- सुरज घिमिरे
- जेष्ठ ३१, २०८३

एक्सप्लेनर : यसपालिको मनसुन : कम वर्षा र बढी तापक्रमको सङ्केत, कस्तो होला असर ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तथा न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ । विभागको जलवायु विज्ञान महाशाखाले जुन १ देखि सेप्टेम्बर ३० सम्म (१८ जेठदेखि १४ असोज २०८३) को ४ महिनाको अवधिलाई समेटेर यो विवरण सार्वजनिक गरिएको हो ।
यो प्रक्षेपण सार्वजनिक भएसँगै आम नागरिकमा यसपालि पानी नै नपर्ने हो कि, देशमा ठुलो खडेरी लाग्ने हो कि वा विपद् नै आउँदैन भन्ने जस्ता विभिन्न द्विविधाहरू उत्पन्न भएका छन् । यस एक्सप्लेनरमार्फत हामी विभागको यो प्रक्षेपणको अर्थ, वैज्ञानिक पाटो, सम्भावित असर र जोखिमका विविध पक्षबारे विस्तृत रूपमा बुझाउनेछौँ ।
‘सरदरभन्दा कम वर्षा’ भन्नुको अर्थ के हो ?
जल तथा मौसम विज्ञान विभागका अनुसार ‘सरदर वर्षा’ भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउँछ । यसपालि मनसुनभरि देश भरी पर्ने पानीको कुल मात्रा त्यो औसत परिमाणभन्दा कम हुने प्रक्षेपण गरिएको हो ।
विभागले देशका विभिन्न भागलाई जोखिमका आधारमा गरेको तीन क्षेत्रमा वर्गीकरण :
-
१. उच्च जोखिम भएका क्षेत्र (सम्भावना ५५% देखि ६५%):
-
कर्णाली प्रदेशको दक्षिणी भू-भाग
-
लुम्बिनी प्रदेशका अधिकांश भू-भाग
-
मधेश प्रदेशको पूर्वी भू-भाग
-
कोशी प्रदेशको दक्षिणी भू-भाग
-
-
२. मध्यम जोखिम भएका क्षेत्र (सम्भावना ४५% देखि ५५%):
-
सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग
-
कर्णाली प्रदेशको उत्तर-पश्चिमी भू-भाग
-
गण्डकी प्रदेशको पूर्वी भू-भाग
-
बागमती प्रदेशको दक्षिणी भू-भाग
-
मधेश प्रदेशको पश्चिमी भू-भाग
-
कोशी प्रदेशको मध्य भू-भाग
-
-
३. सामान्य जोखिम भएका क्षेत्र (सम्भावना ३५% देखि ४५%):
-
देशका बाँकी अन्य भू-भागहरू (जहाँ कम वर्षा हुने सम्भावना तुलनात्मक रूपमा कम छ)
-
भ्रम : ‘सरदरभन्दा कम वर्षा’ भनेको यसपालि पानी नै पर्दैन वा अनिकाल लाग्छ।
तथ्य : मनसुनमा पानी पर्छ। तर, विगतका वर्षहरूमा जति कुल पानी पर्ने गर्थ्यो, यो चार महिनाको अवधिमा उपलब्ध हुने कुल वर्षामात्र कमी आउने हो।
उकुसमुकुस गर्मी : दिउँसो र राति दुवै समय तातो हुने
यो प्रतिवेदनको सबैभन्दा चुनौतीपूर्ण पाटो तापक्रम वृद्धिको प्रक्षेपण हो। यसपालि देशभर अधिकतम (दिउँसोको) र न्यूनतम (रातिको) दुवै तापक्रम सरदरभन्दा बढी हुने अनुमान छ।
- दिउँसोको गर्मी (अधिकतम तापक्रम) : कर्णालीको उत्तरी भाग, लुम्बिनी, गण्डकी र बागमतीको दक्षिणी भाग, मधेशको पूर्वी तथा पश्चिमी भाग र कोशी प्रदेशको उत्तर-पूर्वी तथा दक्षिणी भू-भागमा तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ % देखि ६५ % छ। देशका बाँकी भागमा यो सम्भावना ४५ % देखि ५५ % सम्म छ।
- रात्रिकालीन गर्मी (न्यूनतम तापक्रम) : लुम्बिनीको दक्षिणी भाग, मधेशको पूर्वी र पश्चिमी भाग, कोशीको दक्षिणी भाग र कर्णाली, गण्डकी तथा बागमतीका केही भू-भागमा रातिको तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना ५५ % देखि ६५ % छ।
यसर्थ, यसपालिको मनसुनमा रातको समयमा पनि मौसम शीतल हुनुको साटो अत्यधिक तातो र असहज महसुस हुनेछ।
– भ्रम भर्सेज यथार्थ : पानी कम पर्ने भएपछि बाढी-पहिरो आउँदैन ?
नेपालमा वर्षभरि हुने कुल वर्षाको झण्डै ८० प्रतिशत पानी यही मनसुनका ४ महिनामा मात्र पर्छ। तर, सर्वसाधारणमा पानी कम पर्ने भएपछि बाढी र पहिरोको जोखिम हुँदैन भन्ने भ्रम पर्न सक्छ, जुन मौसम विज्ञानका हिसाबले गलत र खतरनाक हुन सक्छ।
‘खण्ड वृष्टि’ले निम्त्याउन सक्छ ठूलो विपद्
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन कमजोर हुनुको अर्थ विपद् कम हुनु होइन। बरु स्थानीय मौसम प्रणाली सक्रिय हुँदा झन् ठूलो खतरा निम्तिन सक्छ। मौसमविद् अर्याल अनुसार, ” यसपालि मनसुन अलि कमजोर हुन्छ, पानी कम पर्छ भनिएको छ। तर हामी सचेत हुनुपर्छ। सामान्य अवस्थामा देशभर एकनासले छरपष्ट झरी (वाइड स्प्रेड) पर्छ। तर, मनसुनी हावा बिचमा रोकिएर ६-७ दिनपछि एकैचोटि आइदियो भने तापक्रम बढेको अवस्थामा स्थानीय वायु सक्रिय भई मेघगर्जनसहित छोटो समयमै ठूलो वर्षा गराइदिन्छ।”
यस्तो स्थितिमा वायुमा रहेको जलवाष्प एकै ठाउँमा केन्द्रित हुन गई चैत-वैशाखको जस्तै कालो बादल मडारिएर आकस्मिक रूपमा ‘खण्ड वृष्टि’ (सिमित क्षेत्रमा अति भारी वर्षा) हुन्छ। अर्याल थप्छन्, “त्यतिबेलै हो ठुला-ठुला पहिरो जाने, बाढी आउने र नसोचेको तरिकाले नदी किनाराका बस्तीहरू बगाएर लाने। त्यसैले पूर्वतयारीमा सुस्त हुनु हुँदैन।”
‘एल निनो’ र सामुद्रिक प्रणालीको असर
विश्व मौसम संगठन (डब्ल्यूएमओ)को जलवायु प्रारूपहरूका अनुसार हाल प्रशान्त महासागरमा इन्सो तटस्थ अवस्थामा रहे पनि यो मनसुन अवधिमा मौसम एल निनो अवस्थातर्फ उन्मुख भइरहेको छ। इतिहास हेर्दा, एल निनो सक्रिय हुँदा नेपालसहित दक्षिण एसियाकै मनसुन कमजोर हुने र गर्मी बढ्ने गर्छ।
यस्तै, हिन्द महासागरमा विकसित हुने इन्डियन ओशिन डिपोल (आईओडी) हाल तटस्थ अवस्थामा रहेको र मनसुनको अन्त्यसम्ममा यो धनात्मक अवस्थामा पुग्ने आँकलन गरिएको छ।
ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरू र भू-उपयोग जस्ता कुराहरूमा निर्भर हुने भएकाले ऋतु परिवर्तनको समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न प्राविधिक रूपमै कठिन हुन्छ । त्यसैले यसलाई पूर्वसूचना र सचेतताको बलियो आधार मान्नुपर्छ ।
कृषि, जनस्वास्थ्य र जनजीवनमा पर्ने असर
नेपालको अर्थतन्त्र र जनजीवनमा यो मौसमी आँकलनले सीधा असर पार्ने देखिन्छ :
- धान खेतीमा चुनौती : नेपालमा धानको रोपाइँ मनसुनकै वर्षामा निर्भर रहन्छ। मधेश र लुम्बिनी जस्ता नेपालका मुख्य अन्न भण्डार मानिने क्षेत्रमै ५५%-६५% कम वर्षाको अनुमान गरिएकाले समयमा रोपाइँ नहुने र खाद्यान्न उत्पादन घट्न सक्ने खतरा रहन्छ।
- ‘लू’ र स्वास्थ्य संकट : अधिकतम र न्यूनतम तापक्रम दुवै बढ्दा तराई र सहरी क्षेत्रमा ‘लू’ (तातो हावा)को प्रकोप बढ्न सक्छ। यसले गर्दा डिहाइड्रेसन, झाडापखाला र लामखुट्टेजन्य रोगहरू (जस्तै डेंगु)को जोखिम बढाउँछ।
- ऊर्जा र खानेपानी संकट : नदीहरूमा पानीको बहाव कम हुँदा जलविद्युत उत्पादन घट्न सक्छ, जसले ऊर्जा व्यवस्थापनमा चुनौती थप्नेछ। साथै, खानेपानीका मुहानहरू सुक्ने क्रम र डढेलोको जोखिम तीव्र रूपमा बढ्न सक्छ।