तथ्यजाँच भ्रामक सूचना मधेश

नेपालले भारतीय सिमाना मिचेको भन्दै पूर्वमन्त्री बब्लु गुप्ताले सेयर गरेको फोटो भ्रामक


नेपालले भारतीय सिमाना मिचेको भन्दै पूर्वमन्त्री बब्लु गुप्ताले सेयर गरेको फोटो भ्रामक

पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले सिरहाको लगडी गदियानी क्षेत्रमा ‘ज्ञानी मुखिया’ नामका नेपाली नागरिकले भारतीय सिमाना मिचेको दावीसहित सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गरेका छन्। तर, नेपालफ्याक्टचेकको तथ्यजाँच र डिजिटल प्रमाणहरूको विश्लेषणले उक्त फोटोमा देखिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक भएको र सो स्थान पनि नेपालसँग सिमाना जोडिएको भारतीय गाउँकै भूभाग रहेको प्रष्ट हुन्छ।

के हो दावी ?

सोमबार (जुन १) बिहान ८:४० बजे पूर्वमन्त्री तथा रास्वपाका सांसद बब्लु गुप्ताले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा सीमा स्तम्भ (दशगजा पिल्लर) देखिने फोटोसहितको पोस्ट सार्वजनिक गरे।

संसद्‌मा अभिव्यक्त केही राजनीतिक सन्दर्भहरूलाई बल पुर्‍याउने गरी उनले लेखेका छन्:

‘सिरहा नगरपालिका २० गदियानीमा, ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ। अब भन्नुस्— प्रधानमन्त्री बालेन संसदमा झुठ बोले कि सही ? समस्या दुबैतीर छ, समाधान खोज्नुपर्छ।’

हेर्नुहोस् गुप्ताको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसको प्रभाव

पूर्वमन्त्री गुप्ताको उक्त फेसबुक पोस्टमा यो तथ्यजाँच तयार पार्दासम्म १,८०० भन्दा बढी रियाक्सन, ३०७ कमेन्ट र ९० पटक सेयर भइसकेको छ। यही फोटो र दाबीलाई आधार मानेर अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई फैलाएका छन्।

के हो तथ्य ?

दाबीको सत्यता जाँच्न हामीले सुरुमा ‘ज्ञानी मुखिया’, ‘सिरहा गदियानी’ र ‘सीमा विवाद’ कीवर्ड प्रयोग गरी सञ्चारमाध्यमका पुराना अभिलेखहरू खोजी गर्‍यौँ। सो क्रममा यो फोटो र विषय विगतमा पनि समाचार बनिसकेको फेला पर्‍यो।

कान्तिपुर दैनिक (२०७९ कात्तिक २८): कान्तिपुरमा प्रकाशित समाचार अनुसार उक्त सीमा स्तम्भ भारतको लगडी गाउँका हरिदेव मुखियाको घरआँगनमा अवस्थित छ। समाचारमा उनको घर भारततर्फ रहेको तर गाईवस्तु बाँध्ने ठाउँ भने नेपालतर्फ परेको उल्लेख थियो।

हेर्नुहोस् कान्तिपुरको स्क्रिनसट

कान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अन्नपूर्ण पोस्ट दैनिक (२०७१ नोभेम्बर ९): पत्रकार शम्भु यादवले लेखेको “पिलर देखिन्छ दशगजा देखिँदैन” शीर्षकको समाचारमा ज्ञानी मुखिया भारतीय नागरिक भएको स्पष्ट खुलाइएको छ। उनको सुत्ने घर पिल्लरभन्दा भारततर्फ र गाईगोरु बाँध्ने खोर नेपालतर्फ रहेको समाचारमा उल्लेख छ।

हेर्नुहोस् अन्नपूर्णको स्कृनसट

समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ 

हामीले उक्त फोटो खिच्ने पत्रकार शम्भु यादवको फेसबुक फिड अध्ययन गर्‍यौँ, जहाँ उनले बब्लु गुप्ताको दाबी खण्डन गर्दै उक्त फोटो आफूले खिचेको र ज्ञानी मुखिया भारतीय नागरिक नै भएको प्रष्ट पारेका छन्।

हेर्नुहोस् पत्रकार यादवको स्कृनसट

उनको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ

नेपालफ्याक्टचेकसँगको टेलिफोन कुराकानीमा पत्रकार यादवले भने— “सिरहा नगरपालिका-२० लगडी गदियानीसँग सिमाना जोडिएको भारतीय गाउँलाई पनि लगडी नै भनिन्छ, जुन भारतको पदमा पञ्चायतमा पर्छ। कान्तिपुर र अन्नपूर्ण पोस्टमा उल्लेख गरिएका हरिदेव मुखिया र ज्ञानी मुखिया एउटै दाजुभाइ खलकका सदस्य हुन्।”

हामीले पत्रकार यादवसँग उक्त फोटोको ‘मूल डिजिटल फाइल’ (Original File) माग गरी प्राविधिक विश्लेषण (Metadata Analysis) गर्‍यौँ। फोटोको एक्सिफ डाटा (EXIF Data) अनुसार:

  • तस्बिर खिचिएको मिति/समय: सन् २०१८ फेब्रुअरी २४, दिउँसो २:४८:२८ बजे

  • क्यामेरा मोडल: Canon EOS 1200D यस प्राविधिक प्रमाणले यो फोटो हालैको नभई ८ वर्ष पुरानो (सन् २०१८ को) भएको र भारतीय भूभागकै भएको पुष्टि गर्छ।

हेर्नुहोस् तस्वीरमा सुरक्षित मेटाडाटा

थप पुष्टिका लागि हामीले सिरहा नगरपालिका वडा नं. २० का वडा अध्यक्ष रामचन्द्र यादवसँग सम्पर्क गर्‍यौँ। उनले भने, “ज्ञानी मुखिया नेपाली नभएर भारतीय नागरिक हुन्। हाम्रो वडाको सीमा क्षेत्रमा नेपाली नागरिकले कतै पनि भारतीय भूमि मिचेका छैनन्।”

तथ्यजाँच

दावी: ज्ञानि मुखिया नेपाली रहेको र नेपालले पनि भारतीय सिमाना मिचेको दावी

दावीकर्ता:पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बब्लु गुप्ता

तथ्य/निष्कर्ष: भ्रामक (Misleading)। पूर्वमन्त्री बब्लु गुप्ताको दाबी तथ्यसँग मेल खाँदैन। फोटोमा देखिएका व्यक्ति ज्ञानी मुखिया (र उनका दाजुभाइ हरिदेव मुखिया) भारतीय नागरिक हुन् र उक्त घरआँगन पनि भारतकै पदमा पञ्चायत अन्तर्गत पर्दछ। ८ वर्ष पुरानो भारतीय गाउँको फोटोलाई नेपालले सीमा मिचेको भनी प्रस्तुत गरिएकाले यो पोस्ट भ्रामक ठहरिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add