन्जा’ (Bol Hunza) नामक इन्स्टाग्राम एकाउन्टमा पनि गत मार्च १४ मा उक्त भिडियो अपलोड गरिएको छ, जहाँ यसलाई स्पष्ट रूपमा पाकिस्तानको माथिल्लो हुन्जा उपत्यका (Hunza Valley) को घटना भनिएको छ। हुन्जा उपत्यका उत्तरी पाकिस्तानको गिल्गिट–बाल्टिस्तान क्षेत्रमा पर्ने एक प्रख्यात पहाडी इलाका हो।
उक्त इन्स्टाग्राम भिडियोको स्क्रिन सट :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
६ लाख २६ हजार बढी फलोअर्स भएको पाकिस्तान टिभीको आधिकारिक फेसबुक पेजमा मार्च १३ मा सोही भिडियो अपलोड गर्दै उत्तरी पाकिस्तानको गिल्गिट–बाल्टिस्तानको पहाडमा हिमपहिरोले नदी थुनेको समाचार र फुटेज सार्वजनिक गरिएको पाइएको छ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
इन्स्टाग्राममा ८५ हजार फलोअर्स भएको नेचरइनफ्युरी नामक एकाउन्ट, ग्रेटराजस्थान न्यू नामक फेसबुक पेज र इश्तियाक अहमद नामक एक्स प्रयोगकर्ता लगायतले पनि उक्त भिडियो पाकिस्तानको हुन्जा भ्यालीकै भएको दाबी गरेका छन्।
अडियो सम्पादनको प्राविधिक पक्ष:
मार्च २०२६ मा पाकिस्तानको घटना भनी सार्वजनिक भइसकेको मूल भिडियोमा त्यहाँको स्थानीय भाषा र प्राकृतिक आवाज थियो।
तर, मे २०२६ मा नेपालमा भाइरल बनाइएको भिडियोमा उक्त मूल अडियोलाई ‘म्युट’ वा ‘रिप्लेस’ गरेर पृष्ठभूमिमा नेपाली युवाहरूको आवाज डिजिटल रूपमा डब गरी थपिएको स्पष्ट हुन्छ। मार्च महिनाको भिडियो मे महिनामा नेपालको भन्दै फरक अडियोसहित प्रस्तुत गरिनुले यो नियोजित भ्रम भएको पुष्टि हुन्छ।
तथ्य जाँच
दाबी : नेपालको हिमाली भेगमा हिमपहिरो गएको जस्तो देखिने भिडियो भाइरल ।
दाबीकर्ता : अभिषेक गुप्ता नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : भ्रामक (Misleading) । नेपालको हिमाली भेगमा हिमपहिरो गएको दाबीसहित भाइरल भइरहेको भिडियो नेपालको होइन। यो सन् २०२६ मार्च महिनामा पाकिस्तानको गिल्गिट–बाल्टिस्तान क्षेत्रमा पर्ने हुन्जा उपत्यकामा गएको हिमपहिरोको वास्तविक दृष्य हो। उक्त पुरानाे र विदेशी भिडियोमा नेपालको भनी भ्रम छर्नका लागि नेपाली आवाज डिजिटल रूपमा सम्पादन गरी थप गरिएको नेपालफ्याक्टचेकको तथ्यजाँचबाट पुष्टि हुन्छ।