एआई जेनेरेटेड कोशी तथ्यजाँच भ्रामक सूचना

सशस्त्र प्रहरीले विराटनगर-जोगबनी सीमाना नजिकै काँडेतार लगाएको भन्दै भाइरल फोटोको तथ्य के हो ?


सशस्त्र प्रहरीले विराटनगर-जोगबनी सीमाना नजिकै काँडेतार लगाएको भन्दै भाइरल फोटोको तथ्य के हो ?

अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले मोरङको विराटनगरसँग जोडिएको जोगबनी नाकाको १ नम्बर गेट नजिकै नेपालतर्फको पर्खालमा काँडेतार बेरेको दावीसहितको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले ‘पर्खालमाथि प्रहरीले तार लगाउँदै गरेको’ तस्बिर वास्तविक नभई एआई निर्मित भएको पुष्टि गरेको छ ।

के हो भाइरल दाबी ?
९४ हजार फलोअर्स रहेको ‘कोहलपुर ग्यालरी न्यूज’ (Kohalpur Gallery News) नामक फेसबुक पेजले सन् २०२६ जुन ३ मा एउटा फोटो पोस्ट गर्‍यो। उक्त पोस्टमा विराटनगर जोगबनी नाकाको १ नम्बर गेट नजिक नेपालतर्फको पर्खालमा सशस्त्र प्रहरीले काँडे तार लगाएको दाबी गरिएको छ।

भाइरल फोटोमा सशस्त्र प्रहरीका केही जवानहरूले एउटा अग्लो पर्खालमा काँडे तार लगाइरहेको देखिन्छ।

दाबीको प्रभाव : 
यो तथ्य जाँच तयार पार्दासम्म उक्त पोस्टमा ९ हजार ६ सयभन्दा बढी रियाक्सन, २ सय ७५ वटा कमेन्ट र १ सय ६३ पटक सेयर भइसकेको छ। अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसैलाई वास्तविक फोटो मानेर सेयर गरिरहेका छन्।

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क 

के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्रबहादुर भण्डारीलाई सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेकसँग कुराकानी गर्दै उनले विराटनगर–जोगबनी सीमानामा नभई सीमाना नजिकै नेपालतर्फको भूमिमा काँडेतार लगाइएको पुष्टि गरे ।

उनले चोरी-तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न नेपालतर्फको भूमिमा रहेको कम उचाइको पर्खालमा काँडेतार लगाएको बताए ।

यद्यपि, सामाजिक सञ्जालमा फैलिएको फोटो भने सही नभएको सशस्त्र प्रहरी बल मोरङका एसपी भण्डारीले बताए । हामीले गरेको अनुरोध अनुसार उनले नेपालफ्याक्टचेकलाई काँडेतार लगाइएका केही वास्तविक फोटो उपलब्ध गराए ।

हेर्नुहोस्, एसपी भण्डारीले उपलब्ध गराएका फोटोहरू :

हामीले गुगलमा ‘विराटनगर–जोगबनी सीमाना’, ‘काँडेतार’ लगायतका की-वर्डहरू राखेर पनि सर्च गर्‍यौँ । सो क्रममा हामीले वि.सं. २०८३ जेठ १८ गते नेपालखबरमा प्रकाशित ‘विराटनगरको रानी नाकामा सशस्त्रले लगायो काँडेतार’ शीर्षकको समाचार भेट्यौँ । उक्त समाचारमा सीमा क्षेत्रबाट अवैध रूपमा चोरी तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले नेपालतर्फको भूमिमा रहेको भत्किएको पर्खालमा काँडेतार लगाएको उल्लेख गरिएको छ ।

नेपालखबरमा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यसपछि हामीले सामाजिक सञ्जालमा भाइरल बनेको फोटोलाई ओपन एआईको टुल्समार्फत जाँच गर्‍यौँ । जसले उक्त फोटो ओपन एआईबाटै निर्मित भएको पुष्टि गर्‍यो ।

हेर्नुहोस्, स्क्रिनसट :

तथ्य जाँच
दाबी : सशस्त्र प्रहरीले विराटनगर-जोगबनी सीमाना नजिकै अग्लो पर्खाल खडा गरी काँडे तार लगाएको भन्दै भाइरल फोटो ।

दाबीकर्ता : ‘कोहलपुर ग्यालरी न्युज’ नामक फेसबुक पेज ।

तथ्य : भ्रामक (Misleading)/एआई निर्मित (AI-generated)। सशस्त्र प्रहरीले तस्करी रोक्न नेपालतर्फको भूमिमा रहेको कम उचाइको पुरानो पर्खालमा काँडे तार लगाएको कुरा सत्य हो। तर, सामाजिक सञ्जालमा भाइरल भइरहेको अग्लो पर्खाल र प्रहरीले तार लगाउँदै गरेको तस्बिर वास्तविक नभई एआई निर्मित भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add